Logo
|
Saturday 20th April 2024
Logo

epaper

रुपन्देहीमा डेंगुका बिरामीहरू बढ्दै  



जनस्वास्थ्य सरोकार, रुपन्देही । रुपन्देहीमा एक महिना यता डेंगुका बिरामीहरू बढ्दै गएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल, सैनामैना, देवदह, भैरहवा र तिलोत्तमामा डेंगुका बिरामीहरू बढेका छन् ।

यहाँका सरकारी तथा निजी अस्पतालमा यो रोग लागेका बिरामीहरूले भरिएका छन् । यी मध्ये धेरै गम्भीर प्रकृतिका बिरामीहरूलाई चितवन तथा काठमाडौँ पठाइएको छ ।

लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सचेतना, यसको लार्भा खोज र नष्ट गर भन्ने अभियान विगतमा गरिए पनि अहिले पालिकाहरूले प्रभावकारी रुपमा यसलाई सञ्चालन गरेको नदेखिएको स्वास्थ्यकर्मी कमल ज्ञवालीले बताउनुभयो ।

रुपन्देहीका हरेक ल्याबहरूमा अहिले डेंगुका लक्षण देखिएका बिरामीको परीक्षण गर्ने भीड लागेको छ तर यसका बिरामी कति बढे भन्ने आधिकारिक तथ्याङ्क राख्ने कुनै संयन्त्र बलियो छैन ।

स्वास्थ्यकर्मी ज्ञवालीका अनुसार डेंगुका लक्षण देखिएर परीक्षण गराएका र यसको उपचार गराएको सङ्ख्या निकै ठूलो छ तर सरकारी अस्पतालमै यसको तथ्याङ्क सबै नभए पनि निजी अस्पताल र क्लिनिकमा उपचार भएको एकिन तथ्याङ्क आउन सम्भव नै छैन ।

लुम्बिनी प्रादेशिक अस्पतालको तथ्यांकअनुसार केही दिनयता एक सय २२ जनामा डेंगु रोग देखिएको छ । जाँच गराएका मध्ये ८ सय ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण भएकामध्ये दश जनाभन्दा बढी रक्तकोषिका कम भएका बिरामीहरू अस्पतालमा भर्ना भई उपचाररत छन् ।

वर्षात र गर्मी मौसम, बुटवलको मुख्य सडकसहित भित्री सडकहरू विस्तार हुँदा खाल्डोमा सङ्कलन भएको फोहोर पानी र लामखुट्टे निराकरणसम्बन्धी सचेतनामुलक कार्यक्रमहरू नहुँदा डेंगुका बिरामीहरू बढ्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकृत डा।नेत्र रानाले बताउनुभयो ।

“डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रमको कमी भएको पाइएको छ”, उहाँले भन्नुभयो, “सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्छ, दिनदिनै यसका बिरामीको चाप बढेको छ ।”

उहाँले स्थानीय सरकारले किटानासक झुल वितरण कार्यक्रम गर्नुपर्ने र सचेतना बढाउनुपर्ने बताउनुभयो ।

टोल समितिमार्फत वडाका बस्ती बस्तीमा डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनसङ्ख्या महाशाखा प्रमुख मित्रमणी खनालले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले कार्यालयसँग बजेट धेरै नभएकाले सचेतनाका कार्यक्रम धेरै गर्न नपाएको तर सबै स्थानीय सरकारलाई यस बारेमा सचेतना गराई कार्यक्रम गर्नका लागि आग्रह गरिएको बताउनुभयो ।

“अहिले हामीसँग बजेट नै हुँदैन, समन्वय गर्ने काम गरिरहेका छौँ, प्राविधिक पक्षबाट गर्ने काम हामी गर्छौ तत्काल सचेतना र लामखुट्टेको खोजी तथा नष्ट अभियान चलाउने भनेर सबैलाई तयारी गर्न भनेका छौँ ।” उहाँले भन्नुभयो, “अहिले डेंगुको बढी हुने समय हो, यो समयमा सबै सचेत हुनुपर्दछ । ”

प्रतिक्रिया दिनुहोस्