Logo
|
Friday 1st July 2022
Logo

epaper

मङ्कीपक्सको डाबर कसरी छुट्टाउने, जाँच कतिबेला गर्ने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । हाम्रो शरीरमा धेरै कारणले डाबर आउन सक्छ। एउटा कारण मङ्कीपक्स भाइरस पनि हो। तर डाबर मङ्कीपक्स हो वा होइन भनेर थाहा पाउन के-के कुरामा ध्यान दिनुपर्छ र के जाँच गर्नुपर्छ?

सबैभन्दा पहिले त हामीले आफैलाई सोध्नुपर्छ: के म सङ्क्रमितको संसर्गमा पुगेको छु?

मङ्कीपक्स भाइरस सर्नका लागि सङ्क्रमितसँग नजिकको र लामो सम्पर्क हुनुपर्छ। विश्वमा अहिले यो सङ्क्रमण भएका मानिसहरूको सङ्ख्या निकै न्यून छ। जसको अर्थ हो यसको सङ्क्रमण भइहाल्ने जोखिम निकै कम छ।

यो सङ्क्रमण फैलिइरहने अफ्रिकाका दुर्गम देशहरूमा पनि बालबालिकाहरूमा यसको सङ्क्रमण निकै कम छ।

मङ्कीपक्स भयो भने सबैभन्दा पहिले ज्वरोजस्तै लक्षण महसुस हुनसक्छ। थकान लाग्छ र जीउ तातेर बिसन्चो हुन्छ। यसलाई चिकित्सकहरू शरीरका कोषहरूमा भाइरस प्रवेश गर्दा हुने “आक्रमण अवधि” भन्छन्।

हाम्रो रोगप्रतिरोधी क्षमता सङ्क्रमणविरुद्ध सक्रिय हुने भएकाले ग्रन्थिहरू सुन्निन थाल्छन्। त्यसपछि शरीरमा डाबर देखा पर्छन्। ती विभिन्न चरणमा “फुट्दै” जान्छन्।

हात कन्याउँदै

सुरुमा छालामा रातो दाग मात्रै देखिन्छ र बिस्तारै छालामा खटिरो देखिन्छ अनि पाप्राहरू आउन थाल्छ।

विश्व स्वास्थ्य सङ्गठनको आपत्कालीन कार्यक्रमका डा. रोसमण्ड लुइस भन्छन्, “यो रातो दागबाट सुरु हुन्छ। बिस्तारै डाबर बन्छ र हामीले छालामा छाम्दा पनि थाहा पाउँछौँ।”

ती राता दागहरू बिस्तारै फोको जस्तो बन्छन् र पिपजस्तो सेतो तरलले भरिन थाल्छन्। यी खटिराहरू बिस्तारै सुक्न थाल्छन् र पाप्रा बन्छन्। पाप्राहरू पनि बिस्तारै उप्किएर जान्छन्।

“यस कारण यो ठेउला हो कि भनेर झुक्किन सकिन्छ,” डा. लुइस भन्छन्।

डाबर

मङ्कीपक्सको डाबर सबैभन्दा पहिले अनुहारमा देखा पर्छन्। कहिलेकाहीँ मुखमा पनि देखिन्छन्। त्यसपछि पाखुरा र खुट्टामा अनि जीउमा सर्दै जान्छन्।

पछिल्ला केही सङ्क्रमणहरूमा भने डाबरहरू यौनाङ्ग वरिपरि पनि देखा परेका छन्।

डा. लुइस भन्छन्, “रौँले ढाकिएका कारण डाबरहरू नदेखिन पनि सक्छन्।”

छालाको रङ्ग अनुसार फरकफरक देखिने यो डाबरले तन्ना र लुगाहरूमा सङ्क्रमण छोड्न सक्छ।

छाला रोगसम्बन्धी ब्रिटिस संस्थाकी सभापति डा. तान्या ब्लेकर भन्छिन्, “फरक प्रकारका डाबरहरू छुट्टाउन कठिन हुनसक्छ। यदि कुनै आशङ्का छ भने सल्लाह लिएर परीक्षण गराउनु उपयुक्त हुन्छ।”

अरू के कारणले डाबर आउन सक्छ?

