Logo
|
Sunday 26th January 2025
Logo

epaper

संरचना बनेको वर्षदिन बित्दा पनि सञ्चालनमा आउन सकेन गेटा मेडिकल कलेज

कलेज सञ्चालनको माग गर्दै कैलालीवासी उत्रिए आन्दोलनमा



जनस्वास्थ्य सरोकार, धनगढी । नेपाल सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालनको विषय नसमेटिएको भन्दै कैलालीवासी आन्दोलित भएका छन् ।


भवनलगायतका संरचना निर्माणको काम पूरा भएको एक वर्ष वितिसक्दा पनि कलेज सञ्चालन हुने छाटकाट नदेखेपछि स्थानियवासी आन्दोलनमा उत्रिएका हुन ।


कलेज सञ्चालनको प्रक्रिया यथाशीघ्र सुरु गर्न दबाब दिने उद्देश्यले कैलालीमा संघर्ष समिति गठन गरिएको छ । संघर्ष समितिले बिहिबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र अत्तरियालगायतका क्षेत्रमा हस्ताक्षर संकलन गर्नुका साथै प्रदेशका मुख्यमन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी र धनगढी उपमहानगरपालिकाका प्रमुखलाई छुट्टाछुट्टै रूपमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।


आगामी आर्थिक वर्षको बजेटमा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न र संसद्को चालू अधिवेशनबाटै नीति निर्माण गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।


धनगढीमा नागरिक आन्दोलनमा संलग्न ओम विष्टले मेडिकल कलेज सञ्चालमा सरकारले उपेक्षा गरेपछि नागरिक आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रममा नसमेटिनुले मेडिकल कलेज सञ्चालनमा ढिलाइ हुने शंका उब्जिएको उहाँको भनाई छ ।


त्यसैगरी सुदूरपश्चिम आर्थिक सरोकार मञ्चका संयोजक प्रा.डा. राजेन्द्रविर चन्दले पुर्वाधार विकास भइसकेको अवस्थामा तत्काल मेडिकल कलेज सञ्चालन नगरिएमा निर्माण गरिएका भवन र लगानी खेर जाने बताउनुभयो । उहाँले मेडिकल कलेज सञ्चालनका लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिले सञ्चालनको मोडालिटी (प्रारूप) टुंग्याउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । समितिका कार्यवाहक अध्यक्षसमेत रहेका धनगढीका मेयर गोपाल हमालको अध्यक्षतामा बिहीबार बसेको बैठकले सञ्चालनको (प्रारूप) टुंग्याउन सरकारलाई लिखित आग्रह गर्ने निर्णय गरेको हो ।

‘अहिले संसद् पनि चलेको छ । प्रारूप टुंग्याएर यही अधिवेशनबाट नीति बनाउन छिटो सञ्चालन गर्न सकिने भएकाले सरकारलाई आग्रह गर्ने निर्णय भयो,’-समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले भन्नुभयो ।


गेटा मेडिकल कलेजका लागि दुई वटा अस्पताल भवन, दुई वटा कलेज भवन, स्टाफ आवास, प्राशसनिक भवन लगायत ३६ वटा भवन सहितका मेडिकल कजेलका लागि आवश्यक सम्पूर्ण पुर्वाधारहरु निर्माण भइसकेका छन ।


‘६ सय शय्याको अस्पताल भवन, प्रशासनिक र कलेज भवन बनेको एकवर्ष हुन लागिसक्यो,’ निर्माण दलका एक इन्जिनियरले भन्नुभयो–‘बाटो, खानेपानी सम्पूर्ण पूर्वाधार तयार भइसके । समग्रमा ८० प्रतिशत काम सम्पन्न भइसक्यो अस्पताल सञ्चालनका लागि आवश्यक आधारभूत संरचना शतप्रतिशत नै बनिसकेको छ।’


गेटा मेडिकल कलेजको आवश्यक संरचना निर्माणमा हालसम्म करिब साढे चार अर्ब रुपियाँ खर्च भएको कलेज पुर्वाधार विकास समितिले जनाएको छ । यो मेडिकल कलेज सञ्चालनले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आउने नागरिकहरुले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्