Logo
|
Tuesday 16th April 2024
Logo

epaper

बालबालिकालाई भदौ ५ देखि कोभिड खोप



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ५० जिल्लाका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई आउँदो भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । 

सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७ जिल्लाका सो उमेर समूहका बालबालिकालाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा गण्डकी प्रदेशका कास्की, नवलपुरसहित धेरै जनघनत्व भएका जिल्ला र ठूला सहर केन्द्रित गरेर खोप अभियान चलाइएको हो । ती जिल्लाका बालबालिकाले खोपको दोस्रो मात्रासमेत पाइसकेका छन् ।

स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार जिल्लामा रहेका सो उमेर समूहका झण्डै ५० हजार बालबालिकालाई फाइजर खोप दिइनेछ । “सुइँ आइसकेको छ, खोप यही २५ गतेपछि आउँछ”, उहाँले भन्नुभयो, “बालबालिकालाई विद्यालयमै तोकिएका खोप केन्द्रबाट खोप दिइन्छ ।” 

उहाँले बर्सातका कारण खोप ढुवानी र अरू व्यवस्थापकीय तयारीमा बाधा नपरे मन्त्रालयले ताकेकै दिनबाट खोप अभियान सञ्चालन हुने बताउनुभयो । दोस्रो चरणअन्तर्गत भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप बालबालिकालाई दिइनेछ ।

स्वास्थ्य कार्यालयले त्यसअघि यही साउनभित्रमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोपको थप मात्रा (बुस्टर) दिने तयारी थालेको छ । जिल्लाको बागलुङ, जैमिनी, गलकोट नगरपालिका, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका सो उमेर समूहका बालबालिकालाई साउन २० र २१ गते खोपको थप मात्रा दिइनेछ ।

यस्तै ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाका बालबालिकालाई साउन २५ र २६ गते खोपको थप मात्रा दिइने खोप सुपरभाइजर खत्रीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि व्यवस्थापकीय तयारीका काम अघि बढेको बताउनुभयो ।

बर्सातका कारण यातायात सहज नहुँदा गाउँगाउँमा खोप ढुवानी गर्न र सुरक्षित भण्डारणका लागि चुनौती थपिएको उहाँको भनाइ छ । कोभिड–१९ को सम्भावित नयाँ लहरको जोखिमबाट बचाउन पनि बालबालिकालाई छिटो खोप दिनुपर्ने स्थिति छ ।

हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट जोगिएका र खोप नपाएका बालबालिका नयाँ भेरियन्टको जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन् । कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाको सहयोगमा नेपाल आएको फाइजर खोप बालबालिकालाई दिन लागिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्