गौशालामा किड्नी केयर स्थापना, १०० रुपियाँमै मिर्गौला परीक्षण

जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको गौशालामा किड्नी केयरको स्थापना गरिएको छ । नेपाल ल्याव हाउस तथा मल्टिस्पेसियालिटी क्लिनिकबाट असार १ गतेबाट सुरु हुने किड्नी केयरको नेपाली कांग्रेसका नेता एवं सांसद भीमसेन दास प्रधानले आइतबार उद्घाटन गर्नुभएको हो ।
सांसद प्रधानले किड्नी केयरको प्रसंसा गर्नुहुँदै देशभरि सेवा विस्तार गर्न आग्रह गर्नुभयो । समयमै मिर्गौला परीक्षण गरे मिर्गौला रोगबाट बच्न सकिने उल्लेख गर्नुभयो ।
त्यसैगरी किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरले ‘मिर्गौला जँचाऔं, मिर्गौला बचाऔं’ भन्ने अभियानका साथ सेवा सुरु गरेको बताउनुभयो । उहाँले किड्नी केयर ३६५ दिन नै खुला रहने र सेवा दिने जानकारी दिनुभयो ।
किड्नी केयरमा ल्याब शुल्क एक सय रुपियाँ राखिएको छ। सोही रकममा निःशुल्क परामर्श समेत लिन सकिने डा कुँवरको भनाई छ ।
‘नेपालमा वार्षिक ३ हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको तथ्यांक छ, मिर्गौला फेल भएका बिरामीको विलौना दिनदिनै सुनिरहेका छौं,’ डा. कुँवरले भन्नुभयो- ‘पशुपति दर्शन गर्न आउँदा छोटो समय निकालेर मिर्गौला परीक्षण गर्न म विशेष आग्रह गर्छु ।’
एक सय रुपैँयामा मिर्गौलाको अवस्था थाहा पाउने प्यारामिटर, ब्लड सुगर र्याण्डम, युरिन एल्बुमिन र उच्च रक्तचापको परीक्षण हुने छ ।
नेपाल ल्याब हाउसका प्रबन्ध निर्देशक प्राडा विदुर वस्तीले प्रयोगशालाको गुणस्तर अब्बल रहेको भन्दै मिर्गौला परीक्षणको सेवा भएकोमा खुसी व्यक्त गर्नुभयो ।