Logo
|
Wednesday 24th April 2024
Logo

epaper

तनहुँमा भाइरल ज्वरोका बिरामी बढ्न थाले



जनस्वास्थ्य सरोकार, तनहुँ । तनहुँका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामी मध्ये भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्न थालेको छ । 

उपचारका लागि जिल्लाको दमौली अस्पतालमा दैनिक २ सय ५० देखि ३ सयको हाराहारीमा बिरामी आउने गरेका छन् ।

दमौली अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३० देखि ४० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेका छन् । 

अस्पताल मेडिकल सुपरिटेण्डेन्ट डा. दिवस ढकालले मौसममा आएको परिवर्तनसँगै ज्वरो, रुघा, खोकी देखिएर आउने बिरामीको सङ्ख्या बढी रहेको बताउनुभयो ।

उहाँका अनुसार कोभिडको जस्तो लक्षण देखिएका बिरामीको सङ्ख्या पनि वृद्धि भएको छ ।  ज्वरोका बिरामी बढ्दै गएपछि चिकित्सकहरूले डेंगु, कोरोना लगायतका रोगको परिक्षण समेत गर्ने गरेका छन् । 

अस्पतालमा उच्च ज्वरो भएका बिरामीको एन्टिजेन परिक्षण गर्ने र कोभिडको लक्षण देखिए व्यास नगरपालिकाले स्थापना गरेको ल्याबमा पिसिआर टेष्ट समेत गर्न पठाइने गरेको डा.ढकालले बताउनुभयो ।

उहाँका अनुसार आएका बिरामीहरू मध्ये डेंगु, कोरोनाका बिरामी भेटिएकाले उच्च सावधानी अपनाउनुपर्ने देखिन्छ ।

भाइरल ज्वरोबाट बच्न चिसो खानेकुरा नखाने, रुघा, खोकी लागेका बिरामीको समीपमा नजाने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, साबुन पानीले नियमित हात धुने, पानी तताएर मात्रै खाने, लामखुट्टेको टोकाईबाट जोगिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्