Logo
|
Thursday 25th April 2024
Logo

epaper

ल्याब गुणस्तरका अभियन्ता डा. केयूर गौतम



जनस्वास्थ्य सरोकार, काठमाडौँ । म्याङ्गलोरको कस्तुर्वा मेडिकल कलेज केएमसीमा तेस्रो वर्षमा प्याथोलोजी रेजिडेन्टका रुपमा काम गर्दा कलेजको ल्यावले आइएसओ १५१८९ मान्यता प्राप्त गरेको थियो । यो मान्यतालाई उहाँले निकै चासो लिएर प्रश्न गर्नुभएको थियो—‘ प्याथोलोजी ल्याबलाई किन आईएसओ चाहियो ?’ जवाफमा डा. केयूरले तेस्रो पक्षबाट प्राप्त भएको आईएसओ मान्यताले ल्यावको रिपोर्टको गुणस्तरीयता माथि प्रश्न लाग्न नसक्ने जवाफ पाउनुभयो ।

डा. केयूर गौतम विगत ८ वर्षदेखि सम्यक डायग्नोष्टिक प्रा.लि.का कन्सल्ट्यान्ट प्याथोलोजिष्ट एवं संस्थापक अध्यक्ष हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा लेक्चरर, ग्रान्डी इन्टरनेशनल हस्पिटलको प्याथोलोजी र ल्याबोरेटोरी मेडिसिन विभागको प्रमुख भएर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै सन् २०१४ मा स्थापना भई सन् २०१५ मा नेपालको पहिलो आईएसओ १५१८९ मान्यता प्राप्त स्टैण्डएलोन ल्याब सञ्चालनमा ल्याउन सफल हुनुभयो । मुलुकमा आईएसओ १५१८९ मान्यता प्राप्त ल्यावको विकास र विस्तार भएमा गुणस्तरीयताको सुनिश्चितता हुने डा. केयूरको मान्यता छ । यसले ल्याव रिपोर्टको गुणस्तरप्रति बिरामीहरुको विश्वास र भरोसा बढ्दै जान्छ । डा. केयूर ल्याव गुणस्तरका एउटा अभियन्ता हुनुहुन्छ ।

सन् २००७ सालदेखि प्याथोलोजी सेवामा समर्पित उहाँ र उहाँको संस्थाले वर्षमा १ लाख व्यक्तिलाई विभिन्न प्याथोलोजी टेष्टहरुमा सेवा दिने गरेको छ । नेपालमा इन्ट्रिगेसन वाइ डाइरेक्सनल इन्टरफेज गराउने पहिलो व्यक्ति डा. केयूर गौतम हुनुहुन्छ । अहिले एक दर्जनभन्दा बढी ल्यावहरुले यो सिस्टम अपनाइसकेका छन् ।

नेपालमा सन् २०१४ मा इम्युनोफ्लोरोसेन्ट जुन मिर्गौलाका बिरामीहरुलाई एएनए र डि.एस.डि.एन.ए. परीक्षण शुरु गर्ने पहिलो व्यक्ति हुनुहुन्छ डा. केयूर । हालसम्म आधा दर्जनजतिले आईएसओ १५१८९ प्रमाण चिन्ह लिइसकेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आईएसओ १५१८९ प्रमाण चिन्ह प्राप्त गर्दा पनि डा. केयूरले कन्सलट्यान्टको भूमिका निर्वाह गर्नुभएको थियो । यसै सेरोफेरोमा रहेर डा. केयूरले भनेका कुरा उहाँको आफ्नै शव्दमा ।

गुणस्तरमा लागत
नेपालमा सन् २०१४ सम्म पनि गुणस्तर भनेको ठूलो भवन, भित्र हेर्दा चिटिक्क परेको इन्टेरियर, ठूलो मेसिन र कपाल फूलेका डाक्टर नै थियो । समग्रमा ल्यावलाई सेवाको सानो अंगको रुपमा लिइन्थ्यो । डाक्टर र बिरामी दुवैको माग गुणस्तरको भएपनि कसैले पनि लागू गर्न सकेका थिएनन् । एक्रिडिटेसन के हो ? भन्ने बारे कसैले सोधपुछ गरेनन् र कसैलाई चासो र मतलव पनि थिएन । ल्यावले गति लिइरहेको अवस्थामा खर्च बढाउन नहुने कतिपय व्यवस्थापन पक्षले सोच राखेका थिए । यसले नेपालमा आईएसओ मान्यता आउन ढिलो भएको थियो ।

प्राविधिक रुपमा सक्षम

ल्यावको रिपोर्ट प्राविधिक रुपमा ठीक भए नभएको हेर्न आईएसओ १५१८९ प्रमाण चिन्ह नै लिनुपर्छ । यो नलिकन तपाई प्राविधिक रुपमा सक्षम भएको दर्शाउँदैन । नेपालीले दिएको मान्यता के राम्रो होला र भन्ने पनि कतिपयमा भ्रम छ । तर यो अन्तर्राष्ट्रिय निकायको चेन हो । भारतको एनएबीएल र नेपालको एईआरएसएससी दुवैको मान्यता एउटै हो । तेस्रो पक्षले दिएको मान्यताले गुणस्तरको निश्चितता हुन्छ । सम्यक डायग्नोष्टिकले एक वर्षमा गुणस्तर नियन्त्रणमा मात्र १० लाख रुपियाँ जति खर्च गर्छ ।

