Logo
|
Friday 19th April 2024
Logo

epaper

फोक्सो र श्वासप्रश्वाससम्बन्धि समस्याः जुन बिरामी र मृत्युको प्रमुख कारण



डा. महेश गौतम, बाल एवं एलर्जी रोग विशेषज्ञ,नेशनल आस्थमा एलर्जी सेन्टर, लाजिम्पाट


विश्व फोक्सो दिवस २०२२ ले फोक्सो/श्वासप्रश्वास स्वास्थ्यमा विश्वव्यापी असमानतालाई सम्बोधन गर्न आह्वान गराएको छ । हरेक वर्ष २५ सेप्टेम्बरमा विश्व फोक्सो दिवस मनाउने गरिन्छ ।


अहिले कोभिड १९ महामारी कम हुँदै गएपनि यसको प्रभावले विश्वव्यापी फोक्सोको स्वास्थ्य संकटलाई हाइलाइट गर्दछ जुन अहिले पनि कायमै छ ।


श्वासप्रश्वाससम्बन्धी रोगबाट हरेक देशका नागरिकहरु प्रभावित हुने गरेका छन् । तर नेपाललगायत कम र मध्यम आय भएका देशहरूमा समस्या धेरै देखिन्छ । यी देशहरुमा अनुसन्धान, रोकथाम र व्यवस्थापनका स्रोतहरू कम छन् ।


धनी र गरिब देशहरूमा यस्तो असमानतालाई सम्बोधन गर्न, स्वास्थ्य सम्बन्धित सामाजिक र वातावरणीय निर्धारकहरू जस्तैः तंबाखुको प्रयोग, वायु प्रदूषण, जलवायु परिवर्तन र गरिबीलाई महत्व दिएर हेर्नुपर्छ ।


फोक्सो/श्वासप्रश्वाससम्बन्धी बढि हुने ५ रोगहरू जुन विश्वव्यापी रूपमा बिरामी हुने र मृत्युको सबैभन्दा प्रमुख कारणमा पर्दछन् ।

  • क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी)
  • दम
  • अतिसिध्र (एक्युट) श्वासप्रश्वास नलीको संक्रमण वा निमोनिया
  • क्षयरोग (टीबी)
  • फोक्सोको क्यान्सर


फोरुम अफ इन्टरनेशनल रेस्पिरेटरी सोसाइटी (एआईआरएस) को तथ्यांकअनुसार, विश्वमा करिब २० करोड व्यक्तिलाई सिओपिडीको समस्या छ जसमध्ये प्रत्येक वर्ष लगभग ३२ लाखको मृत्यु हुने गरेको छ । यो विश्वव्यापी मृत्युको तेस्रो–प्रमुख कारण मानिएको छ । यसैगरी विश्वव्यापी रूपमा २६ करोड २० लाख व्यक्तिलाई दमले असर गर्छ । यो सबैभन्दा प्रमुख नसर्ने रोगहरू मध्ये एक हो ।


यसैगरी सन् २०२० मा फोक्सोको क्यान्सरका २२ लाख भन्दा बढी नयाँ बिरामी थपिएको र १८ लाख व्यक्तिको मृत्यु भएको एआईआरएसले जनाएको छ । प्रत्येक ४ क्यान्सर मृत्युमा १ जना फोक्सोको क्यान्सर हुने गरेको छ ।


यसैगरी निम्न र मध्य आय भएका देशहरुमा तल्लो श्वासनलीको संक्रमण वा निमोनिया मृत्युको प्रमुख कारण मानिएको छ जसबाट प्रत्येक वर्ष २४ लाख भन्दा बढीको मृत्यु हुने गरेको छ । हालको समयमा कोभिड १९ ले विश्वव्यापी रूपमा निमोनियाबाट हुने मृत्युमा नाटकीय रूपमा वृद्धि गरेको एआईआरएसले उल्लेख गरेको छ ।


एआईआरएसका अनुसार, ५ वर्ष मुनिका बालबालिकामा निमोनिया नै मृत्युको प्रमुख कारण हो ।


विश्व स्वास्थ्य संगठनको वार्षिक विश्वव्यापी प्रतिवेदनले कोभिड महामारीका कारण एक दशकभन्दा बढी अवधिमा पहिलो पटक क्षयरोगबाट मृत्यु हुनेको संख्यामा वृद्धि भएको पत्ता लगाएपछि क्षयरोगपनि एउटा ठूलो बोझ बनेको छ ।

