धनुषाको ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालनमा

जनस्वास्थ्य सरोकार, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको वडा नंं ७ ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पतालको आज उद्घाटन गरिएको छ ।
नवनिर्मित रेयुकाई एईको मसुनागा आँखा अस्पतालको उद्घाटन अस्पतालको निर्माणमा आर्थिक सहयोग गरेको अमेरिकन सामाजिक संस्था डोली इन्टर्मड इन्टरनेशनल न्युयोर्कका अध्यक्ष स्कट र्यामिलटले गर्नुभयो ।
बनेपास्थित रेयुकाई एईको मसुनागा आँखा अस्पतालको शाखाको रुपमा ढल्केवरमा अस्पतालको निर्माण गरिएको हो ।
फागुन महिनाबाट अस्पतालले सेवा दिँदै आए पनि औपचारिक रुपमा आजबाट सेवा सुरु गरिएको हो ।
करिब तीन करोडको लागतमा निर्माण भएको आँखा अस्पतालमा आँखा सम्बन्धी सम्पूर्ण उपचारको सुविधाहरू हुने भएको छ । खास गरेर मोतिया विन्दुको उपचार एवं शल्यक्रियाका लागि चाहिने सबै प्रकारका उपकरणहरू रहेको बनेपा आँखा अस्पतालका चिकित्सक डा. ईरिना कंसाकारले जानकारी दिनुभयो ।
ढल्केवर क्षेत्रमा आँखा अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका बिरामीलाई निक्कै सहज हुने विश्वास गरिएको छ ।
मधेश प्रदेशको लहान, जनकपुरधाम तथा वीरगञ्जमा आँखाको उपचार भएपनि ढल्केवरमा भएपछि यसबाट धनुषा, महोत्तरी, सर्लाहीका उत्तरी भेगका बिरामीका साथै सिन्धुली, उदयपुर तथा भारतका बिरामीहरूले सहजै उपचार पाउने भएका छन् ।
अस्पतालमा नेत्ररोग विशेषज्ञ टोलीद्वारा आँखाका सम्पूर्ण उपचार सेवा प्रदान गर्ने र जटिल प्रकारको समस्या भएको खण्डमा बनेपामा रहेको आँखा अस्पतालमा रेफर गरिने पनि अस्पतालका चिकित्सक एवं संस्थाका उपाध्यक्ष डा.कंसाकारले जानकारी दिनुभयो ।

गत फागुनदेखि सुरु भएको अस्पतालले हालसम्म ७ हजारको निःशुल्क आँखाको परीक्षणका साथै १ हजार ६ सय ६० जनाको मोतियाविन्दको शल्यक्रिया गरिएको संस्थाका महासचिव हिरामणि शर्माले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोले शुभकामना दिनुहुँदै आँखा अस्पतालको निर्माणले यस क्षेत्रका आँखाका बिरामीहरूलाई उपचार पाउनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
आँखा अस्पताल निर्माणका लागि मिथिला नगरपालिका ढल्केवर निवासी समाजसेवी राजाराम महतोले करोडौँ मूल्य पर्ने छ कठ्ठा जग्गा दान दिनुभएको थियो ।