Logo
|
Thursday 25th April 2024
Logo

epaper

मङ्कीपक्स भाइरसको प्रकोप नियन्त्रण गर्न सकिन्छः डब्ल्यूएचओ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अफ्रिकाबाहिर सामान्यतया मङ्कीपक्स नपाइने हुँदा ती देशमा उक्त भाइरस नियन्त्रण गर्न सकिने जनाएको छ।

अमेरिकी महादेश, युरोप र अस्ट्रेलियामा मङ्कीपक्सबाट एक सय जनाभन्दा बढी सङ्क्रमित भएको बताइएको छ। उक्त सङ्ख्या थप बढ्न सक्ने अपेक्षा गरिएको छ, तर ठूलो जनसङ्ख्यामा जोखिम भने निकै कम रहेको विज्ञहरूले बताएका छन्।

अफ्रिकाको मध्य अनि पश्चिमी क्षेत्रका ग्रामीण भेगमा यो भाइरस सामान्य रूपमा पाइन्छ।

मङ्कीपक्स कस्तो रोग हो र कसरी सर्छ ?
यो नियन्त्रण गर्न सकिने अवस्था हो, हामीले मानवबाट मानवमा हुने सङ्क्रमणलाई रोक्न चाहेका हौँ, डब्ल्यूएचओकी भान कर्कोभाले सोमवार एउटा पत्रकार सम्मेलनमा भनिन्। अफ्रिकाबाहिर हाल १६ देशमा यो भाइरस फेला परेको पाइएको छ।

पछिल्लो ५० वर्षमा अफ्रिकाबाहिर फैलिएको यो सबैभन्दा ठूलो स्तरको प्रकोप भए पनि मङ्कीपक्स सहजै मानिसहरूमा नसर्ने हुँदा यसको जोखिम कोरोनाभाइरस महामारीसँग तुलना गर्न नसकिने विज्ञहरूको भनाइ छ।

डब्ल्यूएचओले अफ्रिकाबाहिर मङ्कीपक्स प्रकोप लक्षित ठूलो स्तरको खोप कार्यक्रम आवश्यक पर्ने आफूहरूको विश्वास नरहेको जनाएको छ।

समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा डब्ल्यूएच‌ओका एक वरिष्ठ अधिकारीले प्रकोप नियन्त्रण गर्ने प्रारम्भिक उपायहरूमा कनट्याक्ट ट्रेसिङ, एकान्तवास र सुरक्षित यौन व्यवहार रहेको उल्लेख गरे।

अमेरिकाले आफूसँग बिफर र मङ्कीपक्सविरुद्ध प्रयोग गर्नका लागि स्वीकृति प्राप्त सानो परिमाणमा खोप उपलब्ध रहेको र त्यो सङ्क्रमित मानिसहरूसँग नजिकको सम्पर्कमा पुगेकाहरूलाई उपलब्ध गराउने तयारी गरिएको जनाएको छ।

सर्वसाधारणले डराउनुपर्छ?
विज्ञहरूले यूकेमा मङ्कीपक्सको देशव्यापी प्रकोपको जोखिम नरहेको बताएका छन् र पब्लिक हेल्थ इङ्ग्ल्यान्डले जनताका लागि जोखिम कम भएको जनाएको छ।

नटिङ्गम विश्वविद्यालयका मलेक्यलर भाइरोलजीका प्राध्यापक जोनाथन बलले भने, ‘सुरुमा मङ्कीपक्सबाट सङ्क्रमित बिरामीसँग सम्पर्कमा आएका ५० जनामध्ये एक जना मात्र सङ्क्रमित भएको तथ्यले भाइरस कति सङ्क्रामक छ भन्ने देखाउँछ।’

उनका अनुसार यसले देशभरि प्रकोप आउन लागेको सङ्केत गर्दैन।

पब्लिक हेल्थ इङ्ग्ल्यान्ड पीएचईमा न्याश्नल इन्फेक्शन सर्भिसका कार्यकारी निर्देशक डा। निक फिनले भनेस् ूमङ्कीपक्स मानिसमा सहजै सर्दैन र सर्वसाधारण मानिसमा हुने जोखिम निकै कम छ भन्ने कुरामा जोड दिनु महत्त्वपूर्ण छ।ू

पीएचईले बिरामीसँग नजिकको सम्पर्कमा रहेका व्यक्तिलाई परामर्श दिन र उनीहरूलाई आवश्यकताअनुसार अनुगमन गरिरहेको छ।

स्रोत: पब्लिक हेल्थ इङ्ग्ल्यान्ड र विश्व स्वास्थ्य सङ्गठन

प्रतिक्रिया दिनुहोस्