सफल युवा औषधि उद्यमी सन्तोष बरालको १० वर्षको यात्रा
जसलाई आफूले उत्पादन गरेको ब्रान्ड बजारमा ल्याउने हुटहुटीले निकै तताएको थियो

सन्तोष बराल नेपाली औषधि कम्पनि ‘आदी रेमिडिज प्रा.लि.’ का प्रबन्ध निर्देशक हुनुहुन्छ । नेपाल औषधि उत्पादन संघका उपाध्यक्षसमेत रहेका बरालको करियरमा संघर्षको कथा निकै रोमाञ्चकारी छ । सर्लाहीको कालिन्चौरमा जन्मिनुभएका सन्तोष हाल ४० औं वसन्तमा हुनुहुन्छ । सानै उमेरमा छुट्टै पहिचान बनाउन सफल उहाँ धैर्यताकासाथ औषधि उद्योगलाई नयाँ उचाईमा पुर्याउँदै हुनुहुन्छ । भन्नुहुन्छ—‘व्यापारिक पृष्ठभूमि नभएको, किसानी र जागिरे परिवारबाट आएको सबैभन्दा सानो उद्यमी म नै हुँला । बेलैमा कल्पना गरेको सोच अहिले आएर सार्थक भएको छ ।’
औषधिको डिस्ट्रीव्युटर्स देख्दा रनभूल्ल
स्नातक अध्ययनका लागि काठमाडौं आएका सन्तोषलाई टिक्न जागिर खानुपर्ने थियो । वि.सं २०६० सालतिर एउटा औषधिको होलसेलमा जागिर पाउनुभयो । ‘औषधिको डिस्ट्रिव्युटर्स ठूलै हुने रहेछ । शुरुमा आत्तिएँ । गाउँमा औषधिको नाममा सिटामोलको नाम मात्र सुनेको मान्छे । २२ वर्षको केटोलाई औषधिको डिस्ट्रिव्युटर्स गोदाममा लगेर औषधि देखाउँदा रनभुल्ल भएको थियो ।
औषधिबारे धेरै ज्ञान थिएन ।’—भन्नुहुन्छ—‘तर मलाई डिस्ट्रिव्युटर्स सञ्चालक बद्रीप्रसाद श्रेष्ठले १५ दिन लगाएर औषधिबारे धेरै जानकारी गराउनुभयो । बजारमा लगेर काम गर्ने तरिका सिकाउनुभयो । करिब तीन वर्ष उहाँको छत्रछायाँमा रहेर औषधि कसरी बेच्ने ? भुक्तानी कसरी लिने ? ग्राहकसँग कसरी बोल्ने ? सामानको अर्डर कसरी लिने ? लगायतका आधारभूत कुरा सिक्ने मौका पाएँ ।’
क्यासेट बिक्रीले दिएको अठोट
सन्तोषले २८ वर्षको उमेरदेखि औषधि उद्योगको कल्पना गर्नुभएको थियो । २०५८ सालको जनगणनामा आएको तलबले लालबन्दीमा केही साथीहरुसँग मिलेर अडियो, भिडियोको व्यापार गरेका थियौं । ‘अर्काको क्यासेट किन बिक्री गर्ने ? आफ्नो नामको ब्रान्ड किन उत्पादन नगर्ने ? जस्ता सोचले विस्तारै आफैँले उत्पादन गरेको सामान बिक्री गर्ने अठोट लिँदै अघि बढेको थिएँ । तर केही पारिवारिक कारणले जागिर खाने सिलसिलामा औषधिको डिस्टिव्युटर्ससम्म पुगेँ र त्यहींबाट औषधिको बजार बुझ्ने मौका मिल्यो । बजारमा हिँड्ने एमआर देखेर एमआर बन्ने इच्छा जाग्यो र आयुर्वेद कम्पनिमा पहिलो एमआरको जागिरबाट आफूलाई स्थापित गराएँ ।