यो आईएसओको एम आर ए (म्युचुयल रिकग्निसन एरेन्जमेन्ट) स्टाटसमा पुगिसकेको छ । अहिले सम्यक ल्यावको रिपोर्ट संसारका विकसित ८० भन्दा धेरै देशहरुमा मान्यता हुन्छ ।

गलत बुझाइ
कहिलेकाँही बिरामीकै कारण गलत रिपोर्ट आउने गर्छ । जस्तोः ट्राइग्लिसेराइड परीक्षणमा अघिल्लो दिन चिल्लो खानेकुरा, वियर लगायतका चिज खाएर भोलिपल्ट टेष्ट गर्दा रिपोर्ट उच्च आउनु स्वभाविक हो । त्यसपछि दुई दिन केही नखाई अर्को ल्यावमा परीक्षण गर्न जाँदा रिपोर्ट सामान्य आउनु पनि स्वभाविक हो । यसप्रति बिरामीले ख्याल गर्नुपर्छ । नेपालमा अब्वल डाक्टर छन् । नेपाली रिपोर्टमाथि कुनै शंका गर्नुपर्दैन ।

मेसिन राखेर मात्र हुँदैन

कतिपयले अटोमेटेड मेसिनले रिपोर्ट दिने भएकाले प्याथोलोजिष्टको भूमिका नभएको कुरा पनि गरिन्छ । तर यो गलत बुझाइ हो । मेसिनले ठीक काम गरेनगरेको अनुगमन गर्ने र रिपोर्ट कोरिलेट गर्ने काममा प्याथोलोजिष्टको भूमिका महत्वपूर्ण हुन्छ । ल्यावमा धेरै आम्दानी हुने बुझाइ भएपनि गुणस्तर दिनुपर्ने महसुस हुनसकेको पाइदैन । हेल्थ केयर विजनेश नभई सर्भिस हुनुपर्छ ।

पिजा र वर्गर जस्तो होइन होम कलेक्सन

नमुना संकलन गर्दा गुणस्तर कायम राख्नुपर्छ । आइस प्याकको बट्टामा ४ देखि ८ डिग्री सेन्टिग्रेडमा नमुना २ देखि ३ घण्टाभित्र ल्यावभित्र पठाइसक्नुपर्छ । यसबारे कसैले पनि अनुगमन गरेको छैन । ७० प्रतिशत ल्याव इररको भूमिका प्री—एनालाइटिकलको हुनेगर्छ । त्यसैले यसप्रति सचेत हुन जरुरी छ ।

पिजालगायतका खानेकुरा घरमा पु-याएको जस्तो नमुना संकलन गर्न सजिलो छैन । घरबाट ल्यावसम्म रगतको नमुना पु-याउन कुन मापदण्ड अपनाइएको छ भन्ने कुराले महत्व राख्छ ।

कसैको ज्यान गएमा जिम्मेवार को ?

ल्यावको कारणले कसैको ज्यान गएमा जिम्मेवार को हुने ? हरेक जाँचमा उत्तर दिन सक्नुपर्छ । कतिपय अवस्थामा कुनै कुनै परीक्षण पुष्टि गर्न ३ पटकसम्म जाँच गर्नुपर्छ । ल्याव भनेको मानव स्पर्श र मानव हेरचाह गर्ने ठाउँ हो । ल्याबको रिपोर्ट पाएपछि समस्याबारे सम्बन्धित डाक्टरलाई सोध्न भुल्न हुँदैन । विभिन्न ल्याबमा एउटै नमुना टेष्ट गराएर आफैंले गलत व्याख्या गर्न हुँदैन । ल्याब जुन वर्गको भएपनि तेस्रो पक्षबाट हुने गुणस्तर मापन चिन्ह १५१८९ भएको मान्यता प्राप्त ल्यावको रिपोर्ट विश्वभर मान्य हुन्छ ।
व्यवस्थित कसरी हुन्छ ?
ल्याव सेवालाई व्यवस्थित र विश्वस्तरीय बनाउन जाँच गर्ने डाक्टर, बिरामी र ल्याबको डाक्टरबीच कम्युनिकेसनको मुख्य भूमिका रहन्छ र यी तीन निकायबीच समन्वय हुन अति आवश्यक हुन्छ । बिरामीको समस्याको जाँच गर्ने सम्बन्धित डाक्टरले बिरामीको इतिहास लेखेर ल्याबमा पठाउनुपर्छ । यसले बिरामीको रोग पहिचानमा अझ सहजीकरण हुन्छ ।

जिम्मेवार निकायको भूमिका
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षण गर्नेभन्दा पनि अनुगमन, ल्याबको स्तरोन्नति, तालिम दिने, एक्वासको काम गर्ने, एक्स्टर्नल क्वालिटी एसोरेन्स आदि ल्यावको गुणस्तर बढाउन सक्रिय हुनुपर्छ । जनशक्तिको आवश्यकताबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पहल गर्न जरुरी छ । त्यसपछि मात्र परिवर्तन आउनसक्छ ।

प्रतिक्रिया दिनुहोस्