एलर्जिक समस्यामा कोभिड—१९ विरुद्धको खोप लगाउन मिल्छ कि मिल्दैन ?
के तपाईलाई एलर्जीक समस्या छ ? यदि एलर्जिक समस्या भएका बालबालिका र अन्य मानिसहरूका लागि कोभिड १९ विरुद्धका खोपहरू लगाउन मिल्ने नमिल्नेबारे सम्बन्धित चिकित्सकसँग राय लिन जरुरी हुन्छ ।

पेडियाट्रिक अस्थ्मा एलर्जी इम्मुनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल (पेआप्सन) ले जारी गरेको सूचनामा सो कुरा उल्लेख गरिएको छ ।
अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोलले खोप वा इन्जेक्टेबल औषधिहरू सम्बन्धित नभएको गम्भीर एलर्जी (जस्तै—खाना, घरपालुवा जनावर, भेनोम, वातावरणीय वा लेटेक्स) इतिहास भए पनि खोप लगाउन सिफारिस गरेको छ । विगतमा खाने औषधिहरूको एलर्जी भएका वा गम्भीर एलर्जीको पारिवारिक इतिहास भएकाहरूलाई कोभिड १९ विरुद्धको खोप लगाउन सकिने पेडियाट्रिक अस्थ्मा एलर्जी इम्मुनोलोजी प्राक्टिसनर्स सोसाइटी अफ नेपाल (पेआप्सन) का अध्यक्ष एवं वाल एलर्जी विशेषज्ञ डा. महेश गौतम बताउनुहुन्छ ।
यदि विगतमा अर्को रोगका लागि खोप वा इन्जेक्टेबल थेरापी सेवा लिँदा गम्भीर नभए पनि तत्काल एलर्जी हुने गरेको इतिहास भएमा कोभिड १९ खोप लगाउन पूर्व चिकित्सकलाई सोध्न जरुरी हुन्छ । यसले खोप लगाउन सुरक्षित भएनभएकोबारे उचित सल्लाह प्राप्त गर्न सकिनेछ ।
यदि तपाईंलाई विगतमा कोभिड १९ खोप लगाउँदा ४ घण्टाभित्र एलर्जी भएको थियो तर गम्भीर प्रकृतिको नभएको अवस्थामा निश्चित रुपमा सोही खोपको अर्को मात्रा लगाउन सकिन्छ । यस्तो अवस्थामा तपाईंले थप हेरचाह र सल्लाहको लागि एलर्जी र इम्युनोलोजी विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ ।
तपाईले लगाउको कोभिड १९ विरुद्ध खोपको कुनै तत्वको पहिले गम्भीर एलर्जी भएको थियो भने त्यहि खोप फेरि लगाउन मिल्दैन वा सुरक्षित नहुने डा. गौतमले स्पष्ट पार्नुभएको छ । जस्तैः तपाईलाई एमआरएनए÷कोभिड १९ मध्ये कुनै तत्वको एलर्जी भएमा हाल उपलब्ध एमआरएनए÷कोभिड १९ विरुद्धका फाइजर वायोएनटेक एवं मोडर्ना जस्ता कुनै पनि खोप लगाउन हुँदैन । यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा आवश्यक खोपको विकल्प खोज्न जरुरी हुन्छ ।