Logo
|
Thursday 25th April 2024
Logo

epaper

मोतिविन्दुलाई ख्याल ख्याल नठान्नुस्,डा. बेन लिम्बुको महत्वपूर्ण सुझाव

समस्या, कारक, पहिचान, उपचार र रोकथाम



के तपाईलाई मोतिबिन्दु भएको छ ? यदि छ भने बेलैमा उपचार गराइहाल्नुस् । मोतिबिन्दुको उपचारमा ढिलाइ हुँदा आँखाको ज्योति गुमेर सँधैका लागि अन्धो हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

रिष्ठ आँखा रोग विशेषज्ञ डा.बेन लिम्बु


मोतिबिन्दुको उपचारमा ढिलाई हुँदा जलबिन्दु भई सधाका लागि आँखाको ज्योति गुम्न सक्ने वरिष्ठ आँखा रोग विशेषज्ञ डा.बेन लिम्बु बताउनुहुन्छ ।

नेपालमा अन्धोपनको प्रमुख कारण मोतिबिन्दुसँगै जलबिन्दु पनि एक भएको डा.लिम्बुको भनाइ छ ।
जलबिन्दुले आँखाको दृष्टि सम्बन्धि स्नायू (अप्टिक नर्भ) लाई असर पुर्याउँछ । एकपटक आँखाको नशा बिग्रिसकेपछि फेरि कहिल्यै ठीक नहुने डा.लिम्बु बताउनुहुन्छ ।
‘जलबिन्दुको कुनै लक्षण देखिदैन । ९९ प्रतिशत नशा बिग्रिसकेपछि मात्र जलबिन्दु भएको थाहा हुन्छ ।’ डा.लिम्बु भन्नुहुन्छ–‘यो अवस्थामा जलबिन्दुको उपचार सम्भव छैन । फलस्वरुप आँखाको ज्योति पूर्णरुपमा गुम्छ ।’

के हो मोतिबिन्दु ?
मोतिबिन्दु आँखाको लेन्समा हुने एउटा रोग हो । मोतिबिन्दुले आँखाको भित्री भागमा हुने पारदर्शी लेन्स अपारदर्शी हुँदै जाँदा आँखाको दृष्टिमा ह्रास ल्याँउछ । यो रोग बिस्तारै बढ्दै जाने भएकाले एउटा वा दुवै आँखामा असर पुर्याउन सक्छ ।

मोतिबिन्दुको जड
उमेर, जन्मजात, चोटपटक, औषधि सेवन, वंशाणुगत लगायतका थुप्रै कारणले मोतिबिन्दु हुनसक्छ । त्यस्तै धुम्रपान गर्ने व्यक्ति, झाडापखाला, डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कमी), भिटामिन ‘ए’ र भिटामिन ‘इ’ को कमी भएको अवस्थामा पनि मोतिबिन्दुको जोखिम उच्च हुने डा.लिम्बु बताउनुहुन्छ ।


आँखामा लागेको चोटपटक र स्टेरोइडको प्रयोगले मोतिबिन्दुको जोखिम बढाउँछ । ‘मोतिबिन्दु समयमै उपचार नगर्दा बिस्तारै बढ्दै जाने रोग हो । यसले आजको भोलि नै अन्धोपन निम्त्याउने होइन । मोतिबिन्दु भएको ५–६ वर्षसम्म पनि उपचार नगरिएमा यसले व्यक्तिलाई पूर्ण रुपमा अन्धो बनाइदिनसक्छ ।’–डा.लिम्बु भन्नुहुन्छ ।


जोखिम उमेर समूह
मोतिबिन्दु बालबालिका, वयस्क र वृद्धवृद्धा जुनसुकै उमेर समुहलाई पनि हुनसक्छ । तर, तुलनात्मक रुपमा वृद्धवृद्धालाई यसको जोखिम उच्च हुन्छ । करिब ९० प्रतिशतलाई बढ्दो उमेरसँगै मोतिबिन्दुको जोखिम बढ्ने डा.लिम्बुले स्पष्ट पार्नुभयो ।
बालबालिकालाई मोतिबिन्दु भएपनि त्यसको असर लामो समयसम्म रहदैन । वृद्धवृद्धाको तुलनामा बालबालिकालाई देखिने मोतिबिन्दु चस्मा लगाए वा नलगाए पनि केही समयपछि आफै ठीक भएर जाने डा.लिम्बुको भनाइ छ ।

बिरामीको आँखा जाँचपश्चात् डा. वेन लिम्बुको एक क्लिक

मोतिबिन्दुको पहिचान
उमेरले ४०–५० वर्ष कटेका व्यक्तिहरुमा आँखा क्रमशः धमिलो हुँदै गएमा मोतिबिन्दु भएको शंका गर्न सकिन्छ । टाढाको वस्तु राम्रोसँग नदेख्ने, आँखा धमिलो हुने आदि मोतिबिन्दुका मुख्य लक्षणहरु हुन् । मोतिबिन्दुको उपचार गर्नुअघि यसले आँखा कतिको धमिलो पोरेको छ भनेर हेर्न जरुरी हुने डा. लिम्बुको सुझाव छ ।


