Logo
|
Friday 19th April 2024
Logo

epaper

‘मङ्कीपक्स फैलिँदा विश्वलाई गम्भीर चुनौती’ -डब्ल्यूएचओ

सङ्क्रमितसँग सम्पर्कमा आएको व्यक्ति तीन साता एकान्तवास बस्नुपर्ने



जनस्वास्थ्य सरोकार । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यतिबेला विश्व कोभिड, युक्रेन युद्ध र मङ्कीपक्ससहित विभिन्न चिन्ताजनक चुनौतीको सामना गरिरहेको बताउनुभएको छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रोसले अफ्रिकाबाहिर १५ देशमा फैलिएको मङ्कीपक्सबारे छलफल गर्न जिनीभामा भइरहेको बैठकमा उक्त कुरा बताउनुभएको हो ।


युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया र इजरेलमा ८० भन्दा बढी व्यक्तिमा मङ्कीपक्स सरेको पुष्टि भइसकेको छ। तर बिफरजस्तै भाइरसबाट सर्ने यो रोगबाट सर्वसाधारणलाई निकै कम जोखिम भएको विज्ञहरूको भनाइ छ।

मध्य र पश्चिम अफ्रिकाका दुर्गम भेगमा भेटिने मङ्कीपक्स भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने र यसको सङ्क्रमण गम्भीर प्रकृतिको नहुने बताइएको छ।

यो भाइरसबाट सङ्क्रमणको केही सातामै बिरामी आफैँ निको हुने यूकेको न्याश्नल हेल्थ सर्भिसले बताएको छ।

अचम्मको विषय
अफ्रिकाबाहिर यो रोग १५ देशमा फैलिनु विज्ञहरूका लागि अचम्मको विषय बनेको छ। यूकेमा स्वास्थ्य अधिकारीहरूले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसलाई तीन साता एकान्तवास बस्न सुझाव दिएका छन्। बेल्जियम सङ्क्रमितले तीन साता क्वारन्टीनमा बस्नुपर्ने नियम बनाउने पहिलो देश बनेको छ।

डा टेड्रोसले भन्नुभयो–‘विश्वको सङ्कट कोभिडे महामारी मात्रै पक्कै होइन। म यहाँ बोलिरहँदा हाम्रा सहकर्मीहरू कङ्गोमा बढेको इबोला सङ्क्रमण, अज्ञात कारणले बढेको मङ्कीपक्स र हेपाटाइटिसविरुद्ध सङ्घर्ष गरिरहेका छन् भने अफगानिस्तान, इथियोपिया, सोमालिया, दक्षिण सुडान, सिरिया, युक्रेन र यमनमा जारी मानवीय सङ्कटसँग सङ्घर्षरत छन्।’

उहाँले थप्नुभयो–‘हामी रोग, खडेरी, भोकमरी र युद्धको चिन्ताजनक मिलनबिन्दुमा छौँ जसलाई जलवायु परिवर्तन, असमानता र भूराजनीतिक प्रतिस्पर्धाले झन् विकराल बनाएको छ।’

कहाँकहाँ पुग्यो मङ्कीपक्स ?
डब्ल्यूएचओले यसअघि कुनै पनि देशको नाम नलिईकन मङ्कीपक्सका अरू सन्दिग्ध सङ्क्रमणबारे अध्ययन गरिरहेको र थप मानिसमा सङ्क्रमण पुष्टि हुन सक्ने बताएको थियो।

यूकेमा पहिलो पटक मङ्कीपक्सका बिरामी भेटिएपछि युरोपका अन्य देशमा पनि उक्त रोग पुष्टि भएको थियो। स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्वीडनले शनिवारसम्म यो सङ्क्रमण पुष्टि गरेका थिए। मङ्कीपक्स आइतवार अस्ट्रिया र स्विट्जरल्यान्डमा पनि पुष्टि भएको थियो।

यूकेमा अहिलेसम्म २० जनामा उक्त भाइरसले सङ्क्रमण गराएको पुष्टि भएको छ। आइतवार बिहान प्रमुख स्वास्थ्य सल्लाहकार डा सुसन हप्किन्सले बीबीसीलाई दैनिक रूपमा नयाँ सङ्क्रमित फेला परिरहेको बताउनुभएको छ । उहाँका अनुसार भाइरस समुदायमा पुगिसकेको छ।

जोखिम समुह
सर्वसाधारण मानिसका लागि यसको जोखिम निकै कम भएको बताइएको छ। डा हप्किन्सले अहिले सहरी क्षेत्रमा विशेषगरी समलिङ्गी पुरुषहरूमा सङ्क्रमण देखिएको बताउनुभयो । मङ्कीपक्सको लागि कुनै खोप नभए पनि धेरै देशले बिफरको खोप भण्डारमा राख्न सुरु गरेका छन्। बिफरको खोप मङ्कीपक्सविरुद्ध ८५ प्रतिशतसम्म प्रभावकारी हुने बताइएको छ।

अहिले किन मङ्कीपक्स फैलियो भन्ने स्पष्ट छैन। एउटा अनुमान मङ्कीपक्स भाइरसको उत्परिवर्तन भएर नयाँ भेरिअन्ट आएको हुनसक्ने भनिए पनि यसलाई पुष्टि गर्ने यथेष्ट प्रमाण छैन। अर्को अनुमान भनेको यो भाइरसले आफ्ना लागि अनुकूल समय र स्थान भेटेको हुनसक्ने भन्ने हो।

लक्षणहरू के हुन्
सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन्। एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ।

त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुनसक्छन्। डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ। सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्