Logo
|
Thursday 28th March 2024
Logo

epaper

तनहुँमा डेँङगुको सङ्क्रमण बढ्यो, अस्पतालमा शय्या अभाव



जनस्वास्थ्य सरोकार, तनहुँ । तनहुँमा डेँङगुको सङ्क्रमण बढ्दै गएको छ । डेँङगुका बिरामीको सङ्ख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ ।

शनिबार मात्रै एघार जनामा डेँङगु पोजेटिभ देखिएको दमौली अस्पतालले जनाएको छ । अन्य दिनको तुलनामा यो बढी हो । हालसम्म एक सयको हाराहारीमा मानिस डेँङ्गु सङ्क्रमणबाट प्रभावित भएका छन् । उन्नाइस बिरामीको रगत प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा डेँङगु पोजेटिभ भेटिएको हो ।

एक बालकसहित दश जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने एकजना आफ्नै घरमा गएको दमौली अस्पतालका सघन उपचार कक्षका अहेब राजेश क्षेत्रीले जानकारी दिनुभयो । डेँङगुका बिरामी भर्ना भएसँगै अस्पतालमा अन्य रोगका बिरामीलाई भर्ना गर्न शय्याको अभाव देखिएको उहाँले बताउनुभयो ।

अस्पतालमा उपचार आएका बिरामीमध्ये केही दिनयता दैनिक पाँच÷सात जनामा डेँङ्गु पोजेटिभ देखिन थालेको बताइएको छ । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सयदेखि एक सय ५० जनासम्म ज्वरोका बिरामी हुने गरेका छन् ।

उच्च ज्वरो आएका, जीउ दुख्ने र बान्ता गर्ने बिरामीको पहिलो चरणको एनएस–१ परीक्षण गर्दा डेँङगु भेटिएको हो । उहाँले भन्नुभयो “आइडिजी र आइजिएम परीक्षणको लागि पोखरा पठाउनुपर्ने हुन्छ ।” उक्त आइडिजी र आइजिएम परीक्षण गर्दा डेँङगुका बिरामीको अवस्था र कति दिनको भयो भन्नेबारे जानकारी पाउन सकिने उहाँले जानकारी दिनुभयो ।

पन्ध्र शय्या क्षमताको अस्पतालमा चालीस शय्यासम्म राखेर सेवा दिँदा पनि शय्याको अभाव हुँदा अन्य प्रकृतिका बिरामीलाई भर्ना गरी राख्न कठिनाइ भएको उहाँले बताउनुभयो । डेँङगुबाट बच्नको लागि टोल–टोलमा गएर अझै मानिसमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको सो अस्पतालले जनाएको छ ।

ज्वरो आएमा जथाभावी एन्टिबायटिक औषधि सेवन नगर्ने, सिटामल प्रयोग गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र प्रशस्त मात्रमा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव सल्लाह दिइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन अभिनन्दन तिवारीले जानकारी दिनुभयो ।

आफ्नो घर वरिपरी सफा राख्ने, लामखुट्टे न्यूनीकरण गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने लगायतका कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्