Logo
|
Tuesday 27th September 2022
Logo

epaper

के मेवाको पातले निको हुन्छ डेङ्गी ? यसो भन्छन् विज्ञ

डेङ्गी लाग्दा कुन औषधि र कस्ता खानेकुरा खाने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । लामखुट्टेको टोकाइबाट डेङ्गी लागेर उपचारमा आउने बिरामीहरूले विभिन्न घरेलु उपचार गर्ने गरेको पाइएको उपचारमा खटिएका चिकित्सकहरूले बताएका छन्।

सामाजिक सञ्जालमा पढेको वा चिनजानका मानिसले सुझाएको भन्दै त्यस्तो घरेलु उपचार गर्ने बिरामीहरू भेटिने क्रम बढेको उनीहरू बताउँछन्।

डेङ्गीको उपचारका लागि अचुक औषधि मेवाको पातू भन्ने शीर्षक र यस्तै आशयका समाचार र त्यससँग सम्बन्धित सामग्रीहरू सामाजिक सञ्जालमा थुप्रै भेटिन्छन्।

विभिन्न रोग लाग्दा घरेलु उपचार भनेर कहिले अम्बाको पातले कुल्ला गर्ने त कहिले मेवाको पातको जुस खान सुझाइएका सामग्रीहरू देखिन्छन्। तर डेङ्गीका लागि त्यस्तो घरेलु उपचारले सघाउ पुर्‍याउने कुनै वैज्ञानिक आधारहरू नरहेको चिकित्सकहरू बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा विमल शर्मा चालिसे घरेलु उपचार गर्दा त्यसले शरीरमा झन् नकारात्मक असर पुर्‍याउन सक्ने ठान्छन्।

उहाँको अनुभवमा सामाजिक सञ्जालमा पढेको वा हेरेको भरमा डेङ्गीका बिरामीले घरेलु उपचार गर्ने गरेको धेरै पाइन्छ।

उहाँले भन्नुभयो–‘कतिपय अनावश्यक सल्लाह मानेर विभिन्न चिज खाँदा झन् बढी समस्या भएको पनि देखेका छौँ। पेट दुख्ने, धेरै उल्टी हुने जस्ता जटिलता डेङ्गीको सङ्क्रमणले हो वा अनावश्यक खानेकुरा खाएर हो भन्ने थाहा पाउन कतिपय अवस्थामा हामीलाई गाह्रो हुन्छ।’

कतिपय बिरामीले मेवाको पातको जुस, काँडापानी खाने गरेको प्रशस्त सुनिने उहाँको भनाई छ । तर त्यसो गर्दा शरीरमा झन् नकारात्मक असर परेर बिरामीलाई अन्य जटिलता देखिन सक्ने उहाँले बताउनुभयो ।

उहाँले थप्नुभयो–‘डेङ्गी हुँदा मानिसहरूमा इलेक्ट्रोलाइट नुन कमी भएको हुन्छ। मेवाको पात वा अन्य घरेलु उपचार गर्दा त्यसले झन् वाकवाकी लाग्ने वा खान मन नलाग्ने हुन सक्छ। बिरामीलाई झन् कमजोर बनाउन सक्छ।’

डेङ्गी लाग्दा कुन औषधि र कस्ता खानेकुरा खाने ?
चिकित्सकहरूका अनुसार डेङ्गीको यही गर्ने भन्ने उपचार छैन। सामान्य खालको डेङ्गीको बिरामी हो र ज्वरो आएको छ वा शरीर वा टाउको दुखेको छ भने पारासिटामोल खाने गर्नुपर्छ। त्यसबाहेक घरमा सामान्यतया खाने सन्तुलित खानेकुरा, सागपात र अरू बेलाभन्दा बढी झोलिलो खानेकुरा खान चिकित्सकहरू सल्लाह दिन्छन्।

‘कसैले यसको पात खानु वा कसैले यसको जरा खानु भन्ने कुराको कुनै वैज्ञानिक प्रमाणित कुरा होइनन्। जबसम्म डेङ्गीका जटिल समस्याहरू देखिँदैन तबसम्म डराउनुपर्ने, आत्तिनुपर्ने अनावश्यक हल्लाको पछाडि लाग्नुपर्ने कुनै कारण छैन,’उहाँले भन्नुभयो ।

तर बिरामीलाई लगातार पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, बेचैनी वा छटपटी हुने जस्ता अलि जटिल समस्या देखिए चिकित्सकको सल्लाह लिएर उपचार गर्न उहाँले सुझाउनुभयो ।

नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गीको सङ्क्रमण देखिएयता सबैभन्दा धेरै सन् २०१९ मा झन्डै १८,००० जनालाई देखिएको थियो।

यो वर्ष अहिलेसम्म सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या ५,००० नाघिसकेको छ।

तर डेङ्गी बिरामीको सङ्ख्या आधिकारिक तथ्याङ्कमा देखिएभन्दा धेरै हुनसक्ने भन्दै यसबाट बच्ने उपायमा ध्यान दिनुपर्ने धारणा स्वास्थ्य अधिकारी र विज्ञहरूको धारणा छ।

‘सरकारी आँकडामा देखिएभन्दा धेरै मानिसलाई सङ्क्रमण भएको हुनसक्छ। यसबाट जोगिन दिनमा टोक्ने लामखुट्टेबाट जोगिनुहोस्। आफ्नो वरपर लामखुट्टे हुर्किने वातावरण बन्न नदिनुहोस्,’ डा चालिसेले भन्नुभयो ।

कस्ता छन् चुनौती
डेङ्गीको बढ्दो सङ्क्रमण कम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महानगरपालिका र नगरपालिकाका प्रतिनिधि तथा अस्पतालका अधिकारीसहित विभिन्न सरोकारवालाहरूसँग छलफल गरिरहेको जनाएको छ।

डेङ्गी नियन्त्रणसँगै भ्रामक र गलत सूचना अर्को चुनौतीका रूपमा रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘मानिसहरूले जानेर नजानेर सजिलैसँग भ्रमपूर्ण जानकारीहरू सामाजिक सञ्जालमा प्रवाह गरेको देखिन्छ। त्यो हाम्रो लागि अर्को चुनौती बनेको छ।’

मेवाको दुधिलो चोपले पनि बिरामीलाई निको हुन सहयोग गर्छ भन्ने जस्ता भ्रमपूर्ण जानकारीहरू देखिएको उहाँले बताउनुभयो ।

चिकित्सकले बिरामीलाई सजिलो भाषामा उदाहरण दिएर बुझाउन खोज्ने भए पनि कतिपय अवस्थामा बिरामीले त्यसलाई गलत ढङ्गले बुझिदिँदा समस्या परेको देखिएको उहाँले बताउनुभयो ।
‘घरेलु उपचार गर्दा त्यसका नकारात्मक प्रभावहरू स्वास्थ्यमा कस्तो पर्छ हामीलाई थाहा हुँदैन। सतहका कुरालाई हामीले फ्याट्ट मान्दै जाँदा समुदायमा धेरै प्रभाव पर्न जान्छ।’ बीबीसीबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस्