Logo
|
Thursday 28th March 2024
Logo

epaper

न्युरो हस्पिटलको १६ वर्ष पूराः न्यूरो सर्जरीमा एमसिएच तालिम लिएका १६ जना डाक्टर सम्मानित



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले १६ वर्ष पूरा गरेको छ ।

हस्पिटल १७ वर्ष लागेको अवसरमा हस्पिटलबाट सर्जिकल सुपर स्पेयिलालिटी तालिम (एमसिएच न्यूरो सर्जरी) गरेका १३ जना र ३ जना एफसिपिएस गरी १६ जना न्युरो सर्जनहरुलाई सम्मान गरिएको छ ।


सम्मानित हुनेहरुमा डा. निलम खड्का, डा. रमेशमान जोशी, डा. गुणराज पौडेल, डा. विदुर के.सी., डा. निकुञ्ज योगी, डा. सुरज थुलुङ, डा. पत्युस श्रेष्ठ, डा. सुमन रिजाल, डा. विवेक वैद्य, डा. पंकज नेपाल, डा. श्यामबाबु पटेल, डा. सागर कोइराला, डा. सुरेश विश्वकर्मा, डा. विभूषण श्रेष्ठ, डा. शिखर श्रेष्ठ र डा. अजित श्रेष्ठ रहेका छन् । जसमध्ये डा. शिखर श्रेष्ठ, डा. पंकज नेपाल र डा.श्यामबाबु पटेलले एफसिपिएस तालिम लिनुभएको छ ।


सो सम्मान प्रा.डा. उपेन्द्र देवकोटाका गुरु वरिष्ठ सर्जन डा. निदेश नाथ गोंगको हातबाट प्रदान गरिएको थियो ।


न्यूरो साइन्सको विकासका लागि चाहिने ‘तालिम, अनुसन्धान र सेवालाई ट्राइपोड अर्थात तीनवटा खुट्टा’ को रुपमा लिँदै प्रा.डा. देवकोटाले मुलकमा पहिलो सर्जिकल सुपर स्पेयिलालिटी तालिम (एमसिएच न्यूरो सर्जरी) सन् २००१ मा शुरु गर्नुभएको थियो । उहाँबाट प्रेरित एवं तालिम प्राप्त गरेका २० भन्दा बढी न्यूरो सर्जन देशका विभिन्न भागमा कार्यरत छन् ।

मस्तिष्क तथा स्नायुरोगको संवेदनशीलतालाई ध्यानमा राखी पेसेन्ट फस्ट (पहिला बिरामी) भन्ने विशिष्ट सिद्धान्त प्रतिपादित हस्पिटलले १३ अप्रिल २००६ देखि सेवा सञ्चालन शुरु गरेको थियो ।


प्रा.डा. देवकोटाको देहवसानपछि पनि उहाँले बसालेकै प्रणालीमा हस्पिटलले उचाइ लिइरहेको अस्पतालकी कार्यकारी अध्यक्ष प्रा.डा मधु देवकोटाले बताउनुभयो । यसमा अस्पतालमा कार्यरत सबैको एक एक प्रयास र टिमवर्कबाट सफलता हाँसिल गर्न सफल भएको स्पष्ट पार्नुभयो ।


बिरामीहरुले विगतको जस्तै गुणस्तरीय सेवा र सुविधा प्राप्त गरिरहेका छन् । प्रा.डा. मधु देवकोटाको हेल्थ म्यानेज्मेन्टको उच्च अध्ययन, अस्पतालको स्थापना कालदेखि व्यवस्थापनमा संलग्नता, पब्लिक हेल्थमा सिकेको अनुसन्धान र एभिडेन्स वेस्ड मेडिसिन अर्थात प्रमाणमा आधारित भई समिक्षा र संशोधन लगायका कारण अस्पताले उचाइ लिन सफल भएको डा. दिनेशनाथ गोंगल बताउनुहुन्छ । बिरामीलाई केन्द्र बिन्दुमा राखी अति विशिष्ट चिकित्सक एवं प्राविधिक स्वास्थ्यकर्मीको टोली (मल्टी डिसिप्लिनरी टीम) बाट रोगको निदान एवं उपचारको समुचित व्यवस्थापन गरिएकोे छ ।


सम्मानित हुने डा. सुरज थुलुङ, डा. शिखर कोइराला र डा. श्यामबाबु पटेलले प्रा.डा. उपेन्द्र देवकाटोसँग सिकेको सिप र ज्ञानले न्युरो सर्जरी सेवामा आफूलाई परिस्कृत र परिपक्व बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।


हस्पिटलमा उपलब्ध सेवाहरुलाई अझै बढि गुणस्तरीय बनाउन लामो समयदेखि डा. देवकोटासँग काम गरेका अनुभवी स्वास्थ्यकर्मीहरु सहित स्नायु तथा स्नायुसम्बद्ध विशेषज्ञहरुको समुह २४ सै घण्टा सेवारत रहेका छन् । थप नयाँ प्रविधि एवं सोहि अनुरुप दक्ष विशेषज्ञहरुको आगमनले यस अस्पतालमा प्रदान गरिने स्नायुसम्बन्धि सेवाको दायरा अझै फराकिलो, विस्तृत एवं गुणस्तरीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्