सँगसँगै साथीको सहयोगमा औषधि इम्पोर्टमा पनि पाइला अगाडि बढाएँ र अडियोभिडियो पसल हुँदै देखेको आफ्नो ब्रान्डको सपना औषधिमा पूर्णता दिने प्रयास बमोजिम औषधि उद्योगको खाका तयार पारेँ’—सन्तोष भन्नुहुन्छ—‘शुरुमा काम गर्ने क्रममा एउटा साथीले इम्पोर्टमा लगानी गर्न सल्लाह दिए र सोही बमोजिम लगानी गरेँ । इम्पोर्टमा मार्केटिङ म्यानेजर भएर केही समय काम गरेँ । त्यसपछि आदी रेमिडिज औषधि कम्पनि शुरु गर्ने सोच आयो’ । आदी रेमिडिज शुरु गरेको पनि १० वर्ष भयो ।
संघर्ष
सुरुका दिनमा बजारमा स्थापित हुन साह्रै सकस भयो । सर्वप्रथम त कसैले पत्याएनन् । परिवार, साथीभाइले पनि विश्वास गरेनन् । भन्नुहुन्छ—‘हुन त मलाई धेरैले प्रयोग गर्न नखोजेका पनि होइनन् । तर मेरो एउटै अठोट थियो— ‘जसरी हुन्छ, आफ्नो ब्रान्डको सामान बजारमा ल्याउने ।’ उद्योग सञ्चालन गर्ने एकतर्फी जिद्दीपन थियो । २२ वर्षको उमेरमा औषधि डिस्ट्रिब्युटरमा सामान्य काम सिक्दै इम्पोर्टर, एमआर र म्यानेजर समेतको जागिर खाएर १० वर्षभित्रमा उद्योग ल्याउन सफल भएको हो ।’
मातृभूमिको माया
‘त्यो बेला मलाई यूरोप, अमेरिकातिर जाने रहर लागेको थियो । त्यो बेलाको माहोल नै विदेश जाने थियो ।’—सन्तोष भन्नुहुन्छ—‘विदेश जान दुई पटक अन्तर्वार्ता दिइसकेपछि पनि सोच परिवर्तन गरेँ । विदेशमा गएर दुःख गर्नुभन्दा आफ्नै देशमा दुःख गर्छु भन्ने लाग्यो ।’
सफलतामा सोचको समायोजन
‘हाम्रो प्राथमिकता छालासम्बन्धी असरदार औषधि बनाउने हो । कम्पनीका टेक्निकल डारेक्टर प्रकाश बिष्टले हरेक पाइलामा सहयोग गर्नुभएको छ । विष्ट र मेरो सोचको समायोजनले कम्पनिको उचाई बढेको छ । सफलता प्राप्त गर्न धैर्य र साहस महत्वपूर्ण हुने रहेछ । व्यापारिक पृष्ठभूमिबाट नआएको मान्छेले झन् धेरै संघर्ष गर्नुपर्छ । आफ्नो कामप्रतिको निरन्तरता नै सफलताको राज हो । आमा सरकारी जागिरे र बुवा राजनीतिमा ।
व्यापारलाई सहजताको रुपमा लिने पारिवारिक वातावरण थिएन ।’— भन्नुहुन्छ—‘मैले जागिर खाँदा खुसी भएका मेरा आमाबुवा व्यापारिक सोच देखेर दुःखी पनि हुनुभएको थियो । तर जति संघर्ष गर्यो, त्यति नै खारिने मौका मिल्दो रहेछ । शुरुका दिनमा जे भएपनि प्रगतिको पथमा अगाडि बढ्न घचघच्याइरहने मेरो बुबा महान हुनुहुन्छ । छोराले घर छोडेपछि मात्र सफल व्यक्ति बन्छ भन्ने बुवाकोे विश्वासले नै मलाई यहाँसम्म पुर्याएको हो ।
जागिर गरेको कमाइले केही जग्गा किनेको थिएँ । व्यवसाय सुरु गर्दा उक्त घडेरी बिक्री गर्नुप¥यो । अहिले १३ जना सेयर सदस्यसहित आदी रेमिडिज करिब ३० करोड रुपियाँको लगानीमा शुरु भएको थियो ।’