डाबर आउने धेरै सम्भावनाहरू हुन्छन् तर त्यसमध्येका केही यस प्रकार छन्।

एलर्जी

एलर्जी

छालाले कुनै कुराबाट खतरा ठानेर प्रतिक्रिया जनाउँदा उत्पन्न हुने चिलाउने राता डाबरहरू एलर्जी हुन्।

यसको कारण कहिलेकाहीँ थाहा नहुन पनि सक्छ।

तर निश्चित खानेकुरा वा कुनै बोटबिरुवा छुँदा तथा कुनै रसायन वा औषधिको कारण पनि यस्तो हुनसक्छ।

एलर्जी

ठेउला

यो डाबर निकै चिलाउँछ र धेरै चरण पार गरेपछि पाप्रा उप्किएर जान्छ।

यसको सङ्क्रमण जीवनमा एक पटकभन्दा बढी पनि हुनसक्छ। बच्चा हुँदा ठेउला आइसकेको छ भने वयस्क भएपछि फेरि पनि आउन सक्छ।

शरीरमा निष्क्रिय भएको ठेउला पुनः सक्रिय भयो भने पनि डाबर देखिन्छ। यस्तो हुँदा शरीरमा दुख्ने दागहरू देखिन्छन्।

ठेउला

लुतो

लुतो कीटाणुले छालामा अण्डा पारेपछि आउँछ। यसका कारण छाला निकै चिलाउँछ र रातो हुन्छ।

यसले शरीरको जुनसुकै ठाउँमा पनि डाबरहरू आउँछन्। प्राय:जसो चाहिँ औँलाको बीचबाट देखिन सुरु गर्छन्।

छालामा राता धर्साहरू पनि देखिन्छ। धेरै सङ्क्रामक नभए पनि यसलाई निको पार्न उपचार जरुरी पर्छ।

उडुस र किराको टोकाइ

उडुसको टोकाइ

हामीले प्रयोग गर्ने ओछ्यान र डसनामा उडुस सरेका छन् भने तिनले टोक्न सक्छन्।

धेरै साना हुने भएकाले तिनलाई सजिलै देखिन्न।

अरू किराहरूको टोकाइमा जस्तै यसको टोकाइले बन्ने डाबरहरू निकै चिलाउने र रातो हुन्छन्।

उडुसको टोकाइबाट आउने डाबरहरू एकै भागमा धेरै वटा हुन सक्छन्।

यौन सङ्क्रमण

यौन सङ्क्रमण परीक्षण

सङ्क्रमित व्यक्तिसँग यौनसम्पर्क राखेपछि सर्न सक्ने जीवाणु सङ्क्रमण भिरङ्गी हो।

हर्पेस भनिने भाइरसको सङ्क्रमण पनि यौन क्रियाकलापबाटै सर्छ।

यो भयो भने पनि डाबरहरू आउँछन्।

यौन सङ्क्रमण भएको आशङ्का हुनासाथ छिटोभन्दा छिटो परीक्षण गरेर उपचार गर्नु राम्रो हो।

मोलस्कम

मोलस्कम

यो बालबालिकाहरूमा देखिने भाइरल सङ्क्रमण हो।

यो हानिकारक नभए पनि शरीरभरि फैलन्छ र चिलाउँछ। यसबाट आउने डाबरको बीचमा सानो खाल्डो हुन्छ।

यसबाट आउने डाबरहरू काखीमा, घुँडाको पछाडि र गुप्ताङ्गको वरपर देखा पर्छन्।

छालाको संसर्ग वा सङ्क्रमितले प्रयोग गरेका तौलिया वा वस्तुको प्रयोगबाट यो सर्न सक्छ।

हात खुट्टा र मुखमा देखिने रोग

मुखमा बिमिरा

यो भाइरल सङ्क्रमण खकार र सिँगानबाट सर्छ।

कहिलेकाहीँ सङ्क्रमण घरायसी प्रयोगका सामग्रीबाट पनि सर्न सक्छ।

यसले पनि ज्वरो आउनेजस्ता लक्षण निम्त्याउन सक्छ।

मुखमा खटिराहरू र हत्केला र खुट्टाको पैतालामा राता डाबरहरू पनि देखिन सक्छन्। यो प्राय: आफैँ निको हुन्छ।

इम्पेटाइगो

इम्पेटाइगो

छालामा हुने जीवाणु सङ्क्रमणबाट यसले रातो दागहरू बनाउनुका साथै मुखको वरपर मसिना बिमिराहरू बनाउँछ।

यो देख्दा निकै जटिल जस्तो लागे पनि जीवाणु प्रतिरोधी मलमको प्रयोगबाट निको हुन्छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्