Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

चितवनमा पाँच देखि १२ वर्ष उमेर समूहका ७० हजार बालबालिकालाई कोरोना खोप लगाइँदै



जनस्वास्थ्य सरोकार, चितवन । जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ। यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जिल्लास्वास्थ्य कार्यालयका अनुसार कोरोनाविरुद्धको खोप अभियान सुरु गर्न लागिएको जनाएको हो । असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान दुई चरणमा विभाजन गरिएको छ। रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा असार ९ देखि १४ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा असार १४ गते देखि १८ गते सम्म अभियान सञ्चालन हुने छ। जिल्लामा रहेका ७० हजार ३८२ बालबालिकालाई फाइजर –बायोएनटेक खोप दिइने उनले जानकारी दिनुभयो ।

जस अन्तर्गत भरतपुर महानगरपालिकामा ३१ हजार ४१२, रत्ननगर नगरपालिकामा ८ हजार ३७१, खैरहनी नगरपालिकामा सात हजार ३५० बालबालिकालाई खोप दिइँदैछ। यस्तै कालिका नगरपालिकामा चार हजार १९२, राप्ती नगरपालिकामा आठ हजार ९१४, माडी नगरपालिकामा पाँच हजार ३६३ र इच्छाकामना गाउँपालिकामा चार हजार ७८० जना बालबालिकालाई खोप लगाउन लागिएको कार्यालयले जनाएको छ ।

केसीका अनुसार अभियानका लागि ७६ हजार ८०० डोज खोप जिल्लामा आइसकेको छ। जिल्लामा रहेका ५४० खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने उनले जानकारी दिए। खोप अभियानमा ९४४ स्वास्थ्यकर्मी र एक हजार ३९४ स्वयंसेवीका परिचालन हुने बताउनुभयो ।

भरतपुर महानगरपालिकामा २१४, रत्ननगर नगरपालिकामा ५८, खैरहनी नगरपालिकामा ६२, राप्ती नगरपालिकामा ६४, कालिका नगरपालिकामा ५३ वटा खोप केन्द्रबाट खोप लगाइँदै छ। माडी नगरपालिकामा ४१ र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप दिन लागिएको केसीले जानकारी दिनुभयो ।

हरेक विद्यालयलाई खोप केन्द्रको रुपमा परिचालन गरिने उहाँले बताउनुभया । सामुदायिक र संस्थागत विद्यालयमा खोप खेन्द्र बनाइने छ। दुई सय बालबालिकाका लागि एकजना स्वास्थ्यकर्मी परिचालन गरिने उनले जानकारी दिनुभयो । खोप लगाएपछि सामान्य ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने लगायतका लक्षण देखिएमा आत्तिनु पर्ने अवस्था नरहेको कार्यालयले जनाएको छ। गम्भीर प्रकृतिका बिरामी र उच्च ज्वरो आएका बिरामी बालबाललिकालाई यो खोप दिन नहुने सो अवसरमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्