Logo
|
Friday 29th March 2024
Logo

epaper

बालबालिकामा हुने छाला रोगहरुको सही निदान र व्यवस्थापन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बाल्यकालमा हुने छाला रोगहरुको सही निदान र व्यवस्थापनमा बाल छालारोग विशेषज्ञको भूमिका महत्वपूर्ण हुन्छ । यदि बाल रोग विशेषज्ञले तपाईंको बच्चालाई बाल छाला रोग विशेषज्ञलाई देखाउन सुझाव दिएमा बच्चाले छालासम्बन्धि सबैभन्दा राम्रो चिकित्सा हेरचाहको सुनिश्चतता पाएको ठान्नुपर्छ ।

छालाको संक्रमण, छाला चिलाउने (एक्जिमा), लामखुट्टेको टोकाइको एलर्जी, डावर, डण्डिफोर, छालाको रंग परिवर्तनलगायतका समस्या बालबालिकाहरुमा धेरैजसो हुने समस्याहरु हुन् ।

कतिपय अवस्थामा अरु उमेरका व्यक्तिको तुलनामा बच्चाको छालासम्बन्धि समस्या समान हुन्छन् । कति कुरामा फरक पनि हुनसक्छ । सामान्य समस्यालाई फलोअपमा हेर्दै जानुपर्छ । बाल्यकालका सामान्य छाला सम्बन्धी समस्याको उपचारको लागि बाल अथवा छाला रोग विशेषज्ञसँग परामर्श गर्न सकिन्छ ।

बालबालिकामा हुने छाला रोग कतिपय जटिल रुपका हुन्छन् । उदाहरणका लागि भन्नुपर्दा बालबालिकामा हुने जन्मको दाग अथवा कोठी (बर्थमार्क) कहिलेकाही शरीरको भित्री समस्यासँग सम्बन्धित हुन्छ । यस्ता बालबालिकाको परामर्श बाल छाला रोग बिशेषज्ञसँग गराउँदा उचित व्यवस्थापन र निगरानी हुन्छ । त्यस्तै गरेर जन्मको केहि दिनपछि धेरैजसो देखापर्ने रक्तनली सम्बन्धि समस्या हो जसलाई हिमान्जिओमा भनिन्छ, समयमा यसको उपचार नभए आँखाको ज्योति गुम्ने, श्वासप्रश्वासमा समस्या, घाउ बन्ने जस्तो जटिलता आउन सक्छ । यो शुरुमा चाँडै बढ्छ । त्यसैले समयमा समस्याको उपचार गर्न जरुरी हुन्छ । त्यस्तै बाल्यकालको सामान्य रोग जस्तै एक्जिमा अथवा सोरियसिसले कोही बालबालिकामा कडा रुप लिन्छ । त्यस्तै गरेर अरु धेरै छालामा देखापर्ने वंशाणुगत रोगहरु छन् जुन साधारणतय असामन्य छन्, तीनको उपचारका लागि बाल छाला रोग विशेषज्ञको परमर्शको आवश्यकता पर्दछ ।


नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा डर्माटोलोजी सब–स्पेसियालिटीको अभ्यासको अवधारणा कमै छ । बाल छाला रोग विशेषज्ञाता एक तिब्र गतिमा बढ्दै गएको विषय हो । भारत तथा विश्वव्यापी रुपमा यो सम्बन्धमा धेरै अनुसन्धान हुँदैछन्, नयाँ ज्ञान हाँसिल हुँदैछ तथा नौलो उपचारका विधिहरु अपनाइँदै छ ।

यसको फाइदा नेपालका छाला रोगका बालबालिकाले पनि पाउनुपर्छ । अमेरिकामा मात्र ३ सय जना बाल छालारोग विशेषज्ञ रहेका छन् । बालबालिकाहरुमा हुने छालासम्बन्धि समस्यालाई संस्थागत रुपमा विकास गर्न जरुरी छ । काठमाडौं र काठमाडौंबाहिर बाल छाला रोगको उपचारलाई विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

(जोशी बाँसबारीस्थित डिआई स्किन हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्