न्युरो हस्पिटल बाँसबारीमा बच्चाहरुको ‘पेडियाट्रिक न्युरोलोजी’ सेवा शुरु
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले ‘पेडियाट्रिक न्युरोलोजी’ सेवा शुरु गरेको छ । पेडियाट्रिक न्युरोलोजिष्ट डा. असिम श्रेष्ठको संयोजनमा हस्पिटलले सो सेवा सञ्चालनमा ल्याएको हो ।
पेडियाट्रिक न्युरोसाइन्स चिकित्सा विज्ञानको एक विशेष शाखा हो । यसले नवजात शिशु, बालबालिका र किशोरहरुमा न्युरोलोजिकल अवस्थाहरुको निदान र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
कतिपय बच्चाहरु जन्मेपछि रुँदैनन् वा कतिपय बच्चाहरु महिना पुग्नअघि नै जन्मिएका हुन्छन् । यस्ता बच्चाहरुमा शारीरिक विकासक्रममा अड्चन आउनसक्छ । महिना पुग्नअघि जन्मेका बच्चाहरुमा सुगरको लेवल कम हुनसक्छ । यस्ता बच्चाहरुको व्यवहार र स्वभावमा समस्या आउनसक्छ । छारे रोगको पनि समस्या हुनसक्छ । दृष्टिमा समस्या ल्याउन सक्छ ।
जन्मेपछि नवजात शिसु नरोएमा छारे रोग, सुस्त मनस्थिति वा पक्षघात हुनसक्छ । नवजात शिशुहरुमा छारे रोग भएमा ठूलो मान्छेलाई जस्तो दुवै हात गोडा झड्का हान्ने, आँखा पल्टाउने, मुखबाट फिँज निकाल्ने, कपडामा दिसापिसाब गर्ने जस्तो हुँदैन । छारे रोग भएका नवजात शिशुहरु अचानक चिच्याएर रुने, दूध नपचाउने, बिहान उठ्दा रुने, हातले झड्काहरु हान्ने गर्छन् । बेलैमा यसको पहिचान र उपचार नभएमा बच्चाको विकासक्रम नै ढिलो हुने पेडियाट्रिक न्युरोलोजिष्ट डा. असिम श्रेष्ठ बताउनुहुन्छ ।
‘तौल नपुगेको अर्थात साँडे २ किलोभन्दा कम वजन र महिना नपुगी जन्मेको बच्चामा सुगर लेवल कम हुनसक्छ ।’ डा. श्रेष्ठ भन्नुहुन्छ— ‘धेरै पसिना आउने, चिच्याएर कराउने, आलस्य मानेर बस्ने, ज्वरो आउने, काप्ने बच्चाको शरीरमा सुगर लेवल कम भएको लक्षण हो ।’ त्यसैले यस प्रकारका लक्षण देखिएका बालबालिकाहरुको सुगर लेवल जाँच्नुपर्छ ।
नवजात शिशुको शरीरमा सुगरको लेवल बढाउन स्लाइन पानी वा दूध पिलाउन आवश्यक पर्ने डा. श्रेष्ठको भनाइ छ । तर मस्तिष्कमा असर भइसकेको अवस्थामा एमआरआई वा इइजी गरेर समस्याको प्रकृति पत्ता लगाई आवश्यक औषधि गर्नुपर्छ ।
लक्षण पहिचान गरेर शुरुको अवस्थामा अभिभावकहरुले बच्चा ल्याएमा भविष्यमा हुनसक्ने सम्भावित खतरा टार्न सकिने डा. श्रेष्ठको सुझाव छ ।