Logo
|
Friday 19th April 2024
Logo

epaper

‘तनाव कम गर्न योग र ध्यान गर्न आवश्यक’



जनस्वास्थ्य सरोकार, जनकपुरधाम । विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर मधेश प्रदेश प्रहरी कार्यालयले जनकपुरधाममा आज जनचेतनामूलक र्‍याली तथा अन्य कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा सहभागीहरूले सर्वसाधारणमा बढेको मानसिक तनावका कारण आत्महत्या गर्ने क्रम बढेकाले तनाव कम गर्ने वातावरणको निर्माण घर परिवारबाट नै हुनुपर्नेमा जोड दिनुभयो ।

सहभागीहरूले घर परिवारदेखि विद्यालय तह हुँदै कलेज तथा कलेजपछि रोजगारीका कारण युवाहरूमा आत्महत्याको क्रम बढेको बताउँदै तनाव कम गर्न नैतिक शिक्षा तथा ध्यान र योगमा विशेष ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले सामाजिक सञ्जालको दुरुपयोग बढेको र युवाहरूमा अत्यधिक मात्रामा बढेका आकाङ्क्षा पुरा हुन नसकेपछि आत्महत्या गर्ने क्रम बढेको बताउनुभयो ।

उहाँले युवाहरूमा नैतिक शिक्षाको अभाव रहेको र महिलाहरूमा पारिवारिक तथा अन्य प्रकारको हिंसा भएका कारणले पनि आत्महत्याको क्रममा वृद्धि भएको बताउँदै यसमा कमी ल्याउन सबैले ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।

सभापतिको आसनबाट धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आत्महत्या रोक्न हरेक व्यक्तिले सकारात्मक भूमिका खेल्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका प्रहरी नायव महाउपरीक्षक मसाउद आलम खानले आत्महत्या घटाउन र रोक्न घर परिवारबाट नै सकारात्मक प्रयास आवश्यक भएको बताउनुभयो ।

त्यसअघि संघीय प्रहरी कार्यालय मुरली चौकबाट झाँकी र प्रहरी ब्यान्डसहितको जनचेतनामूलक र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्