Logo
|
Friday 29th March 2024
Logo

epaper

बालबालिकामा एलर्जी दम : कारण, लक्षण, जोखिम, पहिचान र उपचार



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वव्यापी रुपमा बालबालिकाहरुमा एलर्जी दमको समस्या बढ्दो गतिमा छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकका मानिसहरुलाई एजर्ली दमबारे राम्रो ज्ञान छैन । करिब ९० प्रतिशत बालबालिकालाई एलर्जेनका कारण दम हुने गर्दछ । यसलाई मेडिकल भाषामा एलर्जी ट्रिगर अस्थमा भनिन्छ । एलर्जेन एकप्रकारको तत्व हो जुन मानव शरीरको सम्पर्कमा आउँदा शरीरले अवान्छित असर वा प्रतिक्रिया देखाउँछ ।

एलर्जेनमा विशेषत प्रोटिनेस पदार्थहरू हुने भएकाले शरीरको सम्पर्कमा आउँदा प्रतिक्रिया देखाउनसक्छ । जस्तोः नाकमा रियाक्सन देखिएमा एलर्जिक राइनाइटिस, छातीमा सुजन भएमा दम, छालामा प्रतिक्रिया भएमा डर्माटाइटिस, खानामा एलर्जी भएमा पाचन प्रक्रिया वा छालामा समस्या आदि ।

एलर्जी दमको कारण
एलर्जी भएको बालबालिकामा पारिवारिक वंशाणुगत इतिहास जोडिएको हुन्छ । बुवा, आमा वा आफन्त नातेदारमा एलर्जी भएमा बालबालिकाहरुमा पनि एलर्जी दम आउनसक्छ । बालबालिकाहरुको लागि वातावरणीय प्रदूषण, पश्चिमा जीवनशैली र अस्वस्थ्यकर खानपान, धूम्रपान आदिको सम्पर्कले एलर्जीको जोखिम बढाइरहेको हुन्छ । यसरी एलर्जी हुनुको विशेष कारण वंशाणुगत र वातावरणीय फ्याक्टर बीचको सम्बन्धलाई लिने गरिएको छ । परिवारका कुनै सदस्यलाई दम भएमा सन्तानलाई पनि हुनसक्ने सम्भावना रहन्छ । जस्तोः आमालाई दमको समस्या भएमा बच्चालाई ३०—५० प्रतिशत हुनसक्छ । यदि आमाबुबा दुवैलाई दम भएमा छोराछोरीमा ७०–८० प्रतिशत दमको लक्षण देखिन सक्छ ।

बच्चा गर्भमा रहेको बेला आमाको तनावपूर्ण जीवनशैली, मिति हेरेर गराइने सिजरियन सेक्सन (नर्मल भेजाइनल डेलिभरिभन्दा जोखिम हुन्छ) फरमुला फिडिङ, घरभित्र र बाहिरको वातावरणीय प्रदूषण, धुम्रपानको सम्पर्क आदिले बालबालिकाहरुमा दमको जोखिम बढाइरहेको छ ।

महिना नपुगी जन्मिएका बच्चाहरु दमको उच्च जोखिममा हुन्छन् । बच्चा जन्मिएको पहिलो वर्ष बारम्बार भाइरल इन्फेक्सन भएमा विशेषरी रेस्पिरेटरी सिन्सेटियल भाइरस (RSV), मेटान्युमोभाइरस (Metapneumo Virus) र राइनोभाइरस (Rhino Virus) को संक्रमण भएमा एलर्जी नभएपनि दम हुने सम्भावना रहने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

एलर्जी दमको लक्षण
लामो समयसम्म खोकी लागिरहने, प्रायः रातको समयमा धेरै खोकी लाग्ने, छाती चुइचुइ बजेको जस्तो सुनिने, छाति घ्यारघ्यार हुने, खेल्दा वा दौडदा छिटो थकान महशुस गर्ने वा थाक्ने हुनसक्छ । बल्झिरहने लक्षण प्रायः दमको हुनसक्छ ।


एलर्जी दमको जोखिम
यदि दम शुरु भएको पहिलो दुई वर्षमा उपचार शुरु नगरेमा श्वास फेर्ने नलीमा आउनसक्ने समस्याका कारण बालबालिकालाई पूर्व अवस्थामा फर्काउन निकै गाह्रो पर्छ ।