साठ्ठी प्रतिशत दृष्टिबिहिनको कारक मोतिविन्दु
मोतिबिन्दुलाई नेपालमा अन्धोपनको प्रमुख कारक मानिएको छ । हाल नेपालमा करिब डेढ लाख दृष्टिविहिन छन् । ती मध्ये करिब ६० प्रतिशतको मोतिबिन्दुका कारण आँखाको ज्योति गुमेको आँखा रोग विशेषज्ञ डा.लिम्बुको भनाइ छ ।

मोतिबिन्दुको समयमा उपचार नगर्दा वर्षेनी हजारौँ मानिस दृष्टिविहिन हुने गरेका छन् ।


अशिक्षा र अन्धविश्वास
अझैपनि नेपालका ग्रामीण भेगमा बसोबास गर्ने अधिकांश मानिसलाई मोतिबिन्दु रोेगबारे ज्ञान छैन । कतिपयले नाम समेत सुनेका छैनन् । एक त नेपालीहरुको लक्षण नदेखिएसम्म अस्पताल जाने बानी हुँदैन । अर्को, रोगले गाँजेर अन्धोपनको अवस्थामा आइपुग्दा पनि कतिपय लक्षणको पर्खाइमा हुन्छन् ।
आँखा दुख्ने, पोल्ने, चिलाउने केही भएकै छैन, बढ्दो उमेरमा हल्का आँखा धमिलो त भइहाल्छ नि, बिना लक्षण किन अस्पताल जाने ? किन शल्यक्रिया गर्ने भन्ने धेरैको सोच हुन्छ ।

डा.लिम्बु थप्नुहुन्छ–‘मोतिबिन्दु हुँदा आँखा दुख्ने, पोल्ने, चिलाउने जस्ता कुनैपनि लक्षण देखिदैनन।’ ग्रामिण ठाँउबाट आउनुभएको आमाबुवालाई मोतिबिन्दु भएको छ, शल्यक्रिया गर्नुपर्छ भन्दा विश्वास नै गर्नुहुन्न । यसको प्रमुख कारण अशिक्षा नै हो ।’


मोतिबिन्दुको दीर्घकालीन उपचार
मोतिबिन्दु हुने बित्तिकै तत्काल आँखाको ज्योति कमजोर हुने होइन । विस्तारै आँखाको ज्योति धमिलो हुँदै जान्छ । यदि कोही व्यक्ति प्राय घरमै बसिरहन्छन्, उसको बाहिर त्यति काम हुँदैन भने त्यस्ता व्यक्तिले केही समयपछि मोतिबिन्दुको शल्यक्रिया गराउछु भन्न मिल्छ । तर खेलाडी, पाइलट, इन्जिनियर जस्ता भिजन डिमाण्ड धेरै हुने पेशामा संलग्न व्यक्तिहरुले भने समयमै उपचार गराउन जरुरी छ ।’


त्यसो त ४० वर्ष कटेका सबै व्यक्तिलाई नियमित आँखा परिक्षण गर्न सुझाउनुहुन्छ डा.लिम्बु ।

उहाँका अनुसार ४० वर्ष कटेका, माइनस चस्मा लगाउने, मधुमेह रोगी र उच्च रक्तचापको समस्या भएका व्यक्तिहरुले ६ महिना अथवा १ वर्षको अन्तरालमा जलबिन्दुको परीक्षण गर्नुपर्छ ।


प्राय चस्मा लगाउनेहरुले पनि नियमित आँखा परीक्षण गराउनुपर्छ । परिवारको सदस्य कसैलाई मोतिबिन्दु वा जलबिन्दु भएको छ भने घरका सबैले समय–समयमा आँखा परीक्षण गराउनुपर्छ ।


तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था
मोतिबिन्दु आँखाको पुरै लेन्स पछाडी पट्टीको भागमा हुन्छ । यदि मोतिबिन्दु आँखाको पछाडी पट्टीको लेन्समा भएमा त्यस्ता व्यक्तिले सकेसम्म तत्काल शल्यक्रिया गराउनुपर्छ ।
‘लेन्सको पछाडीको भागमा मोतिबिन्दु भएको व्यक्तिको आँखाको ज्योति सामान्य भएपनि घाममा निस्कदा अन्धो जस्तै हुन्छ । यस्तो अवस्थामा चाडै शल्यक्रिया गर्नुपर्छ’ —डा.लिम्बु भन्नुहुन्छ —‘त्यसैगरि भविष्यमा जलबिन्दु हुनसक्ने गम्भिर अवस्था भएका बिरामीहरुले पनि शल्यक्रिया गर्नुपर्छ ।

