Logo
|
Friday 3rd May 2024
Logo

epaper

चीनमा भेटियो नयाँ हेनिपाभाइरस , ३५ जना बढी सङ्क्रमित



जनस्वास्थ्य सरेकार, काठमाडौँ । पूर्वी चीनमा केही दर्जन मानिसहरूलाई सङ्क्रमित गरिसकेको जनावरबाट सर्ने नयाँ भाइरसको वैज्ञानिकहरूले निगरानी गरिरहेका छन्। चीनको हेनान र साङ्दोङ प्रान्तमा नोवल लाङ्ग्या हेनिपाभाइरस (लेभी) बाट ३५ जना सङ्क्रमित भइसकेका बताइएको छ।

सङ्क्रमित धेरैलाई ज्वरो, थकान र खोकीजस्ता लक्षण देखिएको छ। यो भाइरस जनावरबाट मानिसमा सरेको ठानिएको छ। तर लाङ्ग्या भाइरस मानिसबाट मानिसमा सर्ने कुरा पुष्टि भइसकेको छैन। अनुसन्धानकर्ताहरूले यो भाइरस छुचुन्द्रो प्रजातिको एक जनावरमा रहने गरेको पत्ता लगाएका छन्।

चीन, सिङ्‌गापुर र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा यसै महिना प्रकाशित गरेको लेखमा यो अन्वेषणबारे चर्चा गरिएको छ।

अनुसन्धानकर्तामध्येका एक सिङ्‌गापुरको ड्युक(एनयूएस मेडिकल स्कुलका वाङ लिन्फाले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग यो भाइरस घातक वा गम्भीर नभएको र यसबाट आत्तिनुपर्ने अवस्था नभएको बताएका छन्।

यद्यपि प्रकृतिमा रहने कतिपय भाइरसले मानवलाई सङ्क्रमित गरेपछि अकल्पनीय परिणाम आउने गरेको भन्दै वाङले यसबाट सजग रहनुपर्ने बताएका छन्।

वैज्ञानिकहरूले परीक्षण गरेकामध्ये २७ प्रतिशत श्रु भनिने छुचुन्द्रो प्रजातिको जनावरमा यो भाइरस पाइएको थियो। परीक्षणबाट यो जनावर यस्तो भाइरसको प्राकृतिक भण्डारू रहेको देखिएको थियो। परीक्षण गरिएकामध्ये पाँच प्रतिशत कुकुर र दुई प्रतिशत बाख्रामा पनि यो भाइरस पाइएको थियो।

ताइवानको सेन्टर फर डिजिज कन्ट्रोलले आइतवार यो भाइरसको विकासक्रम नजिकबाट नियालिरहेको जनाएको थियो।

लेभी जुनोटिक भाइरस भएको र हेनिपाभाइरसकै एक प्रकार भएकाले यो जनावरहरूबाट मानिसमा सर्न सक्ने बताइएको छ।

जुनोटिक भाइरसहरू सामान्य भए पनि कोभिड महामारीपछि यस्ता भाइरसहरूले धेरै ध्यान खिचेको छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले मानिसहरूमा देखा पर्ने हरेक नयाँ चार सङ्क्रमणमध्ये तीन वटा जनावरबाट सर्ने गरेको बताएको छ।

वन्यजन्तुको बढ्दो शोषण र जलवायु परिवर्तनका कारण थप यस्ता रोगहरू देखा पर्ने भन्दै संयुक्त राष्ट्रसङ्घले यसअघि सचेत गराएको थियो।

कतिपय जुनोटिक भाइरसहरू मानव जातिका लागि घातक हुन सक्छन्। यस्ता घातक भाइरसमा निपाह भाइरस पनि एक हो। एशियाली देशहरूमा यसले जनावर र मानिसहरूमा समय समयमा महामारीको रूप लिने गरेको छ। अस्ट्रेलियामा सबैभन्दा पहिले घोडामा पाइएको हेन्द्रा भाइरस पनि मानिसहरूका लागि घातक रहेको पाइएको थियो।

यस्तै प्रकृतिका अन्य हेनिपाभाइरसहरू पनि श्रु, चमेरा र लोखर्के प्रजातिका जनावरमा पाइएको छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्