Logo
|
Friday 19th April 2024
Logo

epaper

नुवाकोटमा मधुमेहसम्बन्धि वृहत शिविर, १ हजारले पाए सेवा



जनस्वास्थ्य सरोकार, नुवाकोट । मधुमेहका बिरामी बढिरहेको वर्तमान अवस्थामा काठमाडौंको धनयोगा फाउन्डेसन नेपालले नुवाकोटमा मधुमेहसम्बन्धि दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको पञ्चकन्या गाउँपालिकाको २ नम्वर वडा शहरेटारमा रहेको कविलास कालीका अस्पतालको प्राङ्गणमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी व्यक्तिको मधुमेह परीक्षण गरिएको थियो ।

सो अवसरमा एक सय जना नयाँ मधुमेही फेला परेका छन् । उनीहरुको एचबीएवानसी परीक्षण गरिएको छ ।

शिविरमा सेवा लिन पञ्चकन्या गाउँपालिका, ताँदी गाउँपालिका, सुर्यगढी गाउँपालिका, लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिकाका स्थानीयबासीहरु २—३ घण्टाको पैदलयात्रा गरेर आएका थिए । भदौं १७ र १८ गते गरिएको सो शिविसरमा विज्ञ डाक्टरहरुबाट मधुमेह, आँखा, दाँत, फोक्सो, मुटुसम्बन्धि परीक्षण, रगत, पिसाबको जाँच र पोषणविज्ञबाट मधुमेहसम्बन्धि निःशुल्क परामर्श सेवा दिइएको थियो । वाल अस्थमा एवं एलर्जी रोग विशेषज्ञ डा. महेश गौतम, आँखा विशेषज्ञ डा.तेजसु सिंह मल्ल, मुटु रोग विशेषज्ञ डा. आनन्द खनाल, जनरल फिजिसियन डा.किरण ध्वञ्जु र डा.सुप्रिता श्रेष्ठ, दन्त सर्जन डा. प्रतिभा धमला र डा. सलिना कार्की, सर्जन डा. सुमन श्रेष्ठ, पोषणविद् अमृता घिमिरेलगायत नर्स तथा ल्याव टेक्सिनियनहरुले सेवा प्रदान गर्नुभएको थियो ।

क्वेष्ट फर्मास्युटिकल्स प्रा.लि.ले निःशुल्क उपलब्ध गराएको मधुमेह र मुटुसम्बन्धि औषधिसहित आँखा, दाँतको औषधि, भिटामिन गरी २ लाख ५० हजार मूल्यबरावरको औषधि वितरण गरिएको थियो । सो अवसरमा १ हजार जनालाई दाँत सफा गर्न आवश्यक पर्ने ब्रस र टुथपेष्ट वितरण गरिएको थियो ।

काठमाडौको नजिक भएर पनि शहरेटारमा स्वास्थ्य चौकीसमेत नभएको एवं वृद्धबृद्धाहरुलाई राजधानीसम्म आइपुग्न यातायातको असुविधाका कारण वर्षौदेखि समस्या झेलिरहेका बिरामीहरुको सुविधालाई ध्यानमा राखी शिविरको आयोजना गरिएको धन योगा फाउन्डेसन नेपालकी अध्यक्ष स्मृति शर्मा तिवारीले जानकारी दिनुभयो । उहाँले फाउन्डेसनको क्वेर डायविटिज प्रोजेक्ट २०२२ को पहिलो शिविर भएको जानकारी दिँदै हरेक वर्ष मधुमेहसम्बन्धि २ वटा शिविर आयोजना गर्दै जाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्