Logo
|
Friday 29th March 2024
Logo

epaper

‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ : आज छैठौँ स्वास्थ्य बीमा दिवस मनाइँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज छैठौँ स्वास्थ्य बीमा दिवस । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ भन्ने मुल नारा सहित विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । २०७२ चैत २५ देखि कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल ७७ जिल्लाका ७ सय ४५ स्थानीय तहमा विस्तार भएको छ ।

स्वास्थ्य बिमा बोर्डका अनुसार हालसम्म ५३ लाख ४ हजार २ सय ७० जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । यो कुल जनसंख्याको २०.०३ प्रतिशत हो । त्यस्तै १५ लाख ८ हजार ५ सय १४ अर्थात २७.७९ प्रतिशत कूल बीमित परिवार रहेका छन् । कूल बीमितमध्ये २० लाख ८९ हजार ५ सय ९९ अर्थात ३९ दशमलब ३९ जनाले सेवा लिएको बोर्डले जनाएको छ ।

कुल बिमित मध्ये अति गरिब परिवारको बीमित सदस्य संख्या ४ लाख ८८ हजार ४, ज्येष्ठ नागरिक परिवारको बीमित सदस्य संख्या ६ लाख ३४ हजार ७ सय ३५, एचआईभी संक्रमित परिवार बीमित सदस्य संख्या २५ हजार २ सय ८९ रहेको छ ।

त्यस्तै अति अशक्त अपाङ्गता भएका परिवारको बीमित सदस्य संख्या ९३ हजार ६ सय २९, कुष्ठरोग संक्रमितको परिवारको बीमित सदस्य संख्या २ हजार ८ सय ४९, एमडिआर क्षयरोगी परिवारको बीमित सदस्य संख्या २ हजार ४ सय ७४ र महिला स्वास्थ्य स्वयंसेविका परिवारको बीमित सदस्य संख्या ८३ हजार ६ सय २६ रहेको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य सेवा गुणस्तर, जनचेतना कमी र जनशक्तिको अभावले स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको बताउनुभयो । 

‘अन्य देशको तुलनामा हामीले पनि स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको छौँ । जापान, कोरियालगायत देशमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको छ’-उहाँले भन्नुभयो-‘हामीले सोचेजस्तो रुपमा कार्यक्रमलाई लैजान सकेका छैनौँ ।’

उहाँले कोरोना भाइरसको कारणले पनि बिमा कार्यक्रमलाई प्रभाव पारेकाले दुई वर्ष प्रभावकारी रूपमा काम गर्न नसकिएको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य बिमा बोर्डलाई सरकारले कानुनी रूपमा स्वायत्त संस्थाको रुपमा परिभाषा गरे पनि व्यावहारिक रूपमा संस्था स्वायत्त हुन नसक्दा काममा समस्या भएको बताउनुभयो । 

बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर अनलाईन नविकरण र एचआईभी प्रोफाइल मोबाइल एप्लिकेसन सार्वजनिक गर्दै छ । मोबाइल एपबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाइने बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्