Logo
|
Thursday 18th April 2024
Logo

epaper

सामाजिक सेवा इकाईमार्फत नि:शुल्क उपचार



जनस्वास्थ्य सरोकार, गुल्मी । गुल्मीमा झण्डै एक हजार बिरामीले सामाजिक सेवा इकाईमार्फत निशुल्क उपचार सेवा लिएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालबाट गत आर्थिक वर्षमा कुल ९ सय ७४ जनाले सामाजिक सेवा इकाईमार्फत निशुल्क उपचार सेवा लिएका हुन् ।

आर्थिक वर्ष २०७८ ०७९ मा विभिन्न प्रकारका ९ सय ७४ जना बिरामीले सामाजिक सेवा इकाईमार्फत सेवा लिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो ।

“हामीले आर्थिक रूपमा विपन्न बिरामीलाई गुल्मी अस्पतालमा सामाजिक सेवा इकाईमार्फत निस्शुल्क उपचार गर्दछौं,” प्रमुख डाक्टर पच्याले भन्नुभयो- “विभिन्न लक्षित समूहका बिरामीले स्वास्थ्य उपचारको लाभ लिएका छन् ।” अस्पतालले सम्बन्धित लक्षित समूहको प्रमाणित गर्ने कागजपत्रको आधारमा निस्शुल्क स्वास्थ्य उपचार गर्ने गरेको डाक्टर पच्याले बताउनुभयो ।

सामाजिक सेवा इकाईमार्फत सेवा लिनेमा ज्येष्ठ नागरिक ६ सय ३९ जना, आर्थिक रूपमा अतिविपन्न २ सय ५६ जना र अन्य ७९ जना रहेको सामाजिक सेवा इकाईका फोकल पर्सन ताराबहादुर कार्कीले जानकारी दिनुभयो । सामाजिक सेवा इकाईमार्फत सेवा लिनेमा गुल्मीका कुल ९ सय ५ जना बिरामी रहेका छन् । उपचार सेवा लिनेमा गुल्मीबाहेक अन्य जिल्लाका कुल ६९ जना बिरामी छन् । जसमा छिमेकी जिल्ला अर्घाखाँचीका धेरै रहेको इकाईका फोकल पर्सन कार्कीले बताउ्नुभयो ।


सामाजिक सेवा इकाईमार्फत प्रदान गरिएको उपचार सेवामा गुल्मी अस्पतालको कुल ८ लाख २१ हजार ८ सय ९३ रुपैयाँ खर्च भएको इकाईका फोकल पर्सन कार्कीले जानकारी दिनुभयो । उक्त खर्च बिरामीको स्वास्थ्य अवस्था चेकजाँच र औषधि उपचारको गरी समष्टिगत खर्च रहेको कार्कीले बताउनुभयो । उहाँका अनुसार सामाजिक सेवा इकाईमार्फत प्राय बिरामीले निशुल्क सेवा लिएका छन् ।

सामाजिक सेवा इकाईमार्फत खास गरेर ५० देखि शतप्रतिशतसम्म छुट दिने प्रावधान छ । स्वास्थ्य बिमा पनि गर्न नसक्ने विपन्न परिवारका बिरामीलाई सामाजिक सेवा इकाईले ठूलो राहत दिलाएको छ । सामाजिक सेवा इकाईको प्रभावकारी कार्यान्वयन हुँदा आर्थिक अवस्था कमजोर भएका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरेको गुल्मी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्