Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रा.डा. उपेन्द्रप्रसाद देवकोटा मरणोपरान्त आधुनिक स्नायु शल्यचिकित्साका अग्रणी दीर्घ सेवाबाट सम्मानित



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल न्युरो सर्जन समाज (नेसोन) ले प्रा.डा. उपेन्द्रप्रसाद देवकोटालाई मरणोपरान्त नेपालको आधुनिक स्नायु शल्यचिकित्साका अग्रणी घोषणा गर्दै दीर्घ सेवाबाट सम्मान गरेको छ ।

समाजको पोखरामा सम्पन्न १० औं वार्षिक सम्मेलनमा प्रा.डा.देवकोटालाई मरणोपरान्त नेपालको आधुनिक स्नायु शल्यचिकित्साका अग्रणी घोषणा गर्दै दीर्घ सेवा सम्मान गरिएको हो । सो सम्मान उहाँकी धर्मपत्नी प्रा.डा. मधु दीक्षित देवकोटाले ग्रहण गर्नुभएको छ ।

स्व. प्रा.डा. देवकोटालाई मरणोपरान्त प्रदान गरिएको दीर्घ सेवा सम्मानमा भनिएको छ—‘नेपालमा आधुनिक स्नायू शल्यचिकित्साका अग्रणी नेपालमा मस्तिष्क तथा स्नायू शल्यचिकित्सा विधामा पहिलोपटक विशेषज्ञता हाँसिल गरी सन् १९८९ देखि देशमा आधुनिक स्नायू शल्यचिकित्साको थालनी तथा विकास गर्न निरन्तर योगदान पुर्याउनु भएकोमा यस संस्थाका संस्थापक अध्यक्ष प्रा.डा. देवकोटालाई मरणोपरान्त नेपालको स्नायू शल्यचिकित्साका अग्रणी घोषणा गरी दीर्घ सेवा सम्मानका साथ अभिनन्दन गर्दछ ।’


प्रा.डा. देवकोटाले मुलुकमा आधुनिक न्युरो सर्जरी सेवा शुरु गरेको पनि ३५ वर्ष पुगिसकेको छ ।


सन् २००७ मा प्रा. डा. देवकोटाले आफ्नो अध्यक्षतामा नेसोन स्थापना गर्नुभएको थियो । नेसोनमा प्रा.डा. देवकोटापछि प्रा.डा. पवन सुल्तानिया, डा. वसन्त पन्त, प्रा.डा. गोपाल रमण शर्मा, प्रा.डा. मोहन शर्मा, प्रा.डा. कृष्ण शर्मा हुँदै हाल डा. प्रविण श्रेष्ठ अध्यक्ष हुनुहुन्छ । बि.सं.२०११ साल पुषमा जन्मनुभएका प्रा.डा. देवकोटाको पित्तनलीको क्यान्सरका कारण बि.सं. २०७८ साल आषाढमा निधन भएको थियो ।


गत सेप्टेम्भर ८ तारेखदेखि ३ दिनसम्म सम्पन्न सम्मेलनमा १०५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रमध्येबाट एकजना सर्वोत्कृष्ट योङ न्युरो सर्जन अवार्ड (४० वर्ष मुनिका) डा. सन्दिप बोहोरा (काठमाडौं मेडिकल कलेज) लाई प्रदान गरिएको छ । यसको राशी ५० हजार र प्रमाणपत्र रहेको छ । हरेक वर्ष प्रदान गरिने यो अवार्ड प्रा.डा. गोपाल रमण शर्माले स्थापना गर्नुभएको हो । यसैगरी न्युरो सर्जिकल रेजिडेन्ट अवार्ड पहिलो र दोस्रो गरी २ जनालाई प्रदान गरिएको छ । यसको पहिलो राशी ३० हजार एवं दोस्रो राशी २० हजार र प्रमाणपत्र रहेको छ । यसको स्पोन्सर नेसोनका वर्तमान अध्यक्ष डा. प्रविण श्रेष्ठ हुनुहुन्छ । यसैगरी एकजना नर्सिङ स्टाफलाई पारामेडिकल अवार्ड प्रदान गरिएको छ । यसको राशी २० हजार र प्रमाणपत्र रहेको छ जसलाई प्रा.डा. अमित थापाले स्पोन्सर गर्नुभएको छ ।

सम्मेलनमा डाक्टर, नर्स र पारामेडिक्स गरी १४० जनाको सहभागिता रहेको थियो । हाल मुलुकमा १ सय १५ जना न्युरो सर्जन रहेका छन् जसमध्ये ५० प्रतिशत काठमाडौंमा छन् भने ५० प्रतिशत न्युरो सर्जनले झापा, बिराटनगर, जनकपुर, बीरगञ्ज, पोखरा, नेपालगञ्ज, कैलालीसम्म फैलिएर सेवा दिइरहेको नेसोनका अध्यक्ष डा. प्रविन श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्