Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा ८० प्रतिशत मानिस अझै स्वास्थ्य बीमा कार्यक्रमको पहुँच बाहिर



मन्दिरा खत्री, जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा अझै ८० प्रतिशत मानिस स्वास्थ्य बीमा कार्यक्रमको पहुँच बाहिर रहेका छन् ।


स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ६ वर्षको अवधिमा ५३ लाख ४ हजार २७० जनाले मात्र स्वास्थ्य बीमा गराएका छन् । यो कूल जनसंख्याको २०.०३ प्रतिशत मात्र हो ।


त्यसैगरी कुल बीमित परिवारको सख्ंया १५ लाख ८ हजार ५९९ (२७.३९ प्रतिशत) रहेको छ । कुल बीमित मध्ये २० लाख ८९ हजार ५९९ जनाले मात्र सेवा लिने गरेको स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कले देखाउँछ । यो कूल बीमितको करिब ३९.३९ प्रतिशत हो ।


२०७२ चैत २५ देखि कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल ७७ जिल्लाका ७४५ स्थानीय तहमा विस्तार भएको छ ।


स्वास्थ्य बीमा कार्यक्रम लागु भएको ६ वर्ष पुगेको अवसरमा शुक्रबार स्वास्थ्य बीमा दिवस मनाइँदै छ । ५ वर्षभित्र ३ करोड नेपालीको बीमा गर्ने लक्ष्य राखिए पनि हालसम्म निकै कम व्यक्ति मात्रै बीमाको दायरामा आएका छन् ।


संरचना र जनशक्ति अभावका कारण अपेक्षा अनुसारको काम गर्न गाह्रो भइरहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.  दामोदर बसौला बताउनुहुन्छ ।


उहाँ भन्नुहुन्छ –‘संरचना र जनशक्ति अभावका कारण अपेक्षा अनुसारको काम गर्न गाह्रो भएको हो । अब जनशक्ति अभावको समस्यालाई हटाइ, नयाँ स्फट वेर विकास गरेर प्रत्येक पालिकामा १ जना कर्मचारी राखी गुणस्तीर सेवा प्रदान गर्नेछौं ।’

उहाँका अनुसार कर्मचारी अभावका कारण समयमा अस्पताललाई रकम निकासाको समस्या देखिँदैआएको छ । बीमा कार्यक्रम सुरु भएदेखी हालसम्म १६ अर्ब,७९ लाख,६८ हजार रकम भुक्तानी भएको छ भने २४ अर्ब रकम बराबरको दाबी भएको छ ।


बोर्डका कार्यकारी निर्देशक बसौलाका अनुसार चालु आर्थिक वर्ष भित्रमा सबै स्थानीय तहमा बीमा कार्यक्रम बिस्तार गर्ने योजना रहेको छ ।

देशभरका ४३० वटा सेवा प्रदायक संस्थाबाट कम्तीमा दैनिक १५ हजारदेखि २० हजारसम्म दाबी आउने स्वास्थ्य बिमा बोर्डको भनाइ छ । बोर्डका अनुसार यसै महिनाभित्र ४ लाख ५६ हजार ७०० दाबी आएका छन्। तर विभिन्न अस्पतालबाट आएका कागजपत्र रुजु गर्नका लागि जम्मा १५ जना कर्मचारी छन् ।


बोर्डका अनुसार कुल बिमित मध्ये अति गरिब परिवारको बीमित सदस्य संख्या ४ लाख ८८ हजार ४, ज्येष्ठ नागरिक परिवारको बीमित सदस्य संख्या ६ लाख ३४ हजार ७३५, एचआईभी संक्रमित परिवार बीमित सदस्य संख्या २५ हजार २८९ रहेको छ।


यस्तै अति अशक्त अपाङ्गता भएका परिवारको बीमित सदस्य संख्या ९३ हजार ६२९, कुष्ठरोग संक्रमितको परिवारको बीमित सदस्य संख्या २ हजार ८४९, एमडिआर क्षयरोगी परिवारको बीमित सदस्य संख्या २ हजार ४७४ र महिला स्वास्थ्य स्वयंसेविका परिवारको बीमित सदस्य संख्या ८३ हजार ६२६ रहेको बोर्डको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्