Logo
|
Tuesday 16th April 2024
Logo

epaper

पाटन मानसिक अस्पताल स्तरोन्नति गरिने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुलुकको एकमात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ। २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नति गरिने भएको हो।

भूकम्प र कोरोनामा मानिसमा मानसिक रोग, आत्महत्याजस्ता घटना बढ्न थालेपछि सरकारले यस अस्पतालप्रति चासो दिन थालेको हो।

यसअघि सरकारले विसं २०५१ मा राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना ल्याए पनि अस्पतालको सुधार गर्न सकेको थिएन। अहिले फेरि सरकारले अस्पतालको स्तरोन्नति गर्न राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना–२०७७ समेत ल्याएको छ।

अहिले ५० शय्या रहेको अस्पताललाई १५० शय्या पुर्‍याउने अस्पतालको तयारी छ। यसका लागि अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग रकम विनियोजनका लागि आग्रह गरिसकेको छ। अस्पतालका निर्देशक डा अनन्तराज अधिकारीले आगामी वर्ष वहुवर्षीय योजनाअन्तर्गत अस्पतालको स्तरोन्नति गरिने जानकारी दिनुभयो।

स्तरोन्नतिका लागि सहरी विकास तथा भवन निर्माण विभागले दुई अत्याधुनिक भवन निर्माण गर्न नक्सासमेत तयार पारिसकेको छ।

‘भूकम्प र कोरोना महामारीले मानिसमा मनोरोग, चिन्ताजस्ता समस्या देखिए’ उहाँले भन्नुभयो, ‘त्यसपछि यस अस्पतालमा उपचार गराउन आउने बिरामी पनि बढ्न थालेपछि सरकारले पनि चासो दिन थाल्यो।’

उहाँले स्तरोन्नति गरेपछि विधागत बहिरंग सेवा सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।

उहाँले अनुसार अस्पतालमा बालमनोरोग सेवा, मानसिक रोग, लागुपदार्थ दुव्र्यसनी उपचार ९मौखिक प्रतिस्थापन विधि०, यौनरोग, मनोवैज्ञानिक उपचार, विद्युतीय उपचार पद्दति, चुम्बकीय उपचार पद्दतिबाट उपचार भइरहेको छ । चुम्बकीय उपचार पद्दतिमा अहिले अस्पतालमा चार जनाको नियमित उपचार भइरहेको छ।

भवन विभागले एक पाँच तले र अर्को चार तले भवन बनाउन थालेको हो। पाँच तले प्रशासन भवनमा कक्षा, कर्मचारी, कर्मचारीको आवास र फार्मेसी सञ्चालन हुनेछ। यस्तै, चार तले भवनमा बहिरंग सेवा, आकस्मिक सेवा, शय्या र प्रयोगशाला कक्ष रहने छन्।

बिरामीको चापअनुसार अस्पतालमा कम सङ्ख्यामा चिकित्सक रहेका छन्। अहिले नौ मनोचिकित्सक र ६ जना इन्र्टनसीप चिकित्सक रहेका छन्।

निर्देशक डा अधिकारीका अनुसार मनोविद् चिकित्सकको दरबन्दी नरहेकोले अस्पताल विकास समितिले एक चिकित्सकलाई करारमा राखेको छ।

उहाँले सवै सुविधा भए पनि कहिलेकाहीँ शय्या अभावले बिरामीलाई अयन्त्र पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँले अर्को वर्ष बालमानसिक स्वास्थ्य उपचार सुरू गर्ने बताउनुभयो । कोरोना महामारीको बेला करिब ३५ हजार मानिस अस्पतालमा उपचारार्थ आएका थिए।

नेपालमा मानसिक स्वास्थ्य सेवा २०१८ सालमा वीर अस्पतालको बहिरङ्ग सेवाबाट सुरू भएको हो।

यो सेवा सैनिक अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै देशका ठूलाठूला अस्पतालमा विस्तार भएको छ।

सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखामा मानसिक स्वास्थ्य गठन गर्नुकासाथै प्रत्येक २०० शय्याका अस्पतालमा १० शय्या मानसिक रोगीका लागि छुटाउन निर्देशन दिएको छ।

अहिले प्रत्येक २०० भन्दा बढी श्यया भएका अस्पतालमा मानसिक रोग विभाग रहेको छ।

मानसिक स्वास्थ्यलाई चासो राख्दै विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सरकारले १५ जिल्लामा मानसिक स्वास्थ्य सेवा सञ्चालनसमेत गरेको छ।

नेपालमा कूल नसर्ने रोगको समस्यामध्ये १८ प्रतिशत मानसिक रोग लाग्ने गरेको छ। अपाङ्गता गराउने प्रमुख १० कारकमध्ये चारवटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन्।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को नतिजाअनुसार नेपालमा १३ देखि १७ वर्षका ५ दशमलव २ प्रतिशत किशोर (किशोरीमा मानसिक स्वास्थ्य समास्या देखिएको छ। जसमा २ दशमलव ८ प्रतिशतमा चिन्ताजन्य समस्या) दशमलव ६ प्रतिशतमा मानसिक रोगको समस्या पाइएको छ र ३ दशमलव ९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच रहेको पाइएको छ।

यस्तै, १८ वर्षमाथिका व्यक्तिमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २ दशमलव ९ प्रतिशतमा मासिक रोग, ० दशमलव २ प्रतिशतमा साइकोसिस र ७ दशमलव २ प्रतिशतमा आत्महत्यासम्बन्धी सोचको अवस्था देखिएको छ।

महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले प्रत्येक पाँच जनामध्ये एक जना मानसिक रोगी रहेकाले सरकारले मानसिक स्वास्थ्यको सेवा बढाउनुपर्ने बताउनुहुन्छ ।

‘भूकम्प र कोरोना महामारीले नेपालमा मानसिक रोगी बढेका छन्’ उहाँले भन्नुभयो ‘सरकारले मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्नुपर्दछ।’

शाखाले प्रत्येक प्रदेशमा मानसिक स्वास्थ्य उपचारका औषधि खरिद गर्न वार्षिक ५० लाखका दरले रकम उपलब्ध गराउँदै आएको छ।

नेपालमा प्रत्येक दिन १८ देखि २० जनाद्वारा आत्महत्या हुने गरेको तथ्याङ्क छ। त्यसको मुख्य कारण मानसिक रोग नै रहेको पाइएको छ।

बरालले मानसिक स्वास्थ्य उपचार गर्न दक्ष स्वास्थ्यकर्मी नभएकाले मानसिक उपचारका लागि स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी ६ प्रकारका तालिमसमेत दिइरहेको जानकारी दिनुभयो।

उहाँले सरकारले स्वास्थ्यकर्मीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर मानसिक सम्बन्धी स्वास्थ्यकर्मीको दरबन्दी थप्नुपर्ने बताउँनुभयो

‘मानसिक स्वास्थ्य उपचार गर्न स्वास्थ्यकर्मी र चिकित्सक अत्यन्तै कम छन्’ उनले भने, ‘नयाँ दरबन्दी थपेर मनोरोग विशेषज्ञ राख्नुपर्दछ।’ रासस

प्रतिक्रिया दिनुहोस्