Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वाद पनि, सौन्दर्य पनि

भान्सामा १० औषधि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । हामीले खाएको खानेकुराको असर स्वास्थ्य र छालामा देखिन्छ । स्वस्थ र सुन्दर रहन खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । यो काम धेरै सजिलो छ किनकि स्वास्थ्य र सुन्दरताको खजाना हाम्रो भान्सामा नै रहेको हुन्छ ।

करेला
तिलो करेला तपाईंलाई मन पर्दैन होला । तर यसमा रहेको गुणले स्वास्थ्य र सौन्दर्यमा आइपर्ने विभिन्न समस्याहरुबाट हामीलाई बचाउँछ ।

करेलामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिटर्स आदि स्वास्थ्य र सौन्दर्यका लागि निकै फाइदाजनक मानिन्छ ।

स्वास्थ्यमा फाइदा
मधुमेहबाट पीडित ब्यक्तिले सँधै करेलाको रस पिउनाले समस्या निराकरणमा निकै मद्दत गर्छ । करेलाको पातको रसमा थोरै हरडको धूलो मिलाएर बिहान बेलुका पिउनाले जन्डिसमा राहत मिल्छ । करेलाको हरियो पताको रसलाई दहीमा मिलाएर बिहान बेलुका पिउनाले पत्थरी गलेर निस्कनसक्छ ।

पेटमा किराका कारण यदि पेट दुःख्ने समस्या भएमा सँधै बिहान बेलुका तीन दिनसम्म करेलाको रस पिउनाले पेटका किरा नष्ट हुन्छन् । काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुःखेको ठाउँमा लगाउनले दुःखाईमा राहत मिल्छ । करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ ।

शौन्दर्यमा फाइदा
करेलाले रगत शुद्ध बनाउँछ । यसको सेवनले अनुहारमा दाग आउँदैन । भिटामिन ए ले भरपूर करेला एक राम्रो एन्टीअक्सिडेन्ट भएको चिज हो जसले छालालाई स्वस्थ बनाउ मद्दत गर्छ । करेलाले एन्टिएजिङको पनि काम गर्छ । यसको सेवनले छाला जवान र चम्किलो देखिन्छ । पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ ।

परवल
परवल थोरै मानिसलाई मन पर्नसक्छ । तर यसले धेरै रोगको औषधिको काम गर्छ । परवल खानाले कफ, खोकी, कुष्ठरोग, ज्वरोजस्ता समस्याबाट मुक्ति मिल्छ ।

स्वास्थ्यमा फाइदा
बिहान बेलुका परवलको झोल पिउनाले ज्वरो आउँदा आराम मिल्छ । सुख्खा कफको कारणले सास फेर्न समस्या हुन्छ । यस्तो बेला हरेक दिन बिहान परवलको काढामा मह मिलाएर पिउनाले कफ सजिलै बाहिर निस्कन्छ । शरीर पोलेको कम गर्न परवलको पात र धनियाँको काढा बनाउने र यसलाई बिहान पिउने । साथै परवलको रसले शरीर मालिस गर्ने । यसले शरीर पोलेको चाँडै हराउँछ । बिहान बेलुका परवलको क्वाथ पिउनाले जन्डिस र अन्य पेटसम्बन्धि रोगका लागि लाभदायक मानिन्छ ।

१० ग्राम परवलको पात १० ग्राम धनियाँ १ सय ग्राम पानीमा रातभरी भिजाइदिने । बिहान यसलाई छानेर दिनमा तीनपटक पिउनाले पेटको किरा मर्छन् र पेट दुःख्ने समस्या पनि हुँदैन ।

सौन्दर्यमा फाइदा
करेलाजस्तै परवलले पनि रगत शुद्धिको काम गर्छ । यसले छालासम्बन्धि समस्या हुँदैन । परवलको नियमित सेवनले स्किन एलर्जीबाट छुटकारा मिल्छ । दाग भएको ठाउँमा परवलको पातको रस लगाउनले ठीक हुन्छ ।

मूला
मूला धेरै रोगबाट छुटकारा दिने तरकारी हो । यसले शौन्दर्यसम्बन्धि समस्याबाट पनि मुक्ति दिलाउन मद्दत गर्छ ।

