Logo
|
Friday 26th April 2024
Logo

epaper

महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग



जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन । बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभएको हो ।

प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले मिटरब्याजीहरुबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्ति समेत जनाउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढी र पहिरोबाट पीडित जनताका लागि तत्काल उद्धार र राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

एमालेका अर्का सांसद गोपाल भट्टराईले डेंगु रोगको उपचारका लागि सिटामोलको समेत अभाव भएको भन्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भट्टराईले सरकारले जनताको स्वास्थ्य सुरक्षामा आवश्यक ध्यान दिन नसकेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्