Logo
|
Friday 2nd June 2023
Logo

epaper

एन्टिबायोटिक औषधी प्रतिरोधक जीवाणु सङ्क्रमणको बिगबिगी



जनस्वास्थ्य सरोकार । भारतको पश्चिमी राज्य महाराष्ट्रमा १ हजार शय्या भएको नाफा नकमाउने चिकित्सालय कस्तुरबा अस्पतालमा डाक्टरहरूले सुपरबग भनिने एन्टिबायोटिक प्रतिरोधी कीटाणुहरूको सङ्क्रमणसँग जुधिरहेका छन्। 

रोगकारक ब्याक्टेरियाहरूले लामो समयको अन्तरालमा परिवर्तन हुँदै तिनीहरूलाई पराजित गर्ने ठानीएका औषधीविरुद्ध प्रतिरोधी क्षमता विकसित गरेपछि त्यस्तो एन्टिबायोटिक औषधी समेत प्रभाकारी नहुने संक्रमणको अवस्था देखा पर्दछ। 

सन् २०१९ मा मात्रै त्यस्तो अवस्थाका कारण संसार भरी १२ लाख सत्तरी हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको एउटा मेडिकल जर्नल द ल्यान्सेटले जनाएको छ।

गम्भीर प्रकृतिका सङ्क्रमणहरूविरुद्ध प्रथम सुरक्षा कवचको रूपमा प्रयोग हुने गरेका एन्टिबायोटिकहरू त्यस्ता धेरैजसो सङ्क्रमणको अवस्थामा प्रभावकारी देखिएनन्। 

खराब अवस्था

डाक्टरहरूले सूक्ष्मजीवाणु प्रतिरोधी अर्थात् एन्टिमाइक्रोबाइअल रेसिस्ट्यान्स भन्ने गरेका अवस्थाबाट नराम्रो मार परेको देशहरूमा भारत पनि पर्दछ। 

जन्मपश्चात् देखिने एन्टिबायोटिक्स प्रतिरोधी विभिन्न सङ्क्रमणका कारण हरेक वर्ष भारतमा झन्डै साठी हजार नवजात शिशुहरूको ज्यान जाने गरेको बताइन्छ।

सरकारले जारी गरेका नयाँ प्रतिवेदनले झन् खराब हुँदै गएको अवस्थाको चित्र प्रस्तुत गरेको छ। 

पाँच मुख्य ब्याक्टेरिअल प्थाथोजेनविरुद्ध कुन एन्टिबायोटिक सबैभन्दा बढी प्रभावकारी हुन्छ भनेर कस्तुरबा अस्पतालमा गरिएको परीक्षणले त्यसका लागि महत्त्वपूर्ण ठानिएका कतिपय मुख्य औषधीहरू प्रभावकारी नभएको देखाएको थियो। 

ती सूक्ष्म जीवाणु, प्याथोजेनमा  संक्रमित खानेकुरा खाएका मानिस र जनावरहरूको आन्द्रामा देखिने  इ. कोलाइ पनि पर्दछन्।

त्यसैगरी फोक्सोमा निमोनिया गराउने, रगतमा, छाला काटिएको ठाउँमा, मस्तिष्कमा मेनिनजाइटस् गराउने लगायतका अन्य ब्याक्टेरियाको सङ्क्रमण विरुद्ध पनि परीक्षण गरिएका थिए। 

एन्टिबायोटिककै प्रभावकारिता घट्दो

त्यसक्रममा डाक्टरहरूले ती ब्याक्टेरियाविरुद्ध पहिले प्रयोग हुँदै आएका प्रमुख एन्टिबायोटिकहरू १५ प्रतिशत मात्रै प्रभावकारी देखिएका थिए।

सबैभन्दा चिन्ताजनक कुरा चाहिँ अस्पतालहरूका सघन उपचार कक्षहरूमा जीवन रक्षा गर्ने उपकरणहरूमा राखिएका बिरामीहरूको फोक्सोमा आक्रमण गर्ने र बहु-औषधी प्रतिरोधक प्याथोजेन देखा पर्नु रहेको छ। 

भारतको काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले जारी गरेको नयाँ प्रतिवेदनले भनेको छ: विभिन्न खाले प्याथोजेनहरूलाई जित्न सक्ने कारबापेनेम्स् भनिने शक्तिशाली वर्गको एन्टिबायोटिकलाई समेत प्रतिरोध गर्ने जीवाणु सङ्क्रमण एक वर्ष भित्रै १० प्रतिशतले बढेको छ। 

उक्त प्रतिवेदनका अनुसार सन् २०२१ मा भारतमा एउटा प्याथोजेनले गराउने ४३ प्रतिशत सङ्क्रमणलाई मात्र पहिलो दर्जाको एन्टिबायोटिक्सले उपचार गर्न सकिएको थियो। 

सन् २०१६ मा त्यो दर ६५ प्रतिशत रहेको आइसिएमआरको प्रतिवेदनमा उल्लेख छ। 

कोलकाता शहरस्थित एएमआरआइ अस्पतालकी क्रिटिकल केअर विशेषज्ञ सास्वती सिन्हा भन्छिन्, “स्थित यतिविघ्न खराब छ की उनको आइसियुमा राखिने १० जना विरामीमध्ये ६ जनामा औषधी प्रतिरोधी सङ्क्रमण देखिन्छ।” 