पहिचान नै सफलता
समाजले व्यक्तिगत विलाशिताका वस्तुलाई सफलता मान्ने रहेछ । ‘घर, गाडी, जग्गा जोड्नुलाई समाजले प्रगतिको रुपमा लिने गर्छ ।’—भन्नुहुन्छ—‘तर मेरो सोच ठिक विपरीत छ— ‘उद्योगलाई प्राथमिकता दिनुपर्छ ।’ घरजग्गाले पहिचान दिन सक्दैन । अहिलेको मेरो जुन परिचय र इमेज छ, यसले मलाई आत्मसन्तुष्टि र समाजमा पहिचान बनाउन सफलता मिलेको छ । उद्योगबाट गुणस्तरीय औषधि बनाउनु पहिलो धर्म हो । त्यसमा कुनैपनि शर्त प्रयोग गर्न हुँदैन । उद्योगको कम्पाउण्डबाहिर आइसकेपछि म पनि एक व्यापारी हुँ । व्यापारको अर्कोे धर्म हो—नाफा । जागिर गरेको भए शायद म सन्तोष बराल हुदैनथँे ।
आज म जे छु त्यो आफ्नै लागि गरेको कामको देन हो ।’ व्यवसायमा नाफा घाटाको गणितीय हिसाबकिताव हुनु त स्वभाविक हो । तर त्यो भन्दा पनि आफूले उत्पादन गरेको ब्रान्ड बजारमा ल्याउने हुटहुटीले सन्तोषलाई निकै ततायो । काठमाडौँमा संघर्ष गर्दैगर्दा औषधि क्षेत्रमा कार्यअनुभव सँगाल्नुभयो । यसले औषधि उद्योगको क्षेत्रमा अघि बढ्न सहयोग मिलिरहेको उहाँको भनाइ छ ।

श्रीमतीको प्रोत्साहन र धैर्यता
‘हरेक पुरुषको सफलताको पछाडी महिलाको हात हुन्छ’ भन्ने भनाई मेरो जीवनमा पनि चरितार्थ भयो । उद्योग सञ्चालन गर्ने हुटहुटीले करिब २५ महिना बेरोजगार बस्दापनि उद्योगलाई निरन्तरता दिन उनको प्रोत्साहन जारी रह्यो । सीमित आम्दानीका वावजुद पनि परिवारको आर्थिक व्यवहार सम्हालिन् । यसले मलाई सफलता प्राप्त गर्न धेरै सहयोग पुग्यो ।’ भन्नुहुन्छ—‘व्यवसायिक संघर्षको शिलशिलामा धेरै समस्या आउने रहेछन् । औषधि व्यवसायको क्रममा पार्टनरशिप टुट्दा मोटिभेसनल पाटो चाहिँदो रहेछ जुन मलाई बिनोद चौधरीको आत्मकथा किताबको अध्ययनबाट मिल्यो । चौधरीद्वारा लिखित सो किताबबाट प्रभावित भएर साथीसँग अलग हुने निर्णय गरेँ । त्यो किताब नभएको भए मुद्धामामिला भएर बस्थ्यौं होला ।’
सकारात्मक सोचको खाँचो
छालासम्बन्धी औषधिलाई निरन्तरता दिइरहेको कम्पनिले इन्जेक्टेवल, आइटमतर्फ फड्को मार्ने योजना बनाउँदै छ । कम्पनि लन्चिङ गरेकै वर्ष भूकम्प, ६ महिनाको नाकाबन्दी, कोरोना महामाहारीले व्यवसायमा निकै समस्या दियो । लगानी गरेको सामान बेच्दा नाफा चाहिन्छ भन्ने सोच राज्यले राखिदिएमा मात्र पनि औषधि व्यवसाय र उद्योगीलाई सहयोग पुग्ने सन्तोषको भनाइ छ ।