
जनस्वास्थ्य सरोकार, चितवन । जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन्। गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग देखिएको थियो। तीमध्ये एकजना गैँडाकोट नगरपालिकाका रहेका छन्। स्वास्थ्य कार्यालयका औलो रोग सम्पर्क व्यक्ति उर्मिला आचार्यका अनुसार भाइभाक्स, फाल्सिपारम, मलेरी, ओवाले, नोलेसीमध्ये कुनै एक परजीवी सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेले टोक्दा औलो रोग सर्ने गर्दछ। ती परजीवीमध्ये फाल्सिपारम सबैभन्दा डरलाग्दो हुने उनले जानकारी दिए।
विश्वमा चार सय जातका एनोफिलिज जातका लामखुट्टे पाइने भए पनि ६० जातमा मात्रै औलोको परजीवी प्रमाणित भएको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा कोरोनाका कारण लकडाउन हुँदा मानिस घरबाट बाहिर ननिस्कनु, पानी कम परेकाले बिरामीको सङ्ख्या कम भएको उनले बताए। यस वर्ष नियमित जसो पानी पर्नु र मानिसको चहलपहल बढ्नुले औलोको सङ्क्रमण बढेको उनले जानकारी दिए।
औलो हुँदा लगातार वा दिन बिराएर ज्वरो आउनु, चेतनामा परिवर्तन आउनु अथवा बेहोस हुनु, कम्जोर हुनु वा उठबस गर्न नसक्नु, खान नसक्नु, धेरै कम्पन हुनु, गहिरो स्वास लिनु लगायतका लक्षण देखापर्ने गर्दछ। यस रोगबाट बच्न पानीका खाल्डाखुल्डी पुर्नु पर्ने, झूलको प्रयोग नियमित गर्नुपर्ने, शङ्कास्पद देखिए तत्काल चिकित्सकको परामर्शमा जानु औलोबाट बच्ने मुख्य उपाय रहेको कार्यालयले जनाएको छ। नेपाललाई सन् २०२६ सम्म औलो मुक्त बनाउने घोषणा गरिएको छ। रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
