Logo
|
Friday 29th March 2024
Logo

epaper

इन्टरभेन्सनल दुखाइ व्यवस्थापन



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।‘१२ वर्षदेखि दाहिने खुट्टा दुख्थ्यो । गोडा झमझम गर्दथ्यो । हिँडडुल गर्न निकै गाह्रो हुन्थ्यो । पेन किलर खान्थेँ । केही समयको फिजियोथेरापी र आरामले दुखाइ कम हुन्थ्यो । ग्याँस्ट्रोइन्टेरोलोजिष्ट डाक्टर भएकाले बीर अस्पतालको सर्जरी कक्षमा इआरसिपी र इन्टेरेस्कोपी गर्दा एउटै पोजिसनमा घण्टौँ समय बित्थ्यो । मलाई साइटिका भएको रहेछ । यो एक प्रकारको ढाडको नशा च्यापिने समस्या हो ।

डेढ वर्षअघितिर ड्युटी सकेर घर फर्किने क्रममा एक्कासी असह्य पीडा भयो । यताउती गोडा चलाउन सकिनँ । राती ह्वील चेयरमा सिभिल अस्पताल पुगेँ । यो बेला साइटिका नर्भ कम्प्रेस समस्या पहिचान भयो । ‘साइटिका’ शरीरको सबैभन्दा ठूलो स्नायू हो । यो कम्मरको तल्लो भाग हुँदै गोडासम्म पुगेको हुन्छ ।

अस्पतालका वरिष्ठ पेन विशेषज्ञ डा.अनुजजंग रायमाझीसँग उपचार गराएँ । उहाँले सिम्प्याथेटिक ब्लक इन्जेक्सनबाट उपचार शुरु गर्नुभयो । करिब ७५ प्रतिशत दुखाइ कम भएपछि घर फर्किएँ । दु्इ हप्तापछि सेलेक्टिभ नर्भ रुट ब्लक इजेक्सन दिनुभयो । अहिले मलाई करिब ९० प्रतिशत दुखाई कम भएको छ । नियमित शारीरिक अभ्यास र फिजियोथेरापी गर्छु ।’

बढ्दो उमेर, मोटोपना, विलासी जीवनशैली, व्यायाम नगर्ने, गह्रौ भारी उचाल्ने, बस्ने पोजिसन नमिल्ने, कठिन सवारी, शरीरमा क्याल्सियम र भिटामिनको कमी आदि कारणले दीर्घकालीन ढाड दुखाईको समस्या बढाइरहेको पाइन्छ ।

मेरुदण्डको हड्डी (भटेब्रा) को बीचमा डिस्क हुन्छ । कुनै कारणवस हड्डी थिचिँदा वा खिइँदै जाँदा दवाव परी डिस्क उछिटिएर बाहिर निस्किनसक्छ । यसले मेरुदण्ड हुँदै जाने स–साना नशालाई च्यापेर दुखाई उत्पन्न गराउनसक्छ । कहिलेकाहीँ ढाडको तल्लो भाग हुँदै गोडासम्म सायटिका हुनसक्छ । कुर्सीमा बस्दा ढाडको स्थिति नमिलेर मेरुदण्डको मांशपेसी कमजोर हुनसक्छ । यसरी रोग, संक्रमण र चोटपटकले हुने ढाड दुखाइ शल्यक्रिया उपचारबाट निको पार्न सकिन्छ । तर दीर्घकालीन ढाड दुखाइ पूर्ण निको पार्न कठिनाइ हुनसक्छ । यसका लागि इन्टरभेन्सनल दुखाई व्यवस्थापनको भूमिका महत्वपूर्ण हुन्छ ।

इन्टरभेन्सनल दुखाइ व्यवस्थापन
दीर्घकालीन दुखाइ व्यवस्थापन गर्ने नयाँ थप पद्धतिलाई इन्टरभेन्सनल दुखाई व्यवस्थापन भनिन्छ । यो विशेषगरी ढाड, जोर्नी दुखाइ र नशा च्यापिने समस्यामा निकै प्रभावकारी प्रमाणित हुँदै आएको छ । यसमा बिना शल्यक्रिया सुइको मद्धतबाट दुखाइ व्यवस्थापन गरिन्छ ।

विगतमा औषधि र शारीरिक अभ्यासबाट निको नभएको अवस्थामा शल्यक्रिया मात्र विकल्प थियो भने अब सानो इन्जेक्सनको माध्यमबाट धेरै हदसम्म शल्यक्रिया नगरी सञ्चो गराउन सकिन्छ ।


संसारभर नै दीर्घकालीन दुखाइ व्यवस्थापन प्रभावकारी मानिएको छ । यसले करिब ७०—८० प्रतिशत बिरामीलाई फाइदा पुगेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

न्युरोप्याथिक र अन्य दुखाइमा के फरक छ ?
विभिन्न प्राथमिक औषधिहरुबाट निको नभएको खण्डमा यो न्युरोप्याथिक दुखाइमा परिणत हुन्छ । यसको विकल्प दुखाइ व्यवस्थापन नै हो ।

रिकभरी दर
सुइ लगाएपछि ७० देखि ८० प्रतिशत दुखाइ कम हुन्छ भने बाँकी फिजियोथेरापीको माध्यमबाट क्रमशः न्यूनिकरण गर्न सकिन्छ । यस उपचारले व्यक्तिको गुणस्तरीय जीवनयापनमा मद्धत गर्छ ।

शल्यक्रिया गर्नुनपर्ने अवस्था
यदि दिशा पिसाव नियन्त्रण नहुने र खुट्टा नचल्नेजस्ता जटिल लक्षण देखिएमा चिकित्सकको परामर्शमा तुरुन्तै शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । समयमै उपचार गर्दा नशामा अक्सिजन आपूर्ति बन्द हुन पाउँदैन । यसले प्यारालाईसिस हुनबाट जोगाउँछ ।

उपचार कत्तिको महँगो पर्छ ?
दुखाइ व्यवस्थापनमा प्रयोग हुने सुइको प्रतिमात्राको मूल्य सरकारीमा पाँच हजार र निजीमा अधिकतम करिब १५ हजारसम्म लिने गरेको पाइएको छ ।

खानपान र जीवनशैली
धुम्रपान र मद्यपान हानिकारक हुन्छ । प्रशस्त पानी, भिटामिनयुक्त सन्तुलित आहार खानुपर्छ । फलफूल खानुका साथै प्रोटिन, फाइबर र भिटामिन भएका खानेकुरामा जोड दिनुपर्छ । (डा. रायमाझी सिभिल सर्भिस हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्