Logo
|
Thursday 28th March 2024
Logo

epaper

अनाधिकृत व्यक्तिबाट भिडियो एक्स–रे सेवा नलिन रेडियोलोजिष्ट एशोसियसनको आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल रेडियोलोजिष्ट एशोसियसनले अनाधिकृत व्यक्तिबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) लगायतका रेडियोलोजी सम्बन्धी सेवा नलिन सर्वसाधारणलाई आग्रह गरेको छ ।


हाल नेपालमा सोनोलोजिष्ट भनेर केही गैर व्यक्तिले गैर कानूनी रुपमा भिडियो एक्स–रे गर्ने गरेकाले बिरामी, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी समेत यस्ता व्यक्तिको चंगुलमा परी सेवा लिने, बिरामीलाई गैर कानूनी व्यत्तिसँग भिडियो एक्स–रे गर्न पठाउने र यस्ता व्यक्तिलाई अन्जानमा सेवामा लगाउने गरेको जनगुनासो आएपछि एशोसियसनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।


अनाधिकृत रुपमा बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारवाही गर्न एसोसिएसनले माग गरेको छ । नेपाल स्वास्थ्य संस्था संचालनसम्बन्धी मापदण्ड २०७७ को पनि बर्खिलाफ हुने हुँदा सो कार्यलाई निरुत्साहित गर्न र आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई एसोसियसनले आग्रह गरेको छ ।


रेडियोलोजिष्टमार्फत प्रदान हुनुपर्ने विशेषज्ञ सेवा अनाधिकृत रुपमा प्रवाह भएकाले त्यसलाई तत्काल रोक्नुपर्ने संघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष डा. तेजेन्द्र कार्कीले बताउनुभयो ।

उहाँका अनुसार यसअघि नै एसोसिएसनको स्वास्थ्य तथा जनसंख्या मन्त्रीलगायतलाई ज्ञापन पत्र बुझाइ सकिएपनि कार्यान्वयन भएको छैन ।

बिरामीले बुझनुपर्ने कुरा

–भिडियो (एक्स रे) अल्ट्रा साउण्ड गराउनु अगाडि सो व्यक्तिलाई कानुनी अधिकार छ कि छैन भनेर थाहा पाउनुपर्छ । यदि बिरामीलाई दिइने रिपोर्टमा सोनोलोजिष्ट भनेर लेखेको छ भने भिडियो एक्स रे गर्ने व्यक्ति कानूनी रुपमा नेपालको कुनै आधिकारिक निकायमा छैन भन्ने बुझिन्छ ।

–नेपालमा भिडियो एक्स रे अल्ट्रासाउण्ड सम्बन्धी कानुनी रिपोर्ट रेडियोलोजिमा एमडी तथा डिएमआरडि गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सकले मात्र जारी गर्ने अधिकार हुन्छ ।

–सोनोलोनिष्ट भनेर कुनै व्यक्ति तपाईको स्वास्थ्य संस्थामा काम माग्न आउँछ भने त्यस व्यक्तिको वास्तविक योग्यता र सो सम्बन्धी काम गर्न नेपाल मेडिकल काउन्सिलले इजाजत दिएनदिएको बारे जानकारी अनिवार्य रुपमा ख्याल गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्