कस्तुरबा अस्पतालका डाक्टरहरू भन्छन्: निमोनिया र मुत्रनलीमा सङ्क्रमण जस्तामा समेत एन्टिबायोटिक प्रतिरोधी अवस्था गाउँ तथा साना नगरबाट आउने बहिरङ्ग सेवाका बिरामीहरूमा पनि व्यापक रूपमा देखिएको छ।

तीमध्ये धेरैले डाक्टरको पुरानो प्रेस्क्रिप्सन बोकेर नआउने र कुन औषधी खाने गरेको थियो भनेर समेत भन्न नसक्ने हुँदा त्यस्ता बिरामीहरूले विगतमा कस्ता एन्टिबायोटिक सेवन गरेका थिए भनेर थाहा पाउन पनि डाक्टरहरूलाई अप्ठेरो पर्नेगर्छ। 

जथाभाबी प्रयोग

भारतमा थुप्रै डाक्टरहरूले मनलाग्दी ढङ्गले बिरामीलाई एन्टिबायोटिक्स औषधीहरू लेखिदिने गरेको त्यहाँका जनस्वास्थ्य विज्ञहरूको विश्वास छ। 

उदाहरणका लागि एन्टिबायोटिक्सहरूले भाइरसका कारण हुने फ्लु वा रुघाखोकीजस्ता रोग निको पार्न सक्दैनन्। 

भाइरस सङ्क्रमणले हुने डेङ्गी र एक कोषिय परजीवीबाट हुने मलेरिया भएका बिरामीहरूलाई प्रायः एन्टिबायोटिक्स दिने गरिएको पाइएको छ।

त्यसै गरी झाडा पखाला र माथिल्लो श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमणमा पनि थोरै मात्र उपयोगी हुने एन्टिबायोटिक्स दिने क्रम निरन्तर देखिएको छ। 

कोभिड-१९ को भद्रगोलको अवस्थामा पनि बिरामीहरूलाई एन्टिबायोटिक्स दिइएको थियो जसले झन् खराब प्रभाव पारेको थियो। 

औषधी

कस्तुरबा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा एसपी कलान्त्री भन्छन्, “यस्तो अवस्थाका लागि डाक्टरहरूलाई मात्र सम्पूर्ण रूपमा दोषी ठहर्‍याउन मिल्दैन।” 

एन्टिबायोटिक्सबारे अल्पज्ञान

ठूला र भिडभाडपूर्ण अस्पतालहरूमा सबै बिरामीलाई समय दिएर जाँच्न, तिनीहरूको रोगको निदान गर्न, भाइरल वा ब्याक्टेरियाको सङ्क्रमण छुट्याउन र तिनीहरूको उपचारको योजना तय गर्न  डाक्टरहरूसँग समय एकदमै थोरै मात्र हुने बताउँछन् डा कलान्त्री।  

साथै एन्टिबायोटिक्सका बारेमा अल्पज्ञान व्यापक रूपमा विद्यमान रहेका कारण पनि ग्रामीण होस् या सहरका प्रायः बिरामीहरूलाई एन्टिबायोटिक प्रतिरोधक सङ्क्रमणका सम्बन्धमा थाहा पनि छैन। 

शिक्षित र धनी भनिएकाहरूले पनि थोरै बिसन्चो हुनेबित्तिकै एन्टिवायोटिक्स किनेर खाइहाल्ने वा एन्टिबायोटिक्स लेखिदिन डाक्टरलाई दबाब दिने गरेको पाइन्छ। 

भारत

एन्टिबायोटिक्सको मूल्य घट्दै गएको र स्वास्थ्य परीक्षण अनि रोग निदानका लागि गरिने विभिन्न परीक्षणको  खर्च महँगो हुँदै गएको अवस्थामा कतिपय डाक्टरहरूले विभिन्न परीक्षणहरू गराउनुको साटो बिरामीहरूलाई सोझै एन्टिबायोटिक्स लेखिदिने गरेको पनि पाइएको आइसिएमआरकी एकजना वैज्ञानिक डा कामिनी वालिया बताउँछिन्।

विज्ञहरूको विश्वासमा सुपरबग्स भनिने औषधी प्रतिरोधी जीवाणु सङ्क्रमणको बढ्दो जोखिम विरुद्ध लड्न भारतले रोग परीक्षण गर्ने प्रयोगशालाहरूको सङ्ख्या बढाउनुका साथै तिनमा थप लगानी गर्नु पर्दछ।

सङ्क्रामक रोगसम्बन्धी विज्ञता भएका धेरै डाक्टरहरू तयार पार्नुका साथै अस्पतालहरूबाट सर्ने सङ्क्रमण घटाउनु पर्दछ।

र परीक्षणहरूमा आधारित भएर मात्र एन्टिबायोटिक्सको प्रयोग गर्न डाक्टरहरूलाई प्रशिक्षित गर्नुपर्दछ।   बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्