स्वास्थ्यमा फाइदा
मूलामा लौह तत्वको मात्रा धेरै हुनाले यसको सेवनले रगत शुद्ध हुन्छ । मुलामा क्षारयुक्त पदार्थ हुनाले यसले बोसो कम गर्छ र मोटोपनमा कमी ल्याउँछ । १ सय ग्राम मूलाको बिऊको दाना पिसेर २ देखि ३ ग्राम १ सय ग्राम घिउ वा दूधसँग बिहान बेलुका खानाले यौन दुर्वलतासम्बन्धि समस्या हट्दै जान्छ ।

मूलाको बिऊको दाना पिसेर ४—४ ग्राम दैनिक ३ पटक पानीसँग पिउनाले महिनावारीसम्बन्धि समस्यामा फाइदा गर्छ । दिनमा ३ पटक मूलाको गेडाको धूलो खानाले रुघाखोकीमा आराम मिल्छ ।

मूलाको रसमा कागतिको रस मिलाएर पिउनाले पेट दुःख्ने वा ग्याँस्ट्रिक समस्यामा राहत मिल्छ । मूलाको ४ चम्चा रसमा तोरीको तेल मिसाएर पकाउने । यो पानी सबै सुकेपछि निकालेर छान्ने र एउटा सफा बोतलमा राख्ने । कान दुःखेको बेला २—२ थोपा राख्नाले आराम मिल्छ ।

सौन्दर्यमा फाइदा
मूलाको सब्जी खानाले वा यसको रस पिउनाले रगत सफा हुन्छ । एक महिना लगातार मूला खानाले अनुहारको दाग र धब्वा कम हुन्छ । काटेको मुलाले पोतोको दागमा रगड्नाले दाग कम हुन्छ । मूलाको रसमा तिलको तेल मिलाएर कपाल मसाज गर्नाले झर्न कम हुन्छ । यसका साथै जुम्राको समस्याबाट पनि मुक्ति मिल्छ ।

मेथी
खासगरी, महिलाका लागि मेथी धेरै गुणकारी हुन्छ । मेथीको सेवनले महिलालाई गर्भवतीको समय एवं महिनावारीपछि कमजोर महसुस हुन दिँदैन । यसका साथै बच्चालाई दूध खुवाउने आमालाई मेथीको साग फाइदाजनक मानिन्छ ।

स्वास्थ्यमा फाइदा
मेथीको सागको १ सय ग्राम रसमा २ ग्राम क्वाथ र ५ ग्राम चिनी मिलाएर पिउनाले छिनछिनमा पिसाब लाग्ने समस्या कम हुन्छ । मेथीको सुक्खा पातसँग मह मिलाएर उमालेको पानी दिनमा दुईपटक पिउनाले पेट पोल्दा आराम मिल्छ । मेथीको रसले वाथनासक औषधिको काम गर्छ ।

सौन्दर्यमा फाइदा
मेथीको सेवनले पेट सफा रहन्छ । यसले छाला स्वस्थ र सफा देखिन्छ । मेथीको सेवनले अनुहारमा दाग, फूस्रो हुने, फूट्ने संभावना कम हुन्छ । मेथीको पात वा मेथीको गेडा पिसेर कपाल धुनाले कपाल चम्किलो र बलियो हुन्छ ।

अदुवा
अदुवाको सेवनले कफ र वायुसम्बन्धि रोग हुँदैन । अदुवाको सेवनले भोक लाग्छ र पाचनशक्ति बलियो बनाउँछ ।

स्वास्थ्यमा फाइदा
अदुवा र पुदिनाको काढा बनाएर पिउनाले ज्वरो हराउँछ । अदुवाको टुक्रा काटेर नून छरेर खाँदा कब्जियतको समस्या हट्छ र भोक लाग्दछ । अदुवाको रसमा मह राखेर चाट्नाले खोकी कम हुन्छ । अदुवा राखेको चिया पिउनाले रुघा लाग्दा आराम मिल्छ । बारम्बार उल्टी भएमा अदुवाको रसमा प्याजको रस मिलाएर पिउनाले उल्टी रोकिन्छ । अदुवा र पुदिनाको रसमा थोरै नून मिलाएर पिउनाले पेटको दुःखाइमा आराम मिल्छ ।

सौन्दर्यमा फाइदा
अदुवाले एन्टीएजिंगको काम गर्छ । अदुवाको सेवनले छाला लामो समयसम्म जवान देखिन्छ । सँधै बिहान खाली पेटमा अदुवा चपाउनाले छाला आकर्षण र सफा देखिन्छ । अदुवाको रस धेरै असरदार हुन्छ । यसलाई अनुहारमा लगाउनाले छाला चम्किलो देखिन्छ ।

