Logo
|
Friday 19th April 2024
Logo

epaper

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले उपचार खर्च पालिकाबाट पाउने

मासिक पाँच हजारका दरले तिन–तिन महिनामा रकम जम्मा गरिदिने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मिर्गैला प्रत्यारोपण गरेका व्यक्तिहरुलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् ।

सरकारले गत चैत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो ।

सरकारले स्वीकृत गरेको कार्यविधि अनुसार सो रोगका व्यक्तिहरुको लगत सम्बन्धित वडामा हुने र सम्बन्धित पालिकामार्फत् नै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्बन्धित पालिकाले सेवाग्राहीको खाता नम्बरमा हरेक तिन–तिन महिनामा मासिक पाँच हजारको दरले रकम जम्मा गरिदिने छ । उपचार खर्च बापतको सो रकम पहिले नै पेन्सन पाइराखेकाहरुले नपाउने तर जेष्ठ नागरिक तथा एकल महिलाले भने भत्ता पाइरहेको भएपनि उपचार बापतको सो रकम पाउने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो –‘नेपाल सरकार मन्त्रीस्तरको निर्णयबाट चैत्र १३ गते मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु, डायलाइसिस गराइराख्नु परेका व्यक्तिहरु, क्यान्सर समस्या भएका व्यक्तिहरु र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई मासिक रुपमा पाँच हजार रुपैयाँ उपचार खर्च वापत सरकारले उपलब्ध गराउने भनेर त्यसको कार्यविधि स्वीकृत भएको हो । यसको कार्यक्रम अगाडी नै नीति तथा कार्यक्रम आउँदा नै सरकारले कार्यक्रममै उल्लेख गरेर, समावेश गरेर सार्वजनिक गरेको विषय तर कार्यविधि नभएको अवस्थामा यसलाई कार्यान्वयनमा लैजान सकिएको थिएन ।’–उहाँले थप्नुभयो –‘अब कार्यविधि स्वीकृत भएर आइसकेपछि हरेक स्थानीय तहहरुले यस किसिमका बिरामीहरुको लगतहरु संकलन गर्नका लागि स्थानीय वडाहरुलाई परिचालन गर्ने र स्थानीय वडाहरुबाट यस्ता व्यक्तिहरुको लगतहरु संकलन हुने अवस्था सिर्जना हुन्छ र त्यसरी लगत सिर्जित भइसकेपछि उनीहरुको व्यक्तिगत खाता, उनीहरुको सबै विवरणहरु तयार भइसकेपछि स्थानीय तहहरुले प्रत्येक तिन महिनामा उहाँहरुको खातामा पाँच हजारको दरले तिन महिनाको रकम उपलब्ध गराइन्छ ।’

उहाँले स्वास्थ्य बीमाको सेवाग्राहीको रुपमा सुचिकृत भएकाहरुले पनि सो रकम पाउने बताउनुभएको छ । सरकारले स्रोतको सुनिश्चितता गरिसकेकाले सेवाग्राहीले रकम निरन्तर पाउने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्