Logo
|
Saturday 20th April 2024
Logo

epaper

निःशुल्क स्वास्थ्य शिविरबाट तनहुँ कुलुङका ३०५ जना लाभान्वित



जनस्वास्थ्य सरोकार, तनहुँ । रोटरी क्लब अफ दमौलीको आयोजना तथा व्यास नगरपालिकाको सह आयोजनामा शुक्रवार व्यास–१४ माझथर कुलुङ्गमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

जी. पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, शुक्लागण्डकी, रत्नहरी मेमोरियल अस्पताल र दमौली अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

रोटरीको वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित उक्त निःशुल्क स्वास्थ्य शिविरबाट कुलुङ्ग, केशवटार, ठिन, रामकोट लगायतका क्षेत्रका ३ सय ५ जना लाभान्वित भएका छन् । 

पेट, छाती, मुटु, प्रेसर, सुगर, थाइराइड विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, जनरल सर्जरी, बाल रोग विशेषज्ञद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

साथै शिविरमा निःशुल्क भिडियो एक्स-रे सेवा, रगतबाट सुगर तथा ब्लड ग्रुप परिक्षण गरिएको थियो भने परिक्षण गरेअनुसार सबै खालका बिरामीलाई निःशुल्क औषधी वितरण समेत गरिएको श्रेष्ठले बताउनुभयो । 

शिविरमा ३ सय ५ जना बिरामीको परीक्षण गर्दा १ सय ७ जनाको भिडियो एक्स-रे गरिएको डाक्टर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । भिडियो एक्स-रे गर्दा धेरै बिरामीमा पत्थरीको समस्या देखिएको उहाँले बताउनुभयो । पित्त थैलीमा पत्थरी देखिएका बिरामीहरूलाई जी.पी कोइरालाबाट निःशुल्क अपरेसन लगायतका सेवा प्रदान गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै ल्याब परीक्षणका क्रममा सुगरको समस्या पनि अधिक देखिएको छ  । पर्याप्त रुपमा शुद्ध पानी पिउनाले र जीवनशैलीमा केही परिवर्तन ल्याउने हो भने पत्थरी, सुगर, प्रेसर लगायतका समस्याबाट मुक्ति पाउन सकिने भन्दै डा. श्रेष्ठले जीवनशैलीमा ध्यान पुर्‍याउन सबैलाई आग्रह गर्नुभएको थियो । 

शिविरमा ४ वर्षीया बालिका देखी ८६ वर्षीया वृद्धसम्मको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जनाएको छ । 

व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिका पनि महिला, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति संवेदनशील रहेको चर्चा गर्दै न्यौपानेले वडा–वडामा स्वास्थ्य परीक्षणका योजना बनाएको जानकारी दिनुभयो ।

रोटरीले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा ठुलो योगदान पुर्‍याएको भन्दै स्थानीय सरकार रोटरी जस्ता सेवामूलक संस्थासँग सहकार्य गर्न सधैँ तयार रहेको न्यौपानेको भनाइ थियो । 

सोही अवसरमा व्यास–१४ का वडाध्यक्ष काशीमान श्रेष्ठले सबै नागरिकलाई सर्वसुलभ र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आफु सचेत रहेको बताउनभयो । कुलङ्ग भौगोलिक दृष्टिकोणले अलि कोल्टो पर्ने भएकाले त्यहाँका नागरिकले स्वास्थ्य सेवा लिन टाढा धाउनुपर्ने बाध्यता रही आएकोमा त्यसको सहज व्यवस्थापन गर्न लागि गरेको श्रेष्ठको भनाइ थियो । दुर्गम ठाउँलाई लक्षित गरी रोटरी विशेषज्ञ र औषधी सहितको सेवा प्रदान गरेको प्रति श्रेष्ठले आभार व्यक्त गर्नुभयो ।

हरेक वर्ष दुर्गम ठाउँमा स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम अनुसार रोटरी क्लब अफ दमौलीले स्थानीयको आवश्यकता अनुसार कुलुङ्गमा स्वास्थ्य शिविर आयोजना गरिएको कार्यक्रम संयोजक दामोदर भण्डारीले जानकारी दिनुभयो । 

कुलुङ्गमा स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको जानकारी पाएपछि उक्त ठाउँमा विशेषज्ञ टोली सहित ल्याब, भिडियो एक्स-रे र निःशुल्क औषधी समेत वितरण गरिएको भण्डारीले जानकारी दिनुभयो । 

उक्त शिविरमा रोट्रर्याक्ट क्लब अफ दमौली, इनरह्विल क्लब अफ दमौली, रोट्रर्याक्ट वेदव्यास, भिमाद र भानु, छाब्दी बराही आमा समूह, लाङ्गघाली  युवा क्लब कुलुङ्ग, कुलुङ्ग सामुदायिक होमस्टे लगायतका सङ्घसंस्थाले स्वयंसेवकको रुपमा सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्