काठमाडौं उपत्यका खानेपानीले वितरण गर्ने पानीमा भेटियो हैजाको जीवाणु, उमालेरमात्रै पिउन आग्रह

जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वितरण गर्ने खानेपानीमा झाडापखाला तथा हैजाजन्य जीवाणु भेटिएको छ ।
उपत्यकामा खानेपानी वितरण गर्दै आएको केयूकेएलको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको हो । समयमै सावधानी नअपनाए यसले भयावह अवस्था सिर्जना हुन सक्ने स्वास्थकर्मीहरुले चेतावनी दिएका छन् ।
स्वास्थ्य कार्यालय काठमाण्डौले मंगलबार र बुधबार पानीको नमुना परीक्षण गरेको थियो । त्यस क्रममा केयूकेएल र ट्यांकरले व्यवसायीले वितरण गर्ने पानीमा झाडापखाला र हैजाको जीवाणु भेटिएको हो । हैजा र झाडापखालाको जीवाणु भेटिएपछि स्वास्थ्यले केयूकेएललाई पानी थप प्रशोधन तथा शुद्धीकरण गर्न निर्देशन दिएको छ ।
पछिल्लो समय उपत्यकामा वितरण गरिने पानीका स्रोतमै झाडापखाला तथा हैजाका जीवाणु भेटिएका छन्। त्यसैले केयूकेएल, ट्यांकर, जार तथा बोतलको पानी पनि उमालेरमात्रै पिउन सर्वसाधारणलाई आग्रह गरिएको स्वास्थकर्मीहरुले आग्रह गरेका छन् ।
गत असार २ गते उपत्यकामा हैजाको संक्रमण पुष्टि भएको थियो । हालसम्म काठमाडौंमा १३ र ललितपुरमा १ गरी १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।