Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालको न्युरो इन्टरभेन्सन सेवा उत्कृष्ठ रहेको भारतीय न्युरो इन्टरभेन्सनका विज्ञहरुको भनाइ, सहकार्य गर्ने प्रतिवद्धता



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालको न्युरो इन्टरभेन्सन सेवा उत्कृष्ठ रहेको भारतीय न्युरो इन्टरभेन्सनका विज्ञहरुले बताएका छन् ।

काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाईड साइन्सेस (न्युरो हस्पिटल) ले नेपाल र भारतीय न्युरो इन्टरभेन्सन सेवाको ज्ञान आदानप्रदान गर्ने उद्देश्यले राजधानीमा आयोजित कन्टिन्युअस मेडिकल एजुकेशन (सिएमई) मा उनीहरुले नेपालको न्युरो इन्टरभेन्सन सेवा उत्कृष्ठ रहेको भन्दै प्रशंसासमेत गरे ।

सो अवसरमा नेपालको मस्तिष्कघात उपचार सेवा प्रभावकारी भएको, उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले प्रदान गर्दै आएको न्युरो इन्टरभेन्सन सेवा अन्तर्राष्ट्रियस्तरमै उत्कृष्ठ रहेको र नेपालमा मस्तिष्क तथा न्युरो रोगसम्बन्धि समस्या न्युनिकरणमा सहकार्य गर्ने भारतीय न्युरो इन्टरभेन्सनका विज्ञहरुले प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । सो अवसरमा भारत र नेपालको जटिल न्युरो इन्टरभेन्सन सेवाबारे कार्यपत्रमार्फत शिक्षा आदानप्रदान गरिएको थियो ।


अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) नयाँ दिल्लीका न्युरो इमेजिङ एण्ड इन्टरभेन्सनल न्युरोअडियोलोजी, न्युरो साइन्सेस सेन्टरका प्रमुख प्रा. डा. शैलेश गायकवाडले ‘मस्तिष्कघातमा क्यारोटाइड स्टेन्टिङ’, मेदान्त हस्पिटलका न्युरो इन्टरभेन्सन सर्जरी विभागका प्रमुख डा. गौरव गोयलले ‘थ्रम्बेक्टोमीका चुनौति’ एपोलो हस्पिटलका कन्सल्यान्ट न्युरो इन्टरभेन्सनिष्ट डा. निश्चित जैनले ‘इन्टेरेस्टिङ केसेस’ बारे छुट्टाछुट्टै महत्वपूर्ण कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


यसैगरी उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलका कन्सल्यान्ट न्युरो सर्जन डा. शिखर श्रेष्ठले ‘न्युरो सर्जरी पर्सपेक्टिभ’, न्युरो इमेजिङ एण्ड इन्टरभेन्सनल रेडियोलोजी विभागका प्रमुख डा. सुवास फुँयालले ‘न्युरो इन्टरभेन्सन सेवाः नयाँ युगको ध्योतक’, कन्सल्यान्ट न्युरोलोजिष्ट डा. अञ्जिल मनी सिंह महर्जनले ‘मस्तिष्कघातको समस्या/थ्रम्बोलाइसिस’ बारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।

सो अवसरमा उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाईड साइन्सेस (न्युरो हस्पिटल) की अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाले हस्पिटलले विगत लामो समयदेखि यस प्रकारको शिक्षा आदानप्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको र यसले नेपाली न्युरोलोजिष्ट र सर्जनहरुलाई काम गर्ने धेरै ज्ञान हाँसिल हुने गरेको उल्लेख गर्नुभयो ।


नेपालमा पहिलोपटक उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा जडान गरिएको वाइ प्लने क्याथ ल्याव सुविधाले धेरैको अकालमा हुने मृत्युबाट ज्यान जोगाउन सफल भएको छ । हालसम्म ५०० भन्दा बढी बिरामीले ‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्युरो इन्टरभेन्सन’ सेवा लिइसकेका छन् । क्याथल्याबमार्फत मस्तिष्कभित्रको रक्तनलीसम्बन्धी रोगजस्तै नसा बन्द हुनु, रगतको नसाको फुकुण्डो फुट्नु र रगतको गुच्छाको सफल उपचार भइरहेको छ । अस्पतालले दुई वर्ष अगाडि नै मस्तिष्काघात उपचार सेवाका लागि नै पहिलोपटक विश्वस्तरीय आइसियु सञ्चालनमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्