Logo
|
Thursday 28th March 2024
Logo

epaper

सन् २०५० मा हाम्रो खानेकुरा: नक्कली केरा वा पन्डुनस फल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वैज्ञानिकहरूले सन् २०५० मा हाम्रो खानेकुराको अभिन्न अङ्ग बन्न सक्ने तर अहिले धेरै नचिनिएका बिरुवाको सूची तयार गरेका छन्।

भविष्यमा हामी बिहानको खानामा नक्कली केरा वा पन्डुनस रुखको फल खाइरहेका हुन सक्छौँ।

युक्रेन युद्धले विश्वभरि वितरण हुने थोरै बालीमा केन्द्रित हुँदा भोकमरीको जोखिम बढ्ने सङ्केत दिएको छ।

संसारभर मानिसले प्राप्त गर्ने ९० प्रतिशत क्यालोरी १५ प्रकारका अनाजबाट आउँछ।

त्यसैले लन्डनको रोयल बोटानीक गार्डेन्स इन केउका विज्ञहरूले भविष्यका लागि उपयुक्त बाली खोजिरहेका छन्।

जलवायु परिवर्तनका कारण खाद्य उत्पादन कम हुने र खानेकुराको मूल्य ह्वात्तै बढ्ने खतरा पनि छ।

भोकमरीविरुद्ध लड्न र जलवायु परिवर्तनमा बाँच्न हामीले खानेकुराको दायरालाई फराकिलो पार्नु आवश्यक रहेको डा सान पीरीनन बताउँनुहुन्छ ।

‘विश्वभर मानिसहरूले हजारौँ प्रकारका बिरुवाहरू खान्छन् र त्यही बिरुवाहरूमा नै हामी भविष्यमा खाद्य चुनौती सामना गर्ने समाधान भेट्न सक्छौँ,’–उहाँले भन्नुभयो ।

संसारभरका ७,००० भन्दा बढी खानयोग्य बालीमध्ये ४१७ प्रकारका बाली मात्रै खानेकुराका लागि प्रयोग गर्न खेती गरिन्छ।

भविष्यका खानेकुरा के हुन सक्छन् त ?

पन्डुनस
प्रशान्त टापुहरूदेखि फिलिपिन्ससम्मका समुद्री किनार क्षेत्रमा उम्रिने पन्डुनस साना रुख हुन्।

दक्षिणपूर्वी एशियामा मिठाईमा यसको पात प्रयोग गरिन्छ र यसको भूइँकटहरजस्तो फल काँचै वा पकाएर खान सकिन्छ।

यो बिरुवा खडेरी, हावाहुरी र अम्ल वर्षा जस्ता कठिन परिस्थितिमा उम्रन र बच्न सक्ने डा मेरीबेल साटो गोमेजले बताइन्।

‘यो जलवायु परिवर्तनमा जुझ्न सक्ने र पोसिलो खानेकुरा हो जुन मिठो पनि छ,’– उहाँले भन्नुभयो ।

यदि पन्डुनसलाई दिगो हुने गरी उपयोग गर्न सकियो भने यसलाई अझै धेरे स्थानमा खेती गर्न सकिने गोमेजले बताउनुभयो ।

गेडागुडी

एक प्रकारको गेडागुडी


गेडागुडी पनि भविष्यका खानेकुरा हुन्। प्रोटिन र भिटामिन बी यथेष्ट पाइने यी सस्ता पनि हुन्छन् र यसको खेती समुद्री किनारदेखि उच्च पहाडी क्षेत्रमा हुन्छ।

एक प्रकारको गेडागुडी
संसारभर दाल र गेडागुडीमा २०,००० भन्दा बढी प्रजाति छन् तर हामीले थोरै मात्रै प्रयोग गरिरहेका छौँ।

जङ्गली रूपमा उम्रिरहेका सयौँ प्रजातिका बारेमा वैज्ञानिकहरूलाई समेत थाहा नभएको मानिन्छ।

बोत्स्वाना, नामिबिया र दक्षिण अफ्रिकाका केही स्थानमा मोरामा भनिने गेडागुडीलाई मकैका साथ उमालेर वा पिसेर सातु जसरी खाइन्छ।

तर सबै गेडागुडी खान योग्य भने हुँदैनन् तर विज्ञहरूले विभिन्न प्रजातिका गुणहरू हेरेर पोषणयुक्त र खान हुने प्रजाति पत्ता लगाउन खोजिरहेका छन्।

फोनीयो

पश्चिच अफ्रिकामा प्रयोग हुने फोनीयोमा आइरन, क्याल्सियम र भिटामिटहरू पाइन्छ ।

फोनीयो

जङ्गली अनाज
घाँसबाट प्राप्त हुने अनाजका विश्वभर १०,००० भन्दा बढी प्रजाति छन् र त्यस कारण नयाँ खानेकुराका खोज्न सकिने वैज्ञानिकहरूको विश्वास छ।

फोनीयो भनिने अफ्रिकी अनाज पेय र सातुका रूपमा प्रयोग गरिन्छ र स्थानीय स्तरमा खेती गरिने यो बिरुवा सुक्खा क्षेत्रमा पनि उम्रन्छ।

नक्कली केरा

सक्कली केराका साथ नक्कली केरा


एन्सेटलाई नक्कली केरा पनि भनिन्छ र यो केरा प्रजातिको फल इथियोपियाको एउटा क्षेत्रमा मात्रै खाइन्छ।

केराजस्तै देखिने फल खान योग्य छ। त्यस्तै यसको डाँठ र जरा पनि पाउरोटी जस्ता खानेकुरा बनाउन प्रयोग गर्न सकिन्छ।

अध्ययनहरूले उष्ण मौसममा हुने यो फलले भविष्यमा १० करोड मानिसलाई खानेकुरा प्रदान गर्न सक्ने सम्भावना देखाएको छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्