Logo
|
Saturday 20th April 2024
Logo

epaper

पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाद्धारा सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने जिकिर



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताउनुभएको छ । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यक्रममा शनिबार बोल्नुहुँदै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।

महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गर्नुभयो ।

स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बीमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको उहाँको भनाइ छ ।

नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने धारणा महामन्त्री थापाको छ ।

उहाँले सकरारले स्वास्थ्यमा हुने खर्च घटाउने गरेर स्वास्थ्य प्रणालीका संरचनाहरु निर्माण गर्नुपर्ने बताउनुभयो ।

सरकारले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बीमा थेग्न नसक्ने भनाइ राख्नुहुँदै महामन्त्री थापाले सरकार स्वास्थ्य प्रणालीको सुधार गर्नुपर्ने ठाउँमा कति अस्पताल बनाउने र शिलान्यास गर्ने भन्ने कुरामा केन्द्रित हुने गरेको बताउनुभयो ।

थापाले स्वास्थ्य प्रणालीलाई नै अहिले अस्पतालमा लगेर जोडेको भन्दै स्वास्थ्य प्रणाली नै अस्पताल हो भन्ने भ्रमबाट बाहिर निस्किनुपर्ने बताउनुहुन्छ ।

महामन्त्री थापाले सरकारले खर्च गर्नसक्ने अनुसारको स्वास्थ्य प्रणालीको बारेमा सोच्न आवश्यक रहेको पनि बताउनुभयो । स्थानीय सरकारलाई प्राथमिक स्वास्थ्यको संरचनाभित्रको महत्त्वपूर्ण जिम्मा दिएर स्वास्थ्य प्रणालीको निर्माण गर्न नसके अस्पताल मात्रै खोलेर स्वास्थ्य सुरक्षा नहुने थापाको भनाइ रहेको गोरखापत्रले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्