Logo
|
Wednesday 24th April 2024
Logo

epaper

विश्व स्वास्थ्य सङ्गठनद्धारा मङ्कीपक्सको नयाँ भेरियन्टको नामकरण



नेपाल हेल्थ न्युज, जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नुपरेको अधिकारीहरुको भनाइ छ ।

सांस्कृतिक तथा सामाजिक कारणले मङ्कीपक्सलाई बेवास्ता गरिएको र यसको असर विश्वभरि बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ । विज्ञहरुको एउटा समूहले अध्ययन तथा अनुसन्धान गरेर दिएको सिफारिसका आधारमा डब्लुएचओले मङ्कीपक्सको बारेमा निर्णय गरेको हो ।

विज्ञहरूको सिफारिस अनुसार नयाँ भेरियन्ट पनि धेरै प्रकारका रहेको र तीमध्ये केही मुख्य भेरियन्टको नाम कङ्गो बेसिन क्लेड, क्लेड वान, क्लेड टु, क्लेड टुए र क्लेड टुबी रहेको जनाइएको छ । फैलिएको ठाउँका आधारमा यसको भेरियन्ट फरक–फरक भएको र नाम पनि त्यही अनुसार फरक–फरक राखिएको विज्ञहरुको टोलीले जनाएको छ ।

मङ्कीपक्सको नामकरण भने यसको पहिलो पटक पुष्टि भएको बेला सन् १९५८ मै गरिएको थियो । अहिले त्यसको परिवर्तित स्वरुप फैलिदै गएको विज्ञहरुले बताएका छन् ।

मङ्कीपक्स नयाँ नयाँ भेरियन्टका साथ विश्वका धेरै देशमा फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले पनि सार्वजनिक स्वास्थ्यको चुनौतीको रुपमा यसलाई घोषणा गरेको छ । मङ्कीपक्स अहिलेसम्म विश्वका ८९ देशमा फैलिएको, केहीको मृत्यु भएको र हजारौँ सङ्क्रमित भएका सङ्गठनले जनाएको छ । रासस /सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्