Logo
|
Thursday 28th March 2024
Logo

epaper

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै स्वास्थ्य शिविर सञ्चालन




जनस्वास्थ्य सरोकार, कैलाली । कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको माग गर्दै मङ्गलबार दबाब स्वरूप स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।गेटामा मेडिकल कलेजका लागि निर्माण भएका भवनको मूलद्वारमा विभिन्न स्वास्थ्य संस्थाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि कैलालीको धनगढी, अत्तरियालगायतका स्थानमा केही सातादेखि सडक आन्दोलन जारी छ ।सङ्घीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालनबारे कुनै उल्लेख नगरेपछि आन्दोलन सुरु भएको थियो ।

सडक आन्दोलन तातेको बेला सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मेडिकल कलेज सञ्चालनका लागि कुनै रकमसमेत विनियोजन नगरेपछि आक्रोस झन् बढेको थियो।

मङ्गलबार पद्मा अस्पताल, मायामेट्रो अस्पताल, सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल, गोदावरी पोलिक्लिनिकलगायत स्वास्थ्य संस्थासँगको सहकार्यमा तथा मेडिकल विश्वविद्यालय स्थापनाका लागि गठित सङ्घर्ष समितिको आह्वानमा स्वास्थ्य शिविर सञ्चालन भएको हो।

सङ्घर्ष समिति संयोजक लोकराज पाण्डेयले सरकारले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि भरपर्दो नीतिगत तथा बजेटको व्यवस्था नगरेसम्म आन्दोलन जारी रहने बताए। कैलालीको गेटामा २३ वर्षदेखि मेडिकल कलेज स्थापनाको चर्चा हुँदै आएकामा सात वर्षदेखि भवनसहित पूर्वाधार निर्माण कार्य जारी छ।

गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका अनुसार हालसम्म सात सय शय्या क्षमताका दुई अस्पताल भवन र अन्य ठूूला–साना गरी ३५ भवन निर्माण भइसकेका छन्। हालसम्म भवनसहितको पूर्वाधार विकासमा साढे चार अर्ब रुपैयाँ बढी लगानी भइसकेको जनाइएको छ।

२०५६र०५७ सालतिरबाट चर्चा सुरु भएको र २०६७र०६८ सालतिरबाट निर्माण प्रक्रिया अघि बढेको भएपनि अहिलेसम्म गेटा मेडिकल कलेज कुन मोडलमा सञ्चालन गर्ने भन्नेबारे सरकारले कुनै ठोस नीतिगत प्रबन्ध गरेको छैन । गेटा मेडिकल कलेज सञ्चालनमा अन्योल थपिएसँगै पछिल्लो पटक नागरिकस्तरबाट मेडिकल विश्वविद्यालय स्थापनाको एकसूत्रीय मागसहित विभिन्न चरणमा आन्दोलन जारी छ।

यसक्रममा सोमबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका २१ तथा राष्ट्रियसभाका आठ सदस्यले प्रधानमन्त्रीलाई गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गर्दै संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्