लसुन
लसुन एन्टिअक्सिडेन्टको राम्रो श्रोत हो । यो एन्टिब्याक्टेरिएल र एन्टीसेप्टिक भएकाले लसुनको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । सँधै थोरै मात्रामा लसुनको सेवनले व्यक्ति जीवनभर निरोगी रहन मद्धत गर्छ । त्यसैले आयुर्वेदमा लसुनलाई महाऔषधि भनिन्छ ।

स्वास्थ्यमा फाइदा
लसुनको पोटी तेलमा पकाएर छान्ने र दुई थोपा कानमा राख्ने । यसले कान दुःखेको कम हुन्छ । हिस्टिरियाको बेहोसी कम गर्न लसुन पिसेर रोगीलाई सुघाउने । यसले फाइदा गर्छ । ४ ग्राम पिसेको लुनसमा ८ मि.लि. घिउ तथा नून मिलाएर बिहानको समयमा खानाले औलो ज्वरो हराउँछ । लसुन, गेडा नभएको रातो खुर्सानी, काँचो हिंग र कपुरको समान मात्रा मिलाएर धूलो बनाउने ।

यो धूलोलाई कागतिको रस राखी पिस्ने र ठिक्कको दुई गोली बनाउन र आधा आधा घण्टामा एकएक गोली खानाले हैजाबाट मुक्ति मिल्छ । लसुनको केस्रा पिसेर त्यसको रस निकाल्ने । लगातार तीन दिनसम्म रातो डावर आएको ठाउँमा लगाउनाले रातो डावर हराउँछ ।

सौन्दर्यमा फाइदा
एन्टीअक्सीडेन्ट लसुन खानाले छाला राम्रो देखिन्छ । नियमित लसुनको सेवन गर्नाले तपाईंको मात्र होइन तपाईंको छालाको उमेर पनि लामो हुन्छ र छाला जवान देखिन्छ ।

टमाटर
टमारमा निहित गुणले हामीलाई धेरै रोगबाट रक्षा गर्छ । त्यसैले टमाटरलाई आफ्नो दैनिक खानामा सामेल गर्न जरुरी हुन्छ ।

स्वास्थ्यमा फाइदा
महिलाहरुको अनेकौं रोगका लागि टमाटर राम्रो फाइदाकारी हुन्छ । गर्भवती अवस्थामा तथा सुत्केरी पछि शारीरिक शक्ति बढाउन हरेक दिन ४ पटक २० ग्राम टमाटरको रस पिएमा सबै समस्या टाढा हुन्छ । २ सय ग्राम टमाटरको रस बिहान बेलुका पिउनाले मधुमेहमा आराम मिल्छ । शरीरमा रगतको कमी पूरा गर्न नियमित १ सय ग्राम टमाटरको रस वा टमाटरको सलाद खानुपर्छ ।

शारीरिक तौल कम भएका व्यक्तिले सँधै १—२ पाकेको टमाटर खाएमा उसको तौल सजिलै बढ्छ । उल्टीबाट आराम पाउन १ सय ग्राम टमाटरको रसमा २५ ग्राम चिनी, १ ग्राम इलाइजीको धूलो, थोरै मरीच र ल्वाङको धूलो मिलाएर पिउनाले लाभ मिल्छ ।

सौन्दर्य फाइदा
भिटामिन ए र भिटामिन सी ले भरिपूर्ण टमाटरको सेवन गर्नाले अनुहारमा डण्डिफोर आउँदैन र छाला स्वस्थ बनिरहन्छ । टमाटरको नियमति सेवनले छालामा चम्किलोपन आउँछ । अनुहारमा टमाटर काटेर लगाउनाले छालामा निखार आउनुको साथै ब्ल्याक एण्ड ह्वाइट हेड्सको समस्या पनि हराउँछ । अनुहारमा टमाटर लगाउनाले खुला रोम छिद्र बन्द हुन्छन् ।

अंगुर
अंगुरको सेवनले शरीरमा उर्जा मिल्नुका साथै यसमा पाइने खनिज तत्वले स्वास्थ्य र सुन्दरता कायम गर्न निकै मद्दत गरिरहेको हुन्छ ।

