Logo
|
Tuesday 16th April 2024
Logo

epaper

आज दर खाने दिन, के–खाने के–नखाने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । हरितालिका तीज व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि शुरु भएको छ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ ।

दरको रुपमा विभिन्न मीठा परिकार खाने तथा खुवाउने गरिन्छ । भोलीपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई दर खुवाउने चलन रहँदै आएको छ ।

टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ आउेन र दरको रुपमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।

तीजको दरमा के खाने ?

– दरमा धेरै चिल्लो पदार्थ प्रयोग गर्नु हुदैन ।

–दर आफ्नो शरीरलाई चाहिने मात्रै खानुपर्छ ।

–दरमा विभिन्न परिकारसँगै सलादको मात्रा पनि धेरै राख्नुपर्छ ।

–सामुहिक रुपमा दर खादा फुड पोइजन हुनसक्ने भएकाले सचेत हुनुपर्छ ।

–दरसँग अल्कोहल पीउनु हुँदैन ।

तीजको दरमा के नखाने ?

धेरै नखाने

दर खाँदा शरीरलाई असर नपुग्ने गरी खान विज्ञ सल्लाह दिन्छन् । शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ । शरीरमा अनावश्यक बोसो जमेर अन्य रोग लाग्ने गरी खानेकुरा खान नहुने खाद्य प्राविधिज्ञ मदन चापागाईं सुझाउनुहुन्छ ।

स्वच्छ खाने

वर्षातको मौसम छ । यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ हुनसक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्य समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ । रमझम गरी रमाइलो गर्ने तीजमा बिरामी परेर हुने बिजोगबाट बच्न खानेकुराको स्वच्छतामा ध्यान दिनैपर्छ ।

भारी नखाने

दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्य समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ । तीजको अघिल्लो रात खाइने दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम हुनुपर्ने खाद्य प्राविधिज्ञ चापागाइँ बताउनुहुन्छ ।

तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटका विभिन्न समस्या देखिन सक्ने उहाँको भनाई छ । नुन धेरै सेवन गर्दा धेरै प्यास लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन सक्छ । निर्जल व्रत बस्न चाहनेलाई निरुत्साहित रोक्न त सकिँदैन । तर, व्रत बस्दा पानीसम्म पिउन विज्ञले सुझाव दिने गरेका छन् ।

पोषिलो खाने

पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु उपयुक्त हुने खाद्य प्राविधिज्ञ चापागाइँको सुझाव छ ।

शरीरका लागि ग्लुकोज तथा कार्बोहाइड्रेड दिने खालका खानेकुरा सेवन गर्न उहाँले सुझाउनुभयो । यसका लागि फलफूल तथा अन्नबाट बनेका परिकार खानुपर्छ । उहाँका अनुसार मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले सबेसम्म निराहार व्रत पन्छाउनु नै राम्रो मानिन्छ।

व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ । त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ । दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्