Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

‘स्वास्थ्य सुरक्षामा केन्द्रित’



उमंग राणासरिया, कार्यकारी निर्देशक / एभरेष्ट प्यारेन्टेरेल्स प्रा.लि.

नेपालमा बार्षिक एक अर्ब रुपियाँ भन्दा बढी मूल्यको स्लाइन खपत हुने गरेको तथ्याङ्कले देखाउँछ । नेपालका केही कम्पनिहरुले स्लाइन उत्पादन गरिरहेका छन् । ९ वटा भारतीय कम्पनिहरुबाट निप्पल हेडयुक्त स्लाइन मुलुकमा आयात हुने गरेको छ । निर्यात क्वालिटीको युरोहेडयुक्त स्लाइन एभरेष्ट प्यारेन्टेरल्सले स्थानीयस्तरमा पर्याप्त उपलब्ध गराउन थालेको दावी गरेको छ । तर यो निप्पल हेडको तुलनामा ८ रुपियाँ महँगो पर्छ । बारा जिल्लाको छातापिपरामा रहेको कम्पनिका कार्यकारी निर्देशक उमंग राणासरीयासँग लिइएको अन्तर्वार्ता ।

स्लाइनको मूल्य कति राख्नुभएको छ ?

विदेशमा पठाउने र स्वदेशमा उपलब्ध गराउने हाम्रो उत्पादन एउटै हो । निर्यात हुने र स्वदेशमा खपत हुने औषधिमा एकरुपता कायम राखेका छौं । पाँच सय एमएलको युरो हेडको बजार मूल्य ५३ रुपियाँ छ । जबकि निप्पल हेडको ४५ रुपियाँ पर्छ । जम्मा आठ रुपियाँको फरक हो ।

क्वालिटीको दृष्टिले खासै यो महँगो होइन । केही महँगो जस्तो लागेपनि बिरामीको सुरक्षामा विशेष ध्यान केन्द्रित  गरेका छौं । 

युरो हेडयुक्त स्लाइनका विशेषता के छन् ?

संक्रमण हुनबाट जोगिन मद्धत गर्छ । प्रयोग गर्न पनि सजिलो छ । बोतलमा खोप्नु पर्दैन । बोतल पञ्चर हुने, हावा जाने, चुहिने संभावना हुँदैन । युरो हेडमा स्टेराइल क्याप रहने भएकाले तान्ने बित्तिकै तीनवटा सुई हाल्न मिल्ने सिलिकन रबर हुन्छ । निडल छिराउँदा सिलिकोनले स्वत निडल सिल गर्छ । त्यसमा अन्य औषधि मिसाउनुपरेमा बाँकी पोर्टहरुबाट गर्न सकिन्छ । ‘स्लाइन पानीको बोतलबाट बिरामीलाई संक्रमण नहोस्’ भन्ने हाम्रो उद्देश्य हो ।  विशेषगरी स्लाइन, ग्लुकोजदेखि प्यारासिटामोल, एन्टिवायोटिक्समा युरो हेड प्रयोग गर्न सकिन्छ ।

नेपाली स्लाइन निर्यातको संभावना कतिको छ ?

स्लाइन भारतबाट दक्षिण अमेरिकासम्म पुगेको छ । भारत बाहेकका मुलुकमा निर्यात गर्न सकिने सम्भावना छ । हामीले आगामी वर्षदेखि निर्यात गर्न सक्छौं । कम्पनिमा २ सय करोड रुपियाँभन्दा बढी लगानी भइसकेको छ । उत्पादित औषधि निर्यात गर्ने उद्देश्य लिएकाले लगानी बढ्दै गयो ।

वास्तवमा लगानीसँगै औषधिको गुणस्तरीयतमा विशेष ध्यान दिनुपर्छ । अन्यथा कम्पनिको अस्तित्व रहँदैन ।

कुन कुन उत्पादनलाई प्राथमिकता दिएका छौं ?

अहिले हामी प्यारेन्टेरल्समा केन्द्रित छौं । आँखामा हाल्ने औषधि (आई ड्रप) उत्पादन भइरहेको छ ।   अब स्टेराइल ओइन्मेन्ट र एन्टिबायोटिक इन्जेक्सन उत्पादन गर्ने प्रक्रियामा छौं । हाम्रो उत्पादनह रु अर्थोपेडिक, सर्जरी, गाइने, युरोलोजी, क्रिटिकल केयर लगायत सबैका लागि उपयोगी छन् । ट्याब्लेट क्याप्सुल औषधिमा नेपाल करिब ७० प्रतिशत आत्मनिर्भर छ ।  तर

इन्जेक्टेबल र क्यान्सरका औषधिमा करिब ९५ प्रतिशत आयातमा निर्भर हुनुपर्छ । नेपाललाई स्लाइन र इन्जेक्टेबल औषधिमा आत्मनिर्भर बनाउन कम्पनि अघि बढेको छ । 

प्रतिक्रिया दिनुहोस्