स्वास्थ्यमा फाइदा
बच्चालाई स्तनपान गराउने महिलाले सँधै बिहान बेलुका १ सय ग्राम अंगुर खाएमा दूधमा बृद्धि हुन्छ । कब्जियतको कारण टाउको दुख्ने, चक्कर आउने आदि समस्या उत्पन्न हुन्छ । यसबाट मुक्ति पाउन नियमित रुपमा सँधै २५ ग्राम अंगुरको रस पिउनुपर्दछ । २५ ग्राम अंगुर खाने र त्यसपछि आधा लिटर दूध पिउनाले कमजोरी हराउँछ । ५० ग्राम कालो अंगुरलाई रातभरि चिसो पानीमा भिजाइराख्ने र बिहान छान्ने ।

यसमा थोरै जीराको धूरो मिलाएर पिउनाले पिसाबको गर्मी टाढा हुन्छ । अंगुरको बीऊलाई पिसेर धूलो बनाउने । यो धूलो मुखमा राखी एक गिलास दूध पिउनाले पत्थरी पग्लेर बाहिर आँउछ ।

सौन्दर्य फाइदा
नेचुरल स्कीन गार्ड अंगुरले सन ड्यामेजबाट छालाको रक्षा गर्दछ । एन्टी एजिग अंगुरको सेबनले छालाको एजिग प्रोसेस (बढ्दो उमेरको संकेत ) कम हुन्छ जसले लामो समय सम्म छाला जवान देखिन्छ । भिटामिन सी ले भरपुर अंगुर खानाले छाला, कपाल र आखाँ पनि सुन्दर देखिन्छ ।

कागति
कागति खानाले रगत र छाला सम्बन्धी रोग टाढा हुन्छ । कागतिको सेवन स्वास्थ्य, छाला, र कपाल तीन चिजको लागि नै फाइदाजनक हुन्छ ।

स्वास्थ्यमा फाइदा
गर्मीको कारण बेचैनी टाढा गर्न कागतिको रस चिसो पानीमा मिलाएर पिउनुपर्दछ । कागतिको चानामा चिनी लगाएर चुस्नाले उल्टी बन्द हुन्छ । हैजा भएको बेला कागति र प्याजको रस चिसो पानीमा मिलाएर पिउनाले आराम मिल्दछ । रुघा लागेका बेला राति तातो पानीमा कागतिको रस निचोरेर पिउनाले आराम मिल्दछ । दुइ चम्चा कागतिको रस, र एक चम्चा अदुवाको रसमा थोरै चिनी मिलाएर पिउनाले पेट दुखेको ठिक हुन्छ ।

सौन्दर्य फायदा
कागतिको सेवनले भिटामिन सी को पूर्ति हुन्छ र यसले छाला स्वस्थ बनिरहन्छ । अनुहारमा कागतिको रस लगाउनाले दाग हल्का हुन्छ । कागतिको रस कपाल र अनुहारमा लगाउनाले दुवैमा साइनिङ आउँदछ । कपालमा कागतिको रस लगाउनाले चाँया बाट मुक्ति मिल्दछ ।

अमला
अमला भिटामिन सी को स्रोत हो । अमलाले छालालाई स्वस्थ्य बनाउनुको साथै हड्डी पनि मजबुत बनाउँदछ । अमला खानाले भोक बढ्दछ र रगत सफा हुन्छ ।

स्वास्थ्यमा फाइदा
अमलाको चूर्ण नियमित गाइको दूध सँग खानाले आँखाको दृश्य शक्ति बढ्दछ । अमलाको धूलोको लेप टाउकामा लगाउनाले टाउको दुखेको बेला आराम मिल्दछ । नियमित रुपले अमलाको मुरब्बा खानाले स्मरणशक्ति बढ्दछ । चोट लागेर रगत बगेको ठाउँमा ताजा अमलाको रस लगाएमा रगत बग्न बन्द हुन्छ । अमलाको रसमा चन्दनको धूलो मिलाएर महको साथ चाट्नाले उल्टी बन्द हुन्छ ।

सौन्दर्य फाइदा
अमला छालाको लागि मात्र हैन कपालको लागिपनि फायदाजनक हुन्छ । अमला खानाले छाला चम्किलो हुनुको साथै कपाल बाक्लो, लामो र बलियो हुन्छ । अनुहारमा अमला पाउडर लगाउनाले छाला सफा हुन्छ र चमक आउँदछ ।

प्रतिक्रिया दिनुहोस्