२५ जिल्लाका विपन्न सुत्केरीलाई पाँच हजार पोषण खर्च

जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले मानव विकास सूचाङ्कमा पछि परेका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रु पाँच हजार पोषण खर्चको व्यवस्था गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्दै मानव विकास सूचकाङ्कमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुष्ट रु पाँच हजार उपलब्ध गराउने जानकारी दिनुभयो ।
उहाँले मातृशिशु मृत्युदर घटाउन, गर्भवती महिलालाई पोषण कार्यक्रम, स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सुविधा उपलब्ध गराइने उल्लेख गर्नुभयो ।
त्यसैगरी पाँच वर्ष मुनिका बालबालिकाहरुको मृत्युदर घटाउन सुरक्षित मातृत्व शिशु स्याहार पोषण र खोप कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।