Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक र कर्मचारी आन्दोलित

माग सम्बोधन नभए १६ गतेदेखि ओपिडी सेवा बन्द गर्ने चेतावनी



जनस्वास्थ्य सरोकार, नेपालगञ्ज। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक र कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । चार महिनादेखि तलब भत्ता नपाएको भन्दै चिकित्सक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरू आन्दोलनको पहिलो दिन आज अस्पताल प्रशासन अगाडि एक घण्टा धर्ना बसेका थिए । बिहान ९ बजेदेखि १० बजेसम्म हातमा कालो पट्टी बाँधेर धर्ना बसेका हुन्। 

नेपालगन्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाइमा आन्दोलन थालिएको हो । चिकित्सकहरूले मासिक रुपमा पाउनुपर्ने तलब र प्रोत्साहन भत्ता माघ महिनादेखि नपाएको बताएका छन् ।

नेपालगन्ज मेडिकल कलेजमा ११४ जना चिकित्सक छन् । अधिकांशले तलब भत्ता नपाएको प्राध्यापक परिषद्का सचिव डा.अरुण महतले बताउनुभयो । यस्तै अन्य कर्मचारीले पनि तलब भत्ता नियमित पाउन नसकेको बताएका छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत आज र भोलि हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना दिने चिकित्सकहरूले बताएका छन् । माग सम्बोधन नभए १६ गतेदेखि आंशिक रुपमा ओपिडी सेवा बन्द गर्ने परिषद्को चेतावनी छ ।

अस्पताल प्रशासनले भने कोभिड महामारीकै असरले नियमित तलब भत्ता दिन गाह्रो भइरहेको बताएको छ । प्रशासन प्रमुख कुमार अधिकारीले कोभिड महामारीका कारण त्यसको असर अहिले पनि अस्पतालमा परिरहेकाले समयमा तलब भत्ता दिन नसकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्