Logo
|
Thursday 28th March 2024
Logo

epaper

सूर्तिजन्य पदार्थको कुलतमा किशोर किशोरीः काठमाडौं क्यान्सर सेन्टरले वाकथुन र गल्ली समुदायमा जनचेतना डिस्प्ले गर्दै

हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको ज्यान जाने



जनस्वास्थ्य सरोकार, भक्तपुर । नेपालमा किशोरावस्थाका व्यक्तिहरु सूर्तिजन्य पदार्थको कुलतमा दिनप्रतिदिन फसिरहेका छन् । यसैलाई दृष्टिगत गरी सूर्तिजन्य पदार्थरहित दिवसका दिन भोलि मे ३१ गते भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले वाकथुन कार्यक्रमको आयोजना गर्दैछ ।

सूर्तिजन्य पदार्थको नकारात्मक असरबारे किशोरावस्था र युवावस्थाका व्यक्तिहरुलाई सचेत गराउन वाकथुनको आयोजना गरिएको अस्पताल व्यवस्थापक वर्षा कोइरालाले बताउनुभएको छ । ‘सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सरका कारण हजारौंको मृत्यु हुने गरेको छ’—उहाँले भन्नुभयो— ‘धुम्रपानबाट हुने हानिबारे गल्ली समुदायमा जनचेतना डिस्प्ले गर्दैछौं ।’

धुम्रपानको सेवनले क्यान्सरका साथै मुटु रोगजस्ता स्वास्थ्यसम्बन्धि समस्याहरु बढाइरहेको छ ।


वाकथुन कार्यक्रममा स्वास्थ्यकर्मी, विद्यार्थी, कलाकार, पत्रकार, समाजसेवी, राजनीतिज्ञको सहभागिता रहनेछ । च्यामासिंहबाट शुरु गरेर भक्तपुरका गल्लीहरु परिक्रमा गर्दै भक्तपुर दरवारस्क्वायर हुँदै पाँचतले मन्दिरमा पुगेर वाकथुन समापन गरिने व्यवस्थापक कोइरालाले जानकारी दिनुभयो ।

काठमाडौं क्यान्सर सेन्टर भक्तपुर च्यामासिंह चोकबाट ३ किलोमिटर टाढा पर्छ । यो ५० वेडको क्यान्सर हस्पिटल हो । रेडियोथेरापीबाट सेवा शुरु गरेको सेन्टरले अहिले ६ वर्ष पूरा गरेको छ ।


विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हरेक वर्ष धुम्रपान र त्यसको उद्योगसँग सम्बन्धित एक विशेष मुद्दालाई लिएर विश्व धुम्रपान रहित दिवस मनाउँदै आएको छ । विश्व धुम्रपान रहित दिवस २०२२ को नारा ‘वातावरणको संरक्षण गरौं’ भन्ने रहेको छ ।


विश्व स्वास्थ्य संगठनले सन् १९८७ मा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने मृत्युको संख्यामा निरन्तर र तीव्र वृद्धिलाई ध्यानमा राख्दै ७ अप्रिल १९८८ मा विश्व धुम्रपान रहित दिवस मनाउन थालेको थियो । तर त्यसपछि सन् १९८८ को अर्को संकल्पपछि हरेक वर्ष मे ३१ मा यो दिवस मनाउन थालियो ।

डब्लुएचओका अनुसार, हरेक वर्ष चुरोट बनाउन ६० करोड रुख काटिने, २२ अर्ब लिटर पानी प्रयोग हुने र ८४ करोड टन कार्वनडाइअक्साइड उत्सर्जनले हावामा विश्वव्यापी तापक्रम बढाएको उल्लेख गरेको छ ।

डब्लुएचओका अनुसार, सूर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको र वातावरणलाईसमेत असर पारेको छ ।

प्रतिक्रिया दिनुहोस्