बालबालिकाको सन्दर्भ
गर्भावस्थादेखि नै फोक्सो विकासको उत्तम सुरुवात हो । स्वस्थ फोक्सोको विकास जन्मनु अघि सुरु हुन्छ । स्वस्थ बच्चा जन्मनुलाई स्वस्थ आमाबाबु चाहिन्छ । असमानता, सामाजिक वञ्चितता, संरचनात्मक जातिवाद र स्वास्थ्यका अन्य निर्धारकहरूलाई सम्बोधन गर्नु आजको आधारभूत आवश्यकता हो । गरिबी, अस्वस्थकर आवास, धुम्रपान, अस्वथकर आहारका कारण हुने मोटोपन र तनाव जस्ता गर्भावस्थाका जोखिम कारकहरूलाई कम गर्ने कुराको बेवास्ता गर्न सकिदैन । दैनिक जीवनका सबै पक्ष (घर र कार्यस्थल) मा सकेसम्म स्वस्थ रूपमा बाँच्न अभिभावकहरूको आर्थिक र सामजिक अवस्था सुद्रिड हुनुपर्छ ।

जन्मपछि विकास हुन लागेको फोक्सोले सफा हावा सास फेर्न आवश्यक छ ।


साना कण (२.५ पिएम) र र प्रदूषणका अन्य प्रकारका सम्पर्कले फोक्सोको वृद्धिलाई हानी पु¥याउँछ र फोक्सोको रोगको जोखिम बढाउँछ । साथै फोक्सोको रोग भएका बालबालिकाहरूमा तीव्र आक्रमणहरू निम्त्याउँछ । डब्ल्यूएचओको सीमालाई कानुनी रूपमा लागू गरेर प्रदूषणको जोखिमलाई कम गर्न जरुरी छ । यसका लागि यातायात, ऊर्जा उत्पादन, खेती लगायतका क्षेत्रहरूमा सरकारको पहलमा विश्वव्यापी तापलाई घटाउन व्यापक रूपमा कार्य गर्न आवश्यक छ । घरको भित्री हावाको गुणस्तर कायम राख्न अत्यावश्यक छ । कुनै पनि बच्चाले चिसो, ओसिलो वा धुवाँयुक्त घरमा बस्नु नपरोस् भन्ने कुरामा ध्यान दिनुपर्दछ ।

धुम्रपानरहित पुस्ताको विकास

फोक्सो/ श्वासप्रश्वास को समस्या भएका बालबालिका र युवाहरूको हेरचाह गर्न जरुरी छ । जसमा फोक्सो स्वास्थ्यलाई बच्चाको स्वस्थ विकासको एक भागको रूपमा विचार गर्नुपर्छ । सास फेर्न समस्या भएका बालबालिकाको धेरैजसो हेरचाह समुदायमा हुन्छ । सामुदायिक हेरचाहमात्र उपयुक्त नभएको, पर्याप्त अनुसन्धानमा पहुँच नभएको र अन्य कुनै कारणले विशेषज्ञ रेफरल समयमै गरी सही निदान सुनिश्चित गर्न सक्षम प्रणालीको विकास गर्न जरुरी छ ।


फोक्सोसम्बन्धि रोगहरुमा दीर्घकालीन हेरचाह वयस्क र बालबालिकामा भिन्न हुन्छ भन्ने कुरापनि हामी सबैले स्वीकार गर्नुपर्छ र बालबालिकाको हेरचाहको सुनिश्चितता गर्नुपर्छ । तर फोक्सो र श्वासप्रश्वासको समस्या भएका बालबालिकाको समयमै पहिचान र सहि उपचार सुरु गर्न हामी सक्रिय हुन आवश्यक पर्छ ।

धुम्रपान, सक्रिय र निष्क्रिय दुवै क्रियाकलापले बालबालिकामा फोक्सो रोगको जोखिम बढाउँछ । फोक्सोको विकासमा बाधा पुर्याउँछ र संक्रमणको जोखिम बढाउँछ । बालबालिकालाई धुम्रपानको सेवन रोक्न विज्ञापन र पहुँचलाई कम गर्न आवश्यक छ ।
मापदण्डहरूमा धुम्रपानलाई विद्यालय, कलेज र सार्वजनिक स्थलमा पूर्ण रूपमा निषेध गर्ने , बिक्री गर्ने उमेर २०–२१ वर्षमा राख्ने, मूल्यवृद्धि गर्ने, धुम्रपानरहित ठाउँहरू विस्तार गर्ने र सुर्ती उद्योगलाई बालबालिका र युवाहरूलाई लक्षित गर्नबाट रोक्ने कुराहरुमा ध्यान दिइनुपर्छ । ई–चुरोट केवल वयस्कहरूलाई मात्र धूम्रपानको विकल्पको रूपमा मार्केटिङ गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्