स्वास्थ्य विमा कार्यक्रमलाई थप व्यवस्थित बनाइने

जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य विमालाई थप व्यवस्थित बनाइने बताउनुभएको छ ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खापुङले नागरिकले स्वास्थ्य बीमा गरिसकेपछि सहज र सरल रुपमा भुक्तानी पाउनुपर्ने भन्नुहुँदै बीमाको क्षेत्रमा त्रुटि भए सच्याउन सरकार तयार रहेको जानकारी गराउनुभयो ।
हाल नेपालमा कोरोना खोपको अभाव नरहेको जानकारी दिनुहुँदै उहाँले खोप कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारले थप सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पछिल्लो समय कोरोना भाइरस संक्रमण दर बढेको भए पनि अस्पताल भर्ना हुने दर भने नबढेको जानकारी गराउनुभयो ।
साउन १ गतेदेखि कोभिड कालमा करारमा लिएका कर्मचारीको करार नवीकरण नगरेको जानकारी गराउँदै कोरोना भाइरस संक्रमण दर उकालो लाग्दै गयो भने व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको सचिव पोखरेलले बताउनुभयो ।
बैठकमा सांसदहरु गिरिराजमणि पोखरेल, योगेश भट्टराई, सरिता न्यौपाने, अञ्जना विशंखे, सुरेन्द्र यादव र नबिना लामाले स्वास्थ्यजन्य सामानको खरिद प्रकृयालाई सहज बनाउन खरिद ऐनलाई संशोधन गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँहरूले कोरोना खोपको पहुँच सबै नागरिकमा नपुगेको भन्नुहुँदै सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।