Logo
|
Friday 19th April 2024
Logo

epaper

सगरमाथामा प्रदुषण बढ्दै गएको भन्दै सरोकारवालालाई डा. भुसालको ध्यानाकर्षण

'शिविर नम्बर ४ मा प्रदुषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक'- आरोही डा. भुसाल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सगरमाथा आरोही डा. प्रीति भुसालले सगरमाथामा प्रदुषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी डाक्टर भुसालले शिविर नम्बर ४ मा प्रदुषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको बताउनुभएको हो । १, २, ३ नम्बर शिविर भने तुलनात्मक रूपमा सफा रहेको उहाँको भनाई छ ।

नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर भुसालले वैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । कोभिड—१९ को लडाई विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरू लगायतको योगदानको उच्च सम्मान गर्न आफुले सगरमाथा आरोहण गरेको उहाँको भनाई थियो ।

त्यस्तै प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु आफ्नो आरोहणको दोस्रो लक्ष्य रहेको उहाँको भनाई छ । ‘हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा समेत मैले सगरमाथा आरोहण गरेको हुँ’–उहाँले भन्नुभयो ।

बाल्यकालदेखि नै डाँडाकाँडा उक्लने, पौडी खेल्ने लगायतमा संलग्न भएकाले र पछिल्लो पटक फ्रान्स, स्विजरल्याण्ड लगायतका देशमा सुन्दर हिमालहरू देखेपछि आफ्नै देशका हिमालहरू चढ्ने प्रण गरेको उहाँले बताउनुभयो।

सगरमाथा आरोहणको क्रममा डा भुसालको साथमा व्यक्तिगत पथप्रदर्शक (गाइड) को रुपमा फुर्बा थिलो शेर्पा र पासाङ गेलु शेर्पा रहनुभएको थियो । उहाँको आरोहण अभियानको नेतृत्व चर्चित पर्वतारोही पेम्बा दोर्जी शेर्पाले गर्नुभएको थियो ।

उहाँले डाक्टरी पेशा र हिमाल अरोहणलाई अब सँगसँगै मिलाएर लैजाने योजना बनाएको बताउनुभयो । हाल धापासी स्थित ग्रयाण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा भुसालको उच्च उचाई तथा खेल चिकित्सक भएर बिरामीहरूको सेवा गर्ने लक्ष्य रहेको छ ।

आफूले नियमित रूपमा शिखरहरू आरोहण गरेको खण्डमा आधार शिविरमा स्वास्थ्य शिविर संचालन गर्न सक्ने र त्यसको प्रत्यक्ष फाइदा अन्य आरोहीहरूले लिन सक्ने उहाँले उल्लेख गर्नुभयो ।

सगरमाथा आरोहणका लागि कुनै पनि व्यक्ति शारीरिक तथा मानसिक रूपमा सबल हुनुपर्ने र त्यसअघि ६ हजार मिटर भन्दा अग्ला केही शिखरहरू चढेको अनुभव हुनुपर्ने उहाँको भनाई छ । हाल स्वदेशी पर्वतारोहीको हकमा सगरमाथा आरोहण गर्न ३५ देखि ४० लाख रुपैया खर्च लाग्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्