बाल्यावस्थामा राम्रो डायग्नोसिस भएर उपचार नपाएमा पछि सिओपिडी दममा परिणत हुने अनुसन्धानहरुले देखाएका छन् । दमको लक्षण पाँच वर्ष मुनिका बच्चाहरुमा शुरु भइसकेको हुन्छ । स्वास फेर्ने नलीको विकास हुँदै गर्दा र रोग विरुद्धको क्षमता बढ्दै जाँदा लक्षणहरु कम हुँदै जान्छन् । तर पहिला राम्रो उपचार नपाएकाहरुमा उमेर ढल्किदै गएपछि पुन देखिन सक्ने सम्भावना उच्च हुन्छ ।

अस्थमा उपचार नभएका बालबालिकाहरुमा कुनै पनि बेला अस्थमा एट्याक आउनसक्छ । एट्याक आउँदा श्वास फेर्ने नली खुम्चिने गर्छ । यसले श्वास फेर्न गाह्रो, शरीरमा अक्सिजनको कमीका कारण बेहोस हुने वा ज्यानै जान सक्ने सम्भावना हुन्छ ।

एलर्जी दमको पहिचान
एक वर्षदेखि नै दमको डायग्नोसिस गर्न सकिन्छ । यदि एक वर्ष भन्दा कम भएमा अन्य रोगको लक्षण छुट्याएर दम भएनभएको पहिचान गर्नुपर्छ । पाँच वर्ष वा त्यो भन्दा माथिका बालबालिकालाई पल्मोनरी फंसङ टेस्ट र स्पाइरोमेट्री टेष्ट गर्न सकिन्छ । विज्ञान र प्रविधिको विकाससँगै दम रोग पहिचानका लागि अन्य जाँचको सुविधा पनि उपलब्ध भएकाले शुरुको अवस्थामा दम छुट््याउन सकिन्छ । एलर्जिक
उपचार हुन किन जरुरी छ ?
प्रायः बालबालिकाहरुमा स्याँस्याँ वा घ्यारघ्यार हुँदा वाफ लगाइदिने वा वाफमा पाइने औषधि कफसेरपको रुपमा खुवाउने गरिन्छ । तर भित्रको सुजनलाई ख्याल गरिदैन । यसले बारम्बार स्याँस्याँ वा घ्यारघ्यार हुने समस्या बल्झिन सक्छ । कहिलेकाँही दमले एक्कासी आक्रमण गरेर अस्पताल भर्ना भएर आइसियूमा राख्नुपर्ने अवस्थासमेत आउन सक्छ ।

एलर्जी दमको बाल्यावस्थामा उपचार भएमा यसको वृद्धिलाई रोक्न मद्धत गर्छ र सिओपिडीबाट पनि बचाउन सकिन्छ । अस्थमा एलर्जी एक्युट रोग होइन । यो दीर्घ रोग हो । दीर्घ रोगको उपचार अलि लामो समय गर्नुपर्ने भएकाले विशेषज्ञ डाक्टरसँग दीर्घकालीन उपचार गराउनुपर्छ ।

दम भएपछि श्वास फेर्ने नली सुन्निने कारण भाइरल इन्फेक्सन, वातावरण प्रदूषण, तापक्रम परिवर्तन वा एलर्जेन सम्पर्कमा आएमा श्वासनलीको नरम मांशपेशी खुम्चिन थाल्छ । यो बेला सालव्युटामोल नामक औषधि दिइन्छ । यो नेबुलाइजर मेसिन वा पफको माध्यमबाट दिइन्छ । यो औषधिले श्वासनलीको नरम मांशपेशीलाई रिल्याक्स गराउन मद्धत गर्छ । यसले केहि क्षणलाई सिम्टम्याटिक राहत मिल्छ । त्यसैगरी इन्हेल्ड स्टेरोइड (बुडीसोनाइड स्टेरोइड) ले श्वासनली भित्रको सुजनलाई कम गर्न मद्धत गर्छ ।
(डा. गौतम हाल नेशनल आस्थमा एलर्जी सेन्टर लाजिम्पाट र मैत्रीबाल अस्पतालमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्