आँखामा मोतिबिन्दु थोरै हुँदा पनि हामी शल्यक्रिया गर्न सल्लाह दिन्छौँ ।

त्यसबाहेक बिरामीको आँखा कतिको धमिलो छ र उनीहरुको भिजन डिमाण्ड कस्तो छ त्यहि अनुसारले हामीले शल्यक्रिया गर्ने या नगर्ने भनेर सल्लाह दिन्छौ । साथै मोतिबिन्दुको किसिम र आँखाको अवस्थाका कारण पनि शल्यक्रिया कहिले गर्ने भन्ने कुराले निक्र्यौल गर्नुपर्छ ।’
त्यस्तै मोतिबिन्दु भएको दुईवटै आँखा एकैपटक शल्यक्रिया गर्न हुँदैन ।

डा.लिम्बु भन्नुहुन्छ—‘एउटै सेटअपबाट दुईवटै आँखाको शल्यक्रिया गर्दा कतैबाट चुहावट भएर आएको इन्फेकसनले एउटा मात्र नभई दुइवटै आँखामा असर पर्छ । त्यसैले इन्फेक्सनबाट जोगाउन एउटा आँखाको शल्यक्रिया गरेको एक–दुई दिनपछि वा एकहप्ताको अन्तरालमा अर्को आँखाको शल्यक्रिया गर्दा उचित हुुन्छ ।’


मोतिबिन्दुको उपचार नै शल्यक्रिया
मोतिबिन्दुको उपचार नै शल्यक्रिया हो । तर आँखा देख्दा–देख्दै शल्यक्रिया गर्नुपर्दैन । शल्यक्रिया नगरी नहुने अवस्थामा मात्रै शल्यक्रिया गर्नुपर्छ । मोतिबिन्दु भएका मानिसको आँखाको ज्योति गुमेता पनि पुनः शल्यक्रियाबाट फर्काउन मिल्ने डा. लिम्बुको भनाइ छ ।

मोतिविन्दुको शल्यक्रियामा व्यस्त डा. वेन लिम्बु


शल्यक्रिया गरिसकेपछि के–के कुरामा ध्यान दिनुपर्छ ?
मोतिबिन्दुको शल्यक्रिया गरेका बिरामीले आँखाको सरसफाइमा निकै ध्यान दिनुपर्छ । यसबारे चिकित्सकको सल्लाह लिनुपर्छ । सरसफाइमा ध्यान नदिँदा आँखामा इन्फेक्सन भएर कुहिने जोखिम बढ्छ । आँखा एकदमै संवेदनशील भएकाले चोटपटक लाग्न नदिने आदि ।

डा.लिम्बु भन्नुहुन्छ ‘चिकित्सकले दिएको औषधि आँखामा एक–डेढ महिना नियमित हाल्नुपर्छ । खासै खाना बार्नुपर्दैन । तर नुहाउँदा आँखामा साबुन–पानी नपार्नुहोला । यसले शल्यक्रिया गरेको आँखा बिग्रन सक्छ ।’

एकपटक शल्यक्रिया गरेपछि फेरि गर्नुनपर्ने
मोतिबिन्दुको शल्यक्रिया एकपटक गरेर सफल भएपछि जिन्दगीभरका लागि मोतिबिन्दु नहुने डा.लिम्बु बताउनुहुन्छ ।
‘शल्यक्रिया गरिसकेपछि आँखामा एउटा लेन्स राखिन्छ । त्यो एकपटक राखेपछि सधैको लागि हुन्छ । शल्यक्रियापश्चात् आँखाको दृष्टि पहिलाको जस्तै हुन्छ ।

तर कोही कोही व्यक्तिको शल्यक्रिया गरेको ठाउँमा एउटा सानो जालो विकास हुनसक्छ । यस्तो अवस्थामा सामान्य लेजरको माध्यमबाट जालो हटाएर आँखालाई सामान्य अवस्थामा ल्याइने डा. लिम्बुको भनाइ छ ।

मोतिबिन्दुबाट बच्ने उपाय
मोतिबिन्दुबाट बच्न विभिन्न कुरामा ध्यान दिनुपर्छ । जस्तैः चिकित्सकको सल्लाहबाहेक आँखामा औषधि प्रयोग नगर्ने, लामो समयसम्म स्टेरोएड औषधिको सेवन नगर्ने अथवा प्रयोग गर्नुपर्ने अवस्था भएमा बेलाबेलामा आँखा जाँच गर्दै रहने, घाममा बाहिर निस्कदा सनग्लास लगाउने वा छाता ओड्ने, डिहाइड्रेसनबाट बच्न प्रशस्त मात्रामा पानी पिउने, भिटामिन ‘ए’, भिटामिन ‘इ’ भएका खानेकुरामा बढी जोड दिने, रेडिएसनमा धेरै एक्सपोज नहुने, पौष्टिक आहारमा जोड दिने आदि ।

प्रतिक्रिया